काठमाडौं: मलेसियामा कार्यरत एक जना नेपाली सेक्युरिटी गार्डलाई कुटपिट गरेको भिडियो पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल भयो। भिडियो सार्वजनिक भएपछि क्वालालम्पुरस्थित नेपाली राजदूतावासले चासो दियो।
भिडियोबारे विहीवार जानकारी पाएको दूतावासले सुरक्षा गार्ड सम्बन्धी सेवा उपलब्ध गराउने कम्पनीहरुको छाता संगठन पीआईकेएममार्फत घटनाबारे जानकारी लियो। पीआईकेएमले शुक्रवार प्रहरीमा उजुरी दर्ता गरायो। राजदूतावासले यस सम्बन्धी सूचना उपलब्ध गराउन सबैमा आह्वान गर्यो। घटनाका पीडित र पीडक दुवै जना दूतावासको सम्पर्कमा आए। उनीहरु दुबै जना नेपाली नागरिक नै भएको खुल्यो। अर्थात नेपाली सुरक्षा गार्डलाई कुट्ने व्यक्ति नेपाली नै थिए।
नवलपरासीका ईस्लाम हुसेन एमथ्री मलमा सेक्युरिटी गार्डका रुपमा कार्यरत छन्। ७ जुलाईको विहान उनीमाथि सुरक्षामा खटिएकै बेला कुटपिट भयो।एक व्यक्तिले उनलाई फलामको रडले पिटिरहेको भिडियोमा देख्न सकिन्छ। उनलाई कुट्ने व्यक्ति कपिलबस्तु राम गोपाल मुराउ रहेको दूतावासले विज्ञप्तिमार्फत जनाएको छ। मुराउ सुपर भाइजरको रुपमा कार्यरत थिए।
दूतावासका अनुसार मलेसियाको अध्यागमन कानून अनुसार दुबै जना मलेसियामा अवैधानिक अवस्थामा बसिरहेको पाइएको छ।
अभियुक्त मुराउ सोमवार आफै मलेसियन प्रहरीसमक्ष उपस्थित भएका छन्। घटनाबारे क्वालालम्पुरको वाङ्सामाजुस्थित प्रहरी स्टेशनले थप अनुसन्धान सुरु गरेको दूतावासले जनाएको छ।
