PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

फेरि लकडाउनको तयारीमा सरकार? प्रधानमन्त्री ओली विज्ञहरुसँग परामर्शमा



प्रकाश भण्डारी

फेरि लकडाउनको तयारीमा सरकार? प्रधानमन्त्री ओली विज्ञहरुसँग परामर्शमा

काठमाडौं: कोभिड १९ का संक्रमित बढ्दै जाँदा सरकारले फेरि लकडाउन गर्न परामर्श अघि बढाएको छ। विज्ञहरुले लकडाउन वा अन्य विकल्प नअपनाए भयावह स्थिति आउने चेतावनी दिइरहेका बेला सरकार लकडाउन गर्ने वा नगर्ने भन्ने परामर्शमा जुटेको हो।

लकडाउनका विषयमा छलफल गर्न प्रधानमन्त्री केपी ओलीले मंगलवार २० जना भन्दा बढी जनस्वास्थ्य विद्लाई सरकारी निवास बालुवाटार बोलाएका छन्। संक्रमितको संख्या बढिरहेकाले थप रणनीति तयार पार्न विज्ञहरुको सल्लाह लिन लागिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। 'संक्रमित बढिरहेका छन्। त्यसैले विज्ञहरुको सल्लाह लिन लाग्नुभएको हो,' उनले भने।

संक्रमण कसरी रोक्ने बारेमा छिट्टै अर्को रणनीति बनाउनेबारे सरकारले तयारी थालेको छ। त्यसका लागि छलफलको सिरिज अन्तर्गत विज्ञहरुसँग छलफल थालिएको थापाले बताए। उनका अनुसार प्रधानमन्त्रीले यसपटक पनि यसअघि गरिएको जस्तै विज्ञहरुसँग छलफल गरेर थप निर्णयमा पुग्नेछन्। यसअघि पनि लकडाउन खुकुलो गर्नुअघि २५ जना विज्ञहरुको सल्लाह प्रधानमन्त्रीले लिएका थिए। विज्ञहरुको सल्लाहपछि लकडाउन खुकुलो पारेको सरकारले फेरि लकडाउने गर्नेबारे छलफल थालेको हो।

पछिल्लो समय प्रदेश २ का वीरगंज, धनुषा लगायत ठाउँमा संक्रमण बढिरहेको छ। काठमाडौं उपत्यकामा पनि बढिरहेको अवस्था छ। ट्राभल हिस्ट्री नभएका ब्यक्तिहरुमा समेत संक्रमण देखिन थालेपछि विज्ञहरुले भयावह रुप लिनसक्ने भन्दै चेतावनी दिएका छन्। 

स्वास्थ्य मन्त्रालयले आइतवार बालबालिका र जेष्ठ नागरिकलाई घरभित्रै बस्न आग्रह गरेको थियो। सरकारले भने हालसम्म कोभिड १९ को संक्रमण समुदायमा फैलिसकेकोबारे औपचारिक जानकारी दिएको छैन। तर तराई लगायतका कतिपय ठाउँमा संक्रमण समुदायमा फैलिएको नफैलिएका भन्नेबारे अध्ययन भइरहेको बताइएको छ।

नेपालमा चैत १० गते लकडाउन गरिएकोमा साउन ७ गते हटाएको थियो। लकडाउन हटाएपछि संक्रमण बढदै गएको छ। सुरुवातमा विदेशबाट आएकामा मात्रै संक्रमण देखिएको भएपनि अहिले सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, पत्रकार लगायतमा संक्रमण देखिन थालेको छ। हाल नेपालमा २० हजार भन्दा बढिमा कोभिड १९ संक्रमण पुष्टि भएको छ भने ५७ जनाभन्दा बढीको निधन भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell