कोभिड-१९ को लागि अक्सफोर्ड यूनिभर्सिटीले बनाएको भ्याक्सिनको दोस्रो र तेस्रो ‘ह्यूमन क्लीनिकल ट्रायल’ भारतमा हुने भएको छ। जसका लागि ड्रग्स कन्ट्रोलर जनरल अफ इन्डिया (डीसीजीआई) ले अनुमति दिएको हो।
समाचार एजेन्सी एएनआईका अनुसार भ्याक्सिन र ट्रायलको तथ्याङ्कको गहन मूल्याङ्कन पछि डीसीजीआईले सब्जेक्ट एक्सपर्ट कमेटीको सिफारिसमा ट्रायल अनुमति दिएको हो।
बीबीसीका अनुसार उक्त ट्रायल सीरम इन्स्टिच्युट अफ इन्डियाले गर्नेछ।
संक्रमितलाई ४ साताभित्र दुई पटक भ्याक्सिन दिइन्छ। पहिलो डोज दिएको २८ दिन पछि दोस्रो डोज दिइने जनाइएको छ। त्यस पछि बिरामीको सुरक्षा र प्रतिरोधक क्षमताको मूल्याङ्कन हुनेछ।
सीरम इन्स्टिच्युट अफ इन्डियाले भारतमा अक्सफोर्डमार्फत् कोरोनाको भ्याक्सिनःबनाउनका लागि एस्ट्राजेनेकासँग सहकार्य गरेको थियो। भ्याक्सिनलाई ‘कोविशिल्ड’ नाम दिइएको छ।
