PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

बालुवाटार बैठक : सचिवालय बैठक बोलाउने पक्षमा ओली, प्रचण्डको अडान अर्कै



कुञ्जरमणि भट्टराई

बालुवाटार बैठक : सचिवालय बैठक बोलाउने पक्षमा ओली, प्रचण्डको अडान अर्कै

काठमाडौं :  विवाद समाधानका लागि वार्तामा जुटेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज पनि कुनै निश्कर्ष निसक्न सकेन। सोमवार बिहान बालुवाटारमा भएको दुई घण्टा लामो छलफलमा प्रधानमन्त्रीसमेत रहेका ओली र प्रचण्ड आ-आफ्नै अडानमा कायम रहे।

आजको छलफलमा आइतवार साक्षी बसेका वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ पनि सहभागी थिए।

आजको छलफलमा समस्या समाधानका लागि सचिवालय बैठक राख्ने प्रस्ताव ओलीले गरेका थिए भने प्रचण्ड स्थायी कमिटी बैठकलाई अघि बढाउनुपर्ने अडानमा रहेको ‍एक नेताले जानकारी दिए।

'प्रधानमन्त्री सचिवालय बैठक राखेर समस्या समाधान गर्नुपर्ने पक्षमा हुनुहुन्छ। उहाँले साउन ३ गतेको सचिवालय बैठकमा भएको प्रस्तावअनुसार अघि बढ्नुपर्ने प्रस्ताव राख्नुभएको छ,' ती नेता भन्छन्, 'उता, अध्यक्ष प्रचण्डले स्थायी कमिटी बैठक सुचारु राख्नुपर्ने बताउनुभयो।'  

दुबै नेता अडानबाट पछि नहटेपछि मंगलबार साँझ ५ बजे फेरि छलफल गर्ने गरी नेताहरु उठेका हुन्।

दुई अध्यक्षबीचको गत साउन १३ गते यताको संवादहीनता आइतवार तोडिएको थियो। आइतवार झण्डै तीन घण्टा लामो छलफलमा चारै नेता सहभागी थिए।  

गत साउन १३ गतेको स्थायी कमिटी बैठक ओलीले स्थगित गरेपछि प्रचण्ड एक्लैको अध्यक्षतामा बैठक बसेको थियो। ओली पक्षले बैठक नभएको भन्दै गुट भेला भएको बताएको थियो।

आजको छलफलमा पनि प्रचण्डले १३ गतेको भेलालाई बैठक भनेको ती नेताको भनाइ छ। विवादका कारण असार १० गतेदेखि सुरु भएको स्थायी कमिटी बैठक टुंगोमा पुग्न सकेको छैन। छलफलका लागि तय भएको सीमा समस्याबाहेक अन्य विषयमा छलफल हुन सकेको छैन।

बैठकमा अध्यक्ष प्रचण्डसहितका नेताहरुले ओलीको राजीनामा माग गरेका थिए। ओली पद नछोड्ने अडानमा कायम रहेको नेताहरु बताउछन्। नेकपाको रडाको जहाँको तहीँ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell