PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

विराटनगरमा कोरोना संक्रमितको संख्या १२० पुग्यो, लकडाउन अवधिमा परीक्षणको दायरा बढाउँदै महानगरपालिका



फूलमाया पुरी

विराटनगरमा कोरोना संक्रमितको संख्या १२० पुग्यो, लकडाउन अवधिमा परीक्षणको दायरा बढाउँदै महानगरपालिका

विराटनगर : विराटनगर महानगरपालिकामा आइतवार १२ जना कोरोना संक्रमित थपिए।

महानगरपालिका जनस्वास्थ्य महाशाखाका प्रमुख रमेश कार्कीका अनुसार ३ जना कोशी अस्पतालका स्टाफ नर्स, २ जना प्रहरी तालिम केन्द्र विराटनगराका प्रहरीमा संक्रमण देखिएको छ।

त्यस्तै, नापी शाखाका २ जना कर्मचारी र अन्य सर्वसाधारण गरी जम्मा १२ जनामा संक्रमण पुष्टि भएको छ।

‘संक्रमण पुष्टि भएका सर्वसाधारणको ट्रेसिङ गरिरहेका छौं,’ कार्कीले भने।

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर मातहतको प्रहरी तालिम केन्द्रका २ जना प्रहरीमा कोरोना पोजिटिभ देखिएको एसपी दिपक पोखरेलले बताए। एसपी पोखरेलका अनुसार शुक्रवार उनीहरुको स्वाब संकलन गरिएको थियो।

त्यसैगरी, स्वाब क्यूमा भएकै कारण शनिवार परीक्षण नगरिएको विराटनगर महानगरपालिकामा आज १३७ जनाको स्वाब संकलन गरिएको छ भने भोलिदेखि परीक्षणको दायरा बढाई २०० जनाभन्दा बढीको स्वाब संकलन गरिने छ।

‘हामी १० जनाका दरले र्‍यान्डम्ली स्वाब संकलन गर्नेछौं’, उनले भने, ‘जस्तै तरकारी बजार, गुद्रीका कपडा पसलका व्यवसायी, पैदलयात्री लगायतको परीक्षण गर्नेछौं।’

समुदायस्तरमा कोरोना संक्रमण फैलिएका कारण विराटनगर महानगरपालिका १४ दिनका लागि लकडाउन गरिएको छ।

लकडाउनकै समयमा परीक्षणको दायरा बढाई कोरोना संक्रमणको जोखिम नियन्त्रण गर्न सकिने कार्कीको भनाइ छ।

१४ दिनको लकडाउनमा जुन वडामा बढी संक्रमित संख्या छ त्यस वडामा अझ उच्च सतर्कताका साथ परीक्षण दायरा बडाइने पनि उनले बताए।

‘यदि १४ दिन मात्र व्यक्ति आफै घरमा सुरक्षित बसेमा पनि उसले कोरोना त्रासलाई जित्न सक्छ’, कार्कीले भने, ‘जसले हामीलाई संक्रमण नियन्त्रण गर्न थप सहयोग पुग्नेछ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell