काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेश सिलवालले खेल मैदान नभएका ‘ए’ डिभिजन क्लबलाई खेल मैदान उपलब्ध गराउने घोषणा गरेका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा)ले राखेपमा नियुक्त भएका पदाधिकारीहरुलाई शुभकामना दिन आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै खेल मैदान नभएका ‘ए’ डिभिजन क्लबहरुलाई मैदान उपलब्ध गराउने बताएका हुन्।
उनले एन्फाले सूचना दिए काठमाडौं उपत्यका भित्र वा नजिकै कुनैपनि ठाउँमा खेल मैदान उपलब्ध गराउने बताए। फुटबलको विकास कसरी गर्ने भन्ने कुरामा राखेप र एन्फाले संयुक्त रुपमा काम गर्नुपर्नेमा सिलवालले जोड दिए। खेलाडीसँग सम्भावना भएको तर म्याच एक्सपोजरको अभाव भएकोले त्यसका लागि राखेपले सघाउने प्रतिवद्धता जनाए।
खेलाडीको क्षमता विकासका लागि राम्रो प्रशिक्षण र राम्रो टुर्नामेन्टको जरुरत रहेको भन्दै त्यसका लागि काम गर्नु नै अहिलेको आवस्यकता रहेको उनले बताए। आगामी दशैंअगाडि विश्वकप क्वालिफाई खेल लगायतका ३ वटा महत्वपूर्ण प्रतियोगिता हुने र त्यसमा राम्रो गर्न सके अन्तर्राष्ट्रिय रुपमा नै नेपालको फुटबलको चर्चा हुने बताए।
एन्फा अध्यक्ष कर्मा छिरिङ्ग शेर्पाले नेपाली फुटबललाई व्यवसायिक रुपमा विकास गर्दै लैजान सरकारले एन्फालाई आर्थिक सहयोग गर्नुपर्ने बताए। उनले राष्ट्रिय खेलकुद परिषद् मार्फत आर्थिक सहयोग उपलब्ध हुने विश्वास व्यक्त गरे। उनले सरकारले कम्तिमा पनि तीनदेखि चार वर्षका लगानी गरेमा नेपालको फुटबल व्यवसायिक रुपमा अगाडि बढ्न सक्षम बन्ने बताए।
लिगलाई तीन महिना भन्दा बढी समय सञ्चालन गर्न र थप व्यवस्थित बनाउन पनि सरकारको लगानी हुनुपर्ने उनले बताए। अहिले कतिपय ‘ए’ डिभिजन क्लबका आफ्नै खेल मैदान नभएकाले राखेपले उपलब्ध गराउनेमा आफू विश्वस्त रहेको शेर्पाले बताए।
लकडाउनका कारणले अखिल नेपाल फुटबल संघले आयोजना गर्ने सबै लिग रोकिएका छन्। यसका साथै अन्तर्राष्ट्रिय स्तरमा हुने विभिन्न प्रतियोगितामा समेत खेलाडीहरु जान पाएका छैनन्। त्यस्तै, एन्फाले आगामी भदौ १ गतेबाट खेलाडीहरुलाई बन्द प्रशिक्षण गराउने भएको छ। -न्युज एजेन्सी नेपाल
