PahiloPost

Apr 17, 2024 | ५ बैशाख २०८१

'एडभेन्चर' रेसको एक दिन, अल्ट्रा रेसका धावक सँगसँगै दौडँदा…

'एडभेन्चर' रेसको एक दिन, अल्ट्रा रेसका धावक सँगसँगै दौडँदा…

मुकुन्द घिमिरे/पहिलोपोस्ट


अल्ट्रा रेस। ट्रेल रेस। अर्थात एउटा एडभेन्चरको खेल। बाटो उकालो, ओरालो। जति जोखिम उति मज्जा पनि। लकडाउन खुले यता अल्ट्रा रेसका लागि खेलाडीहरुले अभ्यास सुरु गरिसकेका छन्। हुन पनि भीड भन्दा टाढा हुने यो दौडमा कोरोना महामारीले खास असर पार्लाजस्तो पनि देखिँदैन।

स्वयम्भु वरपरका अल्ट्रा रेसका खेलाडीहरु यसैले पनि अभ्यास सुरु गरिसकेका छन्। यो विधाका खेलाडीहरुको एउटा विशेषता के छ भने विदेशमा उनीहरु जति चर्चित छन् नेपालमा त्यो हिसाबले छायाँमा देखिन्छन्।

खैर उनीहरुको रुट नै भीरको बाटो। अफ्ठ्यारो बाटो। बुधवार लागियो ट्रेलको रुट हेर्न। स्वयम्भुको मुल गेटबाट अपोजिट बाटो हुँदै उकालोमा दौड सुरु हुन्छ। भीम गुरुङ, रसिला तामाङ, दामोदर बुढा मगर, होमी बुढा मगर, जीवन लामा, रामेश प्रजापतिलगायतका खेलाडीहरु दौडन थाल्छन्। मुल बाटो छाडेर उनीहरु अप्ठ्यारो बाटो समात्छन्।

बिहान ६ बजे। घाँसका शीतले घुँडासम्म भिज्छ। खेलाडीहरु दौडँदै डाँडाको टुप्पा पुग्छन्। पहेँलो गुम्बामा। अहो! काठमाडौं कति राम्रो देखिने। खेलाडीको जिउ तात्दै थियो होला सायद, तर म भने थुचुक्क बस्ने अवस्थामा पुगिसकेको थिएँ। सहकर्मी प्रवीण र अमितको हालत उस्तै देखिन्थ्यो।

'कुनैकुनै रेसमा त डोरीमा झुन्डिएर जाने पनि हुन्छ। कस्तोकस्तो त बाटो हिड्नुपर्छ,' धावक दामोदर बुढामगर हाँस्दै भन्दै थिए।

त्यहाँ केहीबेर टहलिएपछि ओरालो रुटमा फेरिअघि बढ्यौं। खेलाडीहरुले फेरि लय समात्न थाले दौडको। सल्लाघारीको ओरालो बाटो एकदमै चिप्लो छ। सल्लाको सुइरे पात, चिप्लो खालको बाटो।

तर, पनि खेलाडीहरु फुत्तफुत्त दौडिरहेका थिए। बटुवा बिरलै भेटिए। तल आइपुग्दा खेलाडीहरु इचंगु नारायणको फेदीमा हुन्छन्। अनि फेरि चढ्नुपर्ने छ उकालो। आधेश्वर नजिकैबाट।

ठाडो उकालो बाटो छ त्यहाँ। केहीबेर तेर्सोतेर्सै खालको बाटोमा दौडिएपछि अलि माथिसम्म राम्रै सिँडी पनि छ त्यसपछि फेरि सुरु हुन्छ उही चिप्लो उकालो।

बाटोमा कुकुरको झम्टाई त खेलाडीहरुलाई सामान्य जस्तै नै भइसकेको रहेछ। यो त सँधै कुद्ने रुट भएकाले सामान्य नै हुने भयो। त्यहाँको उकालो छिचोल्दा माथि ह्वाइट गुम्बा छेउको पिच बाटो पुगियो।

