PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

स्वास्थ्य मन्त्रीको 'मोतियाबिन्दु' हटेको दिन !



सहयोग रञ्जित

स्वास्थ्य मन्त्रीको 'मोतियाबिन्दु' हटेको दिन !

काठमाडौँ: लकडाउन अन्त्य भएसँगै काठमाडौँ उपत्यका अहिले पहिले जस्तै व्यस्त छ। सडकमा सवारी साधनको जाम, बजारमा भीड, होटल रेष्टुराँमा भीड, सार्वजनिक यातायातमा चढ्नेको भीड, सबै लकडाउन अघि जस्तै भइसकेको छ।

सीमित क्षेत्र मात्र अझै बन्द छन्।

सरकारले लकडाउन अन्त्य गरेसँगै कोरोना संक्रमितको संख्या ह्वात्तै वृद्धि भएको छ। अघिल्लो साताभन्दा कोरोना संक्रमण ५० प्रतिशतले बढेको छ देशभर। त्यस्तै पछिल्लो सातामात्र नेपालमा १२ जनाको मृत्यु भइसकेको छ कोभिडकै कारण।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार उपत्यकामा ६१४ जनामा कोरोना संक्रमण देखिएको छ। हालसम्म काठमाडौँमा ४५०, ललितपुरमा १०५ र भक्तपुरमा ५९ जनामा संक्रमण पुष्टि भइसकेको छ। आइतबारमात्रै ३१ जना नयाँ संक्रमितहरु थपिए। अधिकांश नयाँ संक्रमितमा कोभिड १९ को लक्षण देखिएको छ ।

एकातिर लक्षणसहितका संक्रमित भेटिएका छन् अर्कोतिर संक्रमणलाई भयावह हुनबाट रोक्न भने कुनै पूर्व तयारी गरिएको देखिँदैन।

केही हप्ताअघि मात्रै काठमाडौँको महाबौद्धमा रहेको प्रधान आर्केड अगाडि पसल सञ्चालन गर्दै आइरहेकाहरुमा कोरोना संक्रमण देखियो। भारतबाट फर्किएका उनीहरुमा कोरोना संक्रमण देखिएपछि केहीदिन महाबौद्ध क्षेत्र बन्द गरियो। तर फेरि अहिले महाबौद्धमा बजार निर्वाध रुपमा खुल्न थालेका छन्। संक्रमितको पसल बन्द छ। बाँकी सबै खुल्ला।

न भौतिक दूरी। न मास्क। बाटोमा ठेलमठेल गर्नुपर्ने अवस्था छ।

वडाले सूचना जारी गरेर संक्रमण फेला परेको बारेमा जानकारी दिएका कारण महाबौद्धमा संक्रमितको पहिचान भयो। व्यवसायीहरुको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरियो। तर काठमाडौँमा दैनिक रुपमा भेटिएका संक्रमितको पूर्ण विवरण मन्त्रालयले दिएको छैन।

सरकारले भारतसँगको सीमा अझै बन्द गरेको भने पनि त्यो व्यवहारमा लागू भएको छैन। महाबौद्धमा भेटिएका संक्रमित लकडाउनको बेलामा भारत घर पुगेका थिए। सरकारले लकडाउन खुकुलो गरेसँगै उनी करिब एक महिना अघिमात्रै काठमाडौं फर्किएका थिए। एक जिल्लाबाट अर्को जिल्ला आवतजावत गर्न प्रतिबन्ध लगाएको भनेको सरकारको दाबी झुटो ठहरिएको छ।

काठमाडौँमा मात्र होइन, लकडाउन अन्त्यसँगै देशभर संक्रमणको अवस्था बढ्न सक्ने भन्दै जनस्वास्थ्यविज्ञहरुले सतर्क गराइरहेका छन्। अहिले काठमाडौँसँगै अन्य जिल्लाहरुमा लक्षणसहितका संक्रमितहरुको पहिचान भएकाले लकडाउन अन्त्य भए पनि थप सतर्कता अपनाउनुपर्ने बेला आएको उनीहरु बताइरहेका छन्। 

‘कोरोना फ्रि’ र ‘कोभिड जिरो डेथ’ राष्ट्र बनाउने सपना देखेको सरकारको अहिले आफ्नै आन्तिरक राजनीतिमा अलझेको छ। बालुवाटार सत्ताको बार्गेनिङमा व्यस्त हुँदा सडकमा कोरोनाको अवस्था झनै भयावह हुने देखिएको छ।

यता,  स्वास्थ्यमन्त्री भानुभक्त ढकाल अहिलेसम्म ढुक्कै थिए। सरकारले कोरोना नियन्त्रण गर्न सफल भएको उनको दाबी थियो।  कोरोना नफैलिँदा नै उनले भारत र चीनले राम्रो तयारी गरेकोले नेपालमा कोरोनाको जोखिम कम रहेको दाबी गरेका थिए। अन्‍य देशले जसोजसो तयारी गर्छन् नेपालले त्यही सिको गर्नु आवश्यक नभएको उनी तर्क गर्थे।

कोभिड १९ को संक्रमणबाट ५७ जनाको मृत्यु र २० हजारभन्दा बढीमा संक्रमण र लकडाउन अन्त्य पछि सरकारले संक्रमण रोक्न कुनै कदम नचालेको नदेखेका उनले ६ दिनअघि सरकारले गरेको काम नदेख्ने नेपालीमा मोतियाबिन्दु लागेको हुनसक्ने बताएका थिए।

पढ्नुस : कोरोना रोकथाममा सरकारले गरेको काम नदेख्ने नेपालीलाई मोतियाविन्दु लागेको हो कि? : स्वास्थ्यमन्त्री ढकाल

कोरोना नियन्त्रण गर्न असफल भएको आरोप लाग्दै गर्दा उनले उल्टै नेपाली जनतामाथि नै आरोप लगाइदिए। कोरोना नियन्त्रण गर्न शक्ति सम्पन्न राष्ट्रहरुले भन्दा नेपाल सरकारले प्रभावकारी काम गर्न सकेको तर नेपालीहरुले नै नदेखेको उनको दाबी थियो।   ‘शक्ति सम्पन्न राष्ट्रहरुको स्वास्थ्य नीतिप्रति त्यहाँका जनता र राष्ट्रप्रतिको जवाफदेहीता र सीमित साधन स्रोतबाट हाम्रो जस्तो मुलुकमा हामीले निर्वाह गरेको यो भूमिका विदेशमा बस्ने नेपालीले र स्वदेशमा बसेका नेपालीहरुले यसलाई देख्न सक्दैनन्। मलाई लाग्छ यो सकारात्मक पक्ष नदेख्नुमा हाम्रो संस्कारमा कतै मोतियाबिन्दु लागेको छ कि जस्तो अनुभूति मैले गर्ने गरेको छु।’ उनले भनेका थिए।

छ दिन बित्यो। छ दिनयता देशभर करिब १५ सय कोरोना संक्रमित थपिए। १० जनाभन्दा बढीको मृत्यु भयो। न क्वारेन्टाइन छ। न आइसोलेसन वार्ड। न सीमामा सतर्कता छ न बजारको भीड नियन्त्रणमै। बढेको छ त मात्रै संक्रमित।

त्यसैले मन्त्री ढकालको बोली फेरिएको छ। ६ दिनअघि प्रश्न गरिरहेका नेपालीहरुमा मोतियाबिन्दु देखेका मन्त्री ढकालले अहिले भने काठमाडौँमा भयावह अवस्था आउन सक्ने बताएका छन्। लकडाउन अन्त्य भएपछि मानिसहरुको आवतजावत बढेको र संक्रमण देखिएका ठाउँबाट समेत मानिसहरु काठमाडौँमा आउँदा जोखिम बढेको उनको भनाइ थियो।

काठमाडौँमा समुदायस्तरमा नै कोरोनाको कहर देखिँदै गर्दा मन्त्री ढकालले बोली फेरेका हुन्।

पढ्नुस्ः कोरोना केही होइन रहेछ जस्तो व्यवहार गरे जुनसुकै बेला विस्फोटको स्थिति आउन सक्छ : स्वास्थ्यमन्त्री ढकाल

 संक्रमणको अवस्थाको वृद्धिदर अझै बढ्दै गए काठमाडौँ उपत्यकामा कुनै पनि बेला भयावह स्थिति आउन सक्ने उनको भनाइ थियो।

दबाबपछि सरकारले आरडीटी परीक्षणलाई रोक्दै पीसीआर परीक्षणको दायरा बढाउने निर्णय गरेको छ। तर निजी क्षेत्रलाई समेत परीक्षण गर्न दिने स्वास्थ्य मन्त्रालयको निर्णयले भार भने जनतामा थप्ने निश्नित छ।

भदौ १ बाट लामो दूरीका सवारीसाधन चल्न दिने सरकारले निर्णय गरेको छ। साथै विद्यालय र विश्वविद्यालयहरुमा परीक्षा र भर्ना खुलाउने निर्णय समेत सरकारले गरेको छ। तर संक्रमितको संख्या बढ्दै गइरहेको अवस्थामा कुनै पनि पूर्व तयारी र सतर्कता बिना मानिसहरुको मुभमेन्ट बढाउने सरकारको यो योजनाले भयावह अवस्था सिर्जना हुन सक्ने भन्दै विरोध भइरहेको छ।

मन्त्री ढकालले बाहिरी जिल्लाबाट उपत्यका भित्रिने व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने, जोरबिजोर प्रणालीबाट सवारीसाधन सञ्चालन गर्न दिने र पीसीआर टेस्टको दायरालाई बढाएर जानेलगायतका विषयलाई अघि बढाइने बताएका छन्। तर, लकडाउन खुकुलो भएसँगै उपत्यका भित्रिएका केही व्यक्तिलाई बाहेक सरकारले पहिचान गरेर क्वारेन्टाइनमा राख्न सकेको छैन। सवारी साधनमा सुरक्षा सतर्कता अपनाउन भनिए पनि कुनै प्रकारको सतर्कता अपनाइएको छैन।  एक जिल्लाबाट अर्को जिल्लामा जान रोक लगाइएको बेला भारतबाट नै मानिसहरु काठमाडौँसम्म आएको सरकारले अझै देखेको छैन।

त्यसैले काठमाडौँ कोरोनाको नयाँ हटस्पट बन्ने दिशातर्फ उन्मुख भइरहेको विश्लेषण समेत गरिएको छ। हाल देशभर फैलिरहेको कोरोनाको कहरलाई नियन्त्रण गर्न फेरि लकडाउन गर्न समेत सरकारलाई दबाब छ। तर, सरकारले अझै कोरोना कहरलाई हल्का लिइरहेको छ। सरकारको नेतृत्व गरिरहेका केपी शर्मा ओलीले नै कोरोनालाई हाच्छिउँ साच्छिउँ गर्दा भाग्छ भनेपछि सरकारले कोभिड १९ लाई कति गम्भीरतापूर्वक लिएको भन्ने स्पष्ट भइसकेको थियो। अझ लकडाउन अन्त्यपछि त कोरोना नियन्त्रणमा सरकारको उपस्थिति लगभग न्यून नै देखिएको छ। त्यसैले त जनता आफैँ सतर्क भए हिँड्नुपर्ने बेला आएको चिकित्सिकहरुले बताइरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell