काठमाडौं: राष्ट्रिय खेलकुद परिषद्का नवनियुक्त सदस्य सुवास श्रेष्ठले आफू परिषदमा पद ओगट्न र राजनीति गर्न नभइ खेलकुदको विकासमा सहयोग गर्न आएको दाबी गरेका छन्।
आफ्नो सम्मानमा नेपाल ब्याडमिन्टन संघले सोमबार आयोजना गरेको बधाई तथा स्वागत कार्यक्रममा सदस्य श्रेष्ठले उक्त धारणा राखेका हुन्।
श्रेष्ठलाई नेपाल ब्याडमिन्टन संघले राखेपको सदस्यमा मनोनयन गर्न युवा तथा खेलकुद मन्त्रालयमा सिफारिस गरेको थियो। साउन १५ गते खेलकुद मन्त्रालयले श्रेष्ठसहित ६ जनालाई राखेपको सदस्यमा मनोनयन गरेको थियो। श्रेष्ठ नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष हुन्।
श्रेष्ठले चार वर्षे कार्यकालमा खेलकुद र खेलाडीको हितमा उदाहरणीय काम गर्ने बताउँदै नेपाल ब्याडमिन्टन संघले आफूलाई सिफारिस गरेकोमा गर्व महसुस गर्ने वातावरण सिर्जना गर्ने प्रतिबद्धता जनाए।
ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले खेलकुदलाई माया गर्ने उपाध्यक्ष श्रेष्ठ राखेपको बोर्ड सदस्य हुनु संघका लागि गर्वको विषय भएको बताउँदै श्रेष्ठबाट धेरै आशा गरिएको धारणा व्यक्त गरे।
ब्याडमिन्टन खेलाडी श्रेष्ठ विगत २५ वर्षदेखि ब्याडमिन्टनमा संलग्न छन्। श्रेष्ठ ४५ वर्षमाथि उमेरसमूहको डबल्स च्याम्पियन हुन्। उनले पार्टनर भूमिबहादुर गुरुङसँग मिलेर करिब २४ डबल्स उपाधि जितेका छन्। उनले स्विडेन र भारतमा भएको मास्टर्स ब्याडमिन्टन च्याम्पियनसिप पनि खेलेका छन्।
