बलिउड अभिनेता सुशान्तसिंह राजपुत आत्महत्या प्रकरण थप जटिल बनेको छ। अनुसन्धानका लागि महाराष्ट्र आएको बिहार प्रहरीलाई मुम्बई प्रहरीले सहयोग नगरेपछि सुशान्तको मुद्दा सुरक्षा निकायको टकरावमा अल्झिएको छ।
सुशान्तका पिता केके सिंहले प्रेमिका रिया चक्रवर्तीविरुद्ध ब्ल्याक मेल गरेर पैसा हडपेको तथा आत्महत्या गर्न बाध्य पारेको आरोप लगाएर पटना प्रहरीमा उजुरी दर्ता गरेका थिए। नयाँ मोड लिएको मुद्दामा हाल मुम्बई प्रहरीले असहयोग गरेको आरोप लगाइएको छ।
अनुसन्धानका लागि बिहार प्रहरीले आफ्नो टिम मुम्बई पठाएको थियो। सो टिमले सहयोग नपाएपछि एसएसपी पठायो। तर, मुम्बई नपुग्दै उनलाई क्वारेन्टाइनमा राखियो। आफ्नो टिमलाई असहयोग गरेको र एसएसपीको काममा रोक लगाउन क्वारेन्टाइनमा पठाएर अपमान गरेको भन्दै बिहार पुलिसले खेद व्यक्त गरेको छ। मध्यरातमा जबरजस्ती क्वारेन्टाइनमा पठाउनु आफूहरुको अपमान भएको र यो गलत भएको बिहार पुलिसको भनाई छ।
बिहार पुलिसका डिजीपी गुप्तेश्वर पांडेयले आखिर मुम्बई पुलिसले किन अनुसन्धानमा असहयोग गरेको छ? भनेर प्रश्न गरेका छन्। मुम्बई पुलिसको असहयोग र एसएसपीलाई क्वारेन्टाइनमा राख्नु गलत भएको उनको भनाई थियो। उनले सहयोग नगरे पनि मुम्बई पुलिसलाई अनुसन्धानका लागि दबाब दिने बताए।
उता मुम्बई पुलिस कमिश्नर परमबीर सिंहले पत्रकार सम्मेलन गरेर बिहार पुलिसलाई जाँचको अधिकार नभएको बताए। उनले मुम्बई पुलिस सुशान्त आत्महत्या प्रकरणको मुद्दा अनुसन्धान गर्न सक्षम भएको र अनुसन्धान सहि दिशामा चलिरहेको दावी गरेका छन्।
सुशान्त प्रकरण दुई राज्यको पुलिसमात्र होइन राजनीतिज्ञहरु पनि बाँझाबाँझमा उत्रिएका छन्। विहारका मुख्यमन्त्री नितीश कुमारले अनुसन्धानका लागि खटिएका सुरक्षा अधिकारीलाई क्वारेन्टाइनमा राख्नु गलत भएको बताए। यसबारे थप गरिने उनको भनाई थियो। मुम्बई सरकारका मन्त्रीहरुले भने सुशान्त मुद्दामा नितीश सरकारले राजनीतिक गरेको आरोप लगाएका छन्।