नयाँ दिल्ली : भारतका केन्द्रीय गृहमन्त्री अमित शाहमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। उनले आइतवार साँझ एक ट्विटमार्फत सो जानकारी दिएका हुन्।
उनको स्वास्थ्य अवस्था ठीक भएपनि चिकित्सकको सल्लाहवमोजिम उनलाई गुरुग्रामको मेदान्ता अस्पतालमा भर्ना गरिएको छ। एम्सको एक टोलीले समेत उनको निगरानी गर्ने बताइएको छ। एम्सका निर्देशक डा रणदीप गुलेरियाको नेतृत्वमा चिकित्सकको एक टोली मेदान्दा जानेछन्।
सुरुवाती लक्षण देखिँदा आफूले परीक्षण गराएको र रिपोर्ट पोजिटिभ आएको शाहले बताएका छन्। उनले पछिल्ला कही दिनमा आफ्नो सम्पर्कमा आएका सबैलाई आइसोलेट गरेर परीक्षण गर्न अनुरोध गरेका छन्।
कोरोना के शुरूआती लक्षण दिखने पर मैंने टेस्ट करवाया और रिपोर्ट पॉजिटिव आई है। मेरी तबीयत ठीक है परन्तु डॉक्टर्स की सलाह पर अस्पताल में भर्ती हो रहा हूँ। मेरा अनुरोध है कि आप में से जो भी लोग गत कुछ दिनों में मेरे संपर्क में आयें हैं, कृपया स्वयं को आइसोलेट कर अपनी जाँच करवाएं।
— Amit Shah (@AmitShah) August 2, 2020
शाह एक दिन अघि मात्रै लोकमान्य बाल गंगाधर तिलकको १०० औँ पुण्यतिथिको अवसरमा आयोजित कार्यक्रममा समेत उपस्थित भएका थिए। त्यहाँ उनीसँग मञ्चमा अन्य अतिथि समेत थिए।
शाह भारतमा कोभिड १९ को आउटब्रेक भएदेखि नै प्रत्यक्ष निरीक्षणमा सक्रिय थिए। राजधानी दिल्लीमा उनलै व्यक्तिगत रुपमा निरीक्षण गर्दैै आएका थिए। उनले दिल्लीमा केही कोेभिड केयर सेन्टर तथा अस्पताल सञ्चालनमा ल्याएका थिए।
उनले गृह तथा स्वास्थ्य मन्त्रालयका अधिकारीहरुसँग प्रत्यक्ष सम्पर्कमा रहेर ताजा अपडेटको बारेमा जानकारी लिने गरेका थिए। लकडाउन पछि भारतमा निर्देशिका तयार गर्ने कार्यमा पनि उनले महत्वपूर्ण भूमिका खेलेका थिए।
