PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

कर्णालीमा ७० प्रतिशत बढी कारोबार भारुमा, बैंकले सटही नगर्दा व्यवसायी र सर्वसाधारणलाई सास्ती



पी बी खड्का

कर्णालीमा ७० प्रतिशत बढी कारोबार भारुमा, बैंकले सटही नगर्दा व्यवसायी र सर्वसाधारणलाई सास्ती

सुर्खेत : पछिल्लो समय कर्णाली प्रदेशमा भारतीय रुपैयाको कारोबार बढेसँगै नेपाली नोटको अभाव देखिन थालेको छ। भारतीय रुपैयाँको सटही नहुँदा सर्वसाधारण नागरिक देखि व्यापारी समेतले समस्या भोग्नु परेको छ।

यसअघि रोजगारीका लागि भारत गएका कर्णालीवासीले रेमिट्यान्स पठाउने हुँदा र सीमा पारीनै सटही गरेर आउने हुँदा यस्तो समस्या हुँदैनथ्यो। तर, यसपटक भने नागरिक स्वयंले भारतीय रुपैयाँ सिधैँ लिएर गाउँ पस्दा कर्णालीमा भारतीय रुपैयाँको चलनचल्ती बढी भएको हो।

यसअघि सय भन्दा सानो भारतीय नोट बैंकलगायत सबैले चलनचल्तीमा ल्याएपनि अहिले भारतीय नोटको कारोबार ह्वात्तै बढेपछि सरकारी होस् या निजी बैंक र वित्तीय संस्थाहरुले समेत सटही गर्न छोडेका छन्। पछिल्लो समय सर्वसाधारण नागरिकदेखि व्यापारी समेतले भारतीय पैसाको कारोबार गर्न समस्या हुने गरेको गुनासो बढेको छ।

‘जति पनि सामान बिक्रि गर्दा भुक्तानी आउँछ सबै भारु मात्रै आउन थाल्यो’, वीरेन्द्रनगरका व्यवसायी लक्ष्मी भुसालले भने, ‘भारु एकदमै जम्मा हुन थाल्यो। भारु बैंकमा जम्मा नहुने, सामान खरिद गर्दा हातमा लिने साहूहरुले पनि लिन नमान्ने, पहिले पहिले त सय, पचासको नोट बैंकमा जम्मा हुन्थ्यो अहिले त त्यो पनि बैंकले बन्द गर्‍यो।’

कामदारदेखि बैंकसम्म भारतीय रुपैयाँको कारोबार नहुदा व्यवसायनै बन्द गर्नुपर्ने अवस्था आउन लागेको बताउँछन्।

‘आजभोलि न काम गर्ने कामदारले लिन मान्छन्, न साहुहरुले लिन मान्छन्, न बैंकमा जम्मा हुन्छ’, उनले भने, ‘जसले भारु नोट लिएर गएका छन्। आज लिएर गए भने भोली एक सय ५५ मा क्लेम गर्नुपर्ने, घटाउनुपर्ने भो हजुर भन्दै आउनुहुन्छ।’

उनले थपे, ‘आफूले लिँदा एक सय ६० रुपैयाँमा लियो, नलिने हो व्यापार हुदैँन, लिने हो चलाउनै मुश्किल भयो।’

कर्णाली प्रदेशमा भारतीय नोटको कारोबार बढेसँगै बैंक तथा वित्तीय संस्थाहरुले सटही गर्न नमानेपछि भारतीय मुद्रा व्यापारीसँग थुप्रिएको हो।

सर्वसाधारणले दैनिक उपभोग्य सामान खरिददेखि लिएर बजार र चलनचल्तीमा भारुको प्रयोग गर्दै आएका छन्। यसरी सर्वसाधारण र व्यापारीहरुमा भारतीय रकम सटही नहुने र नेपाली नोटको कमी हुँदा आर्थिक कारोबारमा समस्या बेहोर्नुपरेको छ। प्रदेशमा भित्रिएको भारतीय रुपैयाँको सटहीका लागि सरकारले तत्काल कदम चाल्नुपर्ने व्यवसायी संघको माग छ।

‘नेपाल सरकार र भारतीय सरकारबीच राष्ट्र बैंकमार्फत नेपाल सरकारले पैसा लिइँदिने र भारत सरकारलाई पठाउने व्यवस्था छिटो भन्दा छिटो गर्नुपर्छ’, सुर्खेत उद्योग वाणिज्य संघका महासचिव लक्ष्मण कँडेलले भने, ‘सरकारले सहजै सटही गर्ने व्यवस्था नगरे सर्वसाधारण नागरिकदेखि व्यापारीसम्मलाई आफ्नो दैनिकी चलाउन मुश्किल हुने अवस्था छ।’

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न सरकारले लकडाउन गरेकै अवधिमा वैदेशिक रोजगारीमा गएका झण्डै डेढ लाख कर्णालीवासी गाउँ फर्किएको प्रदेश सरकारको अनुमान छ। उनीहरुमार्फत प्रदेशमा कति भारतीय रुपैयाँ भित्रियो भन्ने यकिन तथ्यांक राष्ट्र बैंकसँग पनि छैन। तर, अहिले कर्णालीमा ७० प्रतिशत बढी भारतीय रुपैयाँकै कारोवार हुने अनुमान छ। कर्णालीको दश जिल्ला हेर्ने गरी स्थापना भएको राष्ट्र बैंकको सुर्खेत शाखाले समेत भारतीय रुपैयाँको सटही गर्न सकेको छैन। विदेशी मुद्रासहित भारु सटही गर्ने नेपाल राष्ट्र बैंक अहिले कर्णालीमा मुख दर्शक मात्रै बनेको छ।

‘भारु सटही गर्ने जिम्मा हाम्रो नै हो’, नेपाल राष्ट्र बैंक कर्णालीका प्रमुख डा शालीकराम पोखरेलले भने, ‘पूर्वाधार र जनशक्ति पर्याप्त छैन। पैसा राख्नका लागि हामीसँग ढुकुटी पनि छैन। ढुकुटीको सुरक्षार्थ खटिने सुरक्षाकर्मी पनि छैन। जसले गर्दा अहिले हामीले कुनै पनि विदेशी मुद्राहरु सटही गर्न सकेका छैनौँ।’

विदेशी मुद्रा सटही गर्न प्रदेश ५ को नेपालगञ्जस्थित रहेको राष्ट्र बैंकमा पुग्नुपर्ने अवस्था छ। तर, नेपालगञ्जमा सर्वसाधारण नागरिकको सहज पहुँच छैन। सरकारले पनि पासबिना अन्तरजिल्लामा सवारी साधान ओहोरदोहोरमा रोक लगाएको छ।

भारतीय नोट कुनै पनि वित्तीय संस्थाहरुले चलनचल्तीमा नल्याइदिँदा बजारमा कारोबार गर्न नागरिक तथा व्यवसायीहरुलाई समस्या देखिएको छ। सर्वसाधारण नागरिकले मजदुरी गरेर ल्याएको भारतीय रुपैयाँको सटही गर्न र गराउन व्यवसायी संघले प्रदेश सरकारको ध्यानाकर्षण गरिसकेको छ। यद्यपी, सुनुवाई भने अहिलेसम्म हुन सकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell