काठमाडौं: राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य–सचिव रमेशकुमार सिलवालले आफूमाथिको विश्वास टुट्न नदिने दाबी गरेका छन्। नेपाल भलिबल संघले आयोजना गरेका कार्यक्रममा सिलवालले जुन विश्वासका साथ आफूलाई सदस्य–सचिवको जिम्मेवारी दिइएको छ त्यो विश्वासलाई कहिले टुट्न नदिने बताएका हुन्।
राखेप सदस्यसचिवमा नियुक्त भएसँगै उनको स्वागत तथा बधाइ कार्यक्रममा बोल्दै सदस्य–सचिव सिलवालले आफू इमान्दार भएर अघि बढ्ने दाबी गरे।
‘खेलकुदको विकासका लागि जुन विश्वासका साथ मलाई नियुक्ति गरिएको छ त्यसमा इमानदार भएर अगाडि बढ्ने छु,’ उनले भने, ‘मलाई पुनः जिम्मेवारी दिएकोमा नेपाल सरकार, खेलकुद मन्त्रालय र सदस्य–सचिव सिफारिस समितिलाई धन्वाद दिन चाहन्छु। उहाँहरुको विश्वासलाई कहिले टुट्न दिने छैन।’
सदस्य–सचिव सिलवालले राष्ट्रिय खेल भलिबलको एउटा छुट्टै कभर्डहल पनि नहुनु दुःखको कुरा भएको बताउदै आफ्नोतर्फबाट त्यसका लागि पहल सुरु भइसकेको बताए। उनले भलिबल संघलाई पनि कभर्डहल निर्माणका लागि गम्भीर भएर अगाडि बढ्न सुझाउदै अबको चार वर्षको अवधिमा खेलकुदलाई सम्मान योग्य क्षेत्र बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए। भलिवलको कभर्डहलका लागि यसपटक बजेट समेत विनियोजन भइसकेको छ।
कार्यक्रममा सदस्य–सचिव सिलवालसहित राखेपका नवनियुक्त सदस्यद्वय रिमबहादुर रानाभाट र इन्दिरा निरौलालाई पनि नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा, महासचिव जितेन्द्र चन्दलगायतका पदाधिकारीले बधाइ दिदै कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिएका थिए।