त्यहाँको बाटोमा त साइकल नै साइकल। 'स्वाँ स्वाँ' गर्दै उकालोमा बाटोभर साइकल कुदाइरहेका मानिसहरु देखिन्थे। त्यहाँबाट केहीबेर हिँडेपछि रातो गुम्बा हुँदै सेतो गुम्बा आइपुग्छ। त्यहाँबाट अलि अगाडि पुगेपछि डाँडामा खेलाडीहरु व्यायाम गर्न थाल्छन्। त्यहाँबाट इचंगु नारायण, सिमल्सी र पहेँलो गुम्बा हुँदै स्वयम्भु आइपुग्दा उनीहरुको रुट पुरा हुन्छ र एक दिनको अभ्यास पनि।

मीठा कुरा

खुला ठाउँमा यसरी दौडने खेलाडीलाई लकडाउनमा कोठामा खुम्चिँदा कठिन भएको रहेछ।

'लकडाउनमा ट्रेनिङ गर्ने अवस्था पनि मिलेन। कहिलेकाहीँ सुरक्षित रहेर एकदिन न एकदिन निस्कियो। त्यो पनि एकमहिना पछि,' भीम गुरुङ भन्छन्, 'एकदमै निस्सासिएको जस्तो अनुभव हुने। के नभए नभए जस्तो हुँदो रहेछ।'

सुरुमा सामान्य दौडबाटै आफ्नो करियर सुरु गरेका उनी पछि अल्ट्रा दौडमा लागेका रहेछन्। र, सफलता उत्तिकै पाएका।

खेलाडीहरु अफ्ठ्यरोमै इन्जोए गरिरहेका देखिन्थे। केही महिना चीनमा भएको रेसमा प्रथम भएर फर्किएकी रसिला तामाङ अफ्ठ्यारो रेसको सन्दर्भमा जिओजी माउन्टेन क्रसिङ कम्पिटिनलाई सम्झन्छिन्।

'त्यसमा त एउटा पहाडको माथि जानुपर्ने हुन्थ्यो। बाटो थिएन। एकदमै ढुंगाहरुमात्र भएको बाटो थियो,' उनी सम्झन्छिन्, 'बाटो अझ खोज्नुपर्ने त्यसमा पनि माथि अर्को मान्छे दौडँदा ढुंगाहरु झर्थ्यो।'

त्यसबाहेक पनि त्यस्तै एभरेस्टमा हुने दौडमा हाइ अल्टिट्युड र हिँउ जमेको ठाउँमा दौडन रमाइलो हुने भए पनि त्यति नै जोखिमपूर्ण भएको उनले महसुस गरेकी छिन्। अघिल्लो एभरेस्ट म्याराथन जितेकी तामाङ यही जोखिमसँग कबड्डी खेल्न रुचाउँछिन्।

तर विकट ठाउँमा लामो रेस सहज भने हुँदैन। वैदेशिक रोजगारबाट फर्किएर दौडमा लागेका नुवाकोटका धावक जीवन लामा बाटो झुक्किने समस्याहरु हुने गरेको पनि बताउँछन्।

'हरेक बाटोमा दिशा देखाउन रिबनहरु हुन्छ। कहिलेकाहीँ चाहीँ बच्चाहरुले रिबन निकालिदिन्छ। अनि रिबन नदेखेपछि चाहीँ बाटो बिर्सने हुन्छ,' जीवन भन्छन्,' गाउँतिर चाहिँ बच्चाहरुले रिबन एकदमै मनपराउँछ। पिंक कलरको राम्रो रिबन हुन्छ। बच्चाहरुले चुल्ठोमा बाँधेर हिँडिदिन्छ।'

अझ कहिलेकाही त एकठाउँको रिबन अर्को ठाउँमा लगेर राखिदिँदा रुट नै अर्कैतिर देखिने भएकाले खेलाडीहरुले अल्मलिने गरेको उनी बताउँछन्।

यद्यपि रेसलाई खेलाडीहरुले प्यासनमा रुपमा लिएको देखिन्छ। ४० वर्ष नाघेका दामोदर बुढामगर अझै दौडन छाडेका छैनन्। भेट्रान दौडमा दामोदरको नामा चीरपरिचित हो। उनी आफूमात्र दौडिएका छैनन्। छोरीहरुलाई पनि सँगै दौडाइरहेका छन्।

अहिले अल्ट्रारेसको प्रतियोगिता धेरै हुने समय हो। तर कोरोना महामारीका कारण धेरै प्रतियोगिताहरु रोकिएका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell