काठमाडौः प्रहरी हुँ भन्दै ठगी गर्ने दुई जना नक्कली प्रहरी पक्राउ गरेका छन्। जिल्ला प्रहरी कार्यालय दाङको टोलीले शनिवार दुई जनालाई विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो।
सल्यान भलचौर निवासी ३० वर्षीय गोपाल मल्ल र घोराही उपमहानगरपालिका–९ कर्मटुवा बस्ने ३० वर्षीय सुरोज नेपालीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी सुमित खड्काले जानकारी दिए।
नेपालीले आफू जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक ‘योगेन्द्र हमाल हुँ’ भन्दै घोराही १५ ट्राफिक चोकमा रहेको लुम्बिनी होटल र मालिका भ्याली भ्यू होटलमा गई होटल सञ्चालकलाई धम्काउन तथा मानिस भत्ता दिनुपर्ने भन्दै अभद्र व्यवहार गरेको प्रहरीले जानकारी दिएको छ।
यसैगरी मल्लले जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक हुँ भनी ट्राफिक चोकस्थित पाहुना गेष्ट हाउसमा निःशुल्क खाना खाने गरेका थिए। उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ को कसुरमा मुद्दा दर्ता गरिएको छ । उनीहरुलाई जिल्ला प्रशासन कार्यालयबाट आइतवार १० दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
त्यस्तै आफू सार्वजनिक पदमा बसेको वा प्रहरी हुँ भन्दै कसैले पदको दुरुपयोग गरिरहेको भए तत्काल खबर गर्न प्रहरीले अनुरोध गरेको छ।
