PahiloPost

Jun 23, 2025 | ९ असार २०८२

प्रदेश नम्बर ५ को प्रदेश सभामा सत्तापक्ष र विपक्षी सांसदबीच भनाभन



रासस

प्रदेश नम्बर ५ को प्रदेश सभामा सत्तापक्ष र विपक्षी सांसदबीच भनाभन
फोटो : रासस।

खस्यौली : प्रदेश नम्बर ५ को प्रदेश सभामा आज सत्तापक्ष नेकपा र विपक्षी दल नेपाली कांग्रेसका सांसदबीच भनाभन भएको छ। रुपन्देहीको शुद्धोधन गाँउपालिका-५ स्थित दर्वाह पार्क (उद्यान) मा भएको तोडफोडको विषयले प्रदेश सभामा प्रवेश पाएपछि दुई पक्षबीच भनाभन भएको हो।

प्रदेश सभाको विशेष समयमा बोल्दै विपक्षी दल नेपाली कांग्रेसकी प्रदेश सभाका सदस्य पुष्पा थरुनीले धर्म, संस्कृतिको संरक्षणका लागि जनताको अधिकार कुल्चन खाजेको जिकिर गर्दै पवित्र धार्मिकस्थल मानिएको अन्त्येष्टिस्थललाई शुद्धोधन गाँउपालिकाले जर्बजस्ती हटाउन खोजेको आरोप लगाए।

प्रदेश सभाका सदस्य तुलसी चौधरीले राजनीतिक व्यक्तिबाहेक शिक्षक कृष्णप्रसाद चौधरीसमेत तोडफोडमा संलग्न रहेकाले विभागीय कारबाहीको माग गर्दै सार्वजनिक सम्पत्तिको तोडफोड हुँदा पनि प्रहरी मुकदर्शक बनेको उल्लेख गरिन्। उनले घटना हुन लागेको विषयमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई जानकारी दिँदादिँदै पनि नियोजित रुपमा पार्कको तोडफोड भएकाले प्रजिअमाथि पनि प्रश्न उठाउन आवश्यक भएको बताइन्।

चौधरीले विकास निर्माणको काम देख्न नसकेकाले नेपाली कांग्रेसले बाँदरे प्रवृत्ति देखाएको आरोप लगाउँदै पालिकाको गुरुयोजनानुसार पार्क निर्माण भएको बताइन्। सो पार्क प्रदेश सरकारको सहयोगमा निर्माण हुन लागेको थियो। पार्कको लागत एक करोड ३० लाख रुपैयाँ रहेको छ।

प्रदेश सभाका सदस्य तुलाराम घर्तीमगरले सिद्धार्थ राजमार्गको झुम्सा क्षेत्र भासिएको अवस्थामा रहेको उल्लेख गर्दै राजमार्गका कारण बुटवलसँग गुल्मी, अर्घाखाँची र पाल्पाको सम्पर्क विच्छेद हुने सम्भावना देखिएको बताए। उनले पाल्पाको तिनाउ गाउँपालिकामा रहेको खानी क्षेत्रमा जाने पहुँच मार्ग लापरबाही ढङ्गले निर्माण भएको बताउँदै सडकको व्यवस्थापनमा प्रदेश सरकारको ध्यानाकर्षण गराए।

प्रदेश सभाका सदस्य तिलकराम शर्माले विसं २०७१ सालदेखिका बाढीपीडितले राहत नपाएको उल्लेख गर्दै बाढी र डुबानको समस्यालाई सरकारले प्राथमिकता दिन आवश्यक भएको बताए। प्रदेश सभाका सदस्य कृष्ण न्यौपानेले किसानका लागि रासायनिक मलको स्थायी समाधान खोज्न आग्रह गर्दै मलका कारण धानको उत्पादनमा ह्रास आउने सम्भावना भएको बताए।

सदस्य रुन्धावती शर्माले मलको अभाव हटाउन आग्रह गर्दै हिन्दूको पर्व रक्षाबन्धनमा सार्वजनिक बिदाको माग गरे। सदस्य दिपेन्द्रकुमार अधिकारीले सुस्ता गाउँपालिका र प्रतापपुर गाउँपालिकामा वर्षाले केराखेती र उखुबाली नष्ट गरेको जानकारी दिँदै त्यस क्षेत्रमा एक हजार ५०० बिगाहामा लगाइएको धानबाली नष्ट भएको बताए।

सदस्य इन्द्र खरेलले मलको अभाव अन्त्य हुन्छ वा हुँदैन सरकारको स्पष्ट जवाफ आउनुपर्ने बताए। प्रदेश सभामा सदस्यहरु युवराज खनाल, रमा अर्याल, सन्तोष पाण्डेलगायतले प्रदेश सरकारलाई विभिन्न सुझाव दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell