PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

वीरगंजका ५ जना कोरोना संक्रमित आइसियुमा, बाँकी संक्रमित कहाँ छन्?



राधेश्याम पटेल

वीरगंजका ५ जना कोरोना संक्रमित आइसियुमा, बाँकी संक्रमित कहाँ छन्?

वीरगंज : नेपालमा कोरोना भाइरसको संक्रमण देखिएसँगै वीरगंज भाइरसको हटस्पट बन्यो। लकडाउन अन्त्य भएपछिपनि वीरगंजमा भाइरसको कहर कम भएको छैन। देशकै लाइफलाइन र मधेस आन्दोलनको केन्द्र विन्दु अहिले कोरोना महामारीसँग जुझ्दै छ।

गत चैतदेखि साउन १९ गते सम्म वीरगंजमा कोरोना माहामारीले १३ जनाको मृत्यु भइसकेको छ। लकडाउन अन्त्य भएपछि मृतकको संख्या ह्वात्तै बढेको छ। मृतकहरुमा कोभिड १९ को लक्षण समेत देखिएसँगै  खतरा अझै बढेको छ।

प्रदेश २ को आठै जिल्लामा हालसम्म कोरोनाका कारण २० जनाको मृत्यु भइसकेको छ। ५ हजार ५५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। लकडाउन अन्त्यसँगै लक्षण सहितको संक्रमितको संख्या बढ्दै गएको छ।

वीरगंजमा मात्र अहिले करिब ३ सयजना संक्रमितहरु उपचाररत रहेका छन्। ९ जना डाक्टर,३२ जना स्वास्थ्यकर्मी संक्रमित भइसक्दा वीरगंजमा कोरोना संक्रमितको उपचार समेत प्रभावित भएको छ। नारायणी गण्डक कोभिड अस्पतालले संक्रमितको भार थेग्न नसकेपछि नारायणी अस्पतालकै मातहतमा वीरगंज हेल्थकेयर अस्पताललाई सय बेडको कोभिड अस्पताल बनाई उपचार सेवा शुरु भएको छ। यस्तो अवस्थामा जुन रुपमा संक्रमितहरुलाई सुविधा सम्पन्न आईसोलेशन वार्डसहितको अस्पतालमा उपचार हुनु पर्ने हो,त्यो हुन सकिरहेको छैन्।

गण्डक कोभिड अस्पतालका संयोजक डा.उदयनारायण सिंह भन्छन्,‘धेरै कुरा व्यवस्थापन गर्नुपर्ने देखिन्छ। त्यो सब नगर्दा अवस्था अनियन्त्रित बन्दै गएको हो।’

उनले लक्षण सहितका संक्रमितहरु देखिएकाले यथाशिघ्र परीक्षणको दायरा बढाएर संक्रमितहरुको पहिचान गर्नुपर्ने बताए।

अस्पताल बाहिर रहेका संक्रमितहरु अलपत्र तथा अव्यवस्थित रुपमा बस्दा संक्रमण फैलिने त्रास झनै समाजमा बढेको स्थानीय बताउँछन्।

‘संक्रमित र तिनका परिवारजन एउटै घरमा छन। होम आईसोलेशनको सरकारी मापदण्ड पुरा भयो कि भएन ? कसैले अनुगमन पनि गरेका छैनन,’ वीरगंज ११ श्रीपुरका स्थानीय सुन्दर कुर्मीले भने,‘संक्रमितमा लक्षण छ की छैन,कस्तो औषधी खानु पर्छ त्यो सबको पनि सोधी खोजी भएको छैन,व्यवस्थित होम आईसोलेशन कसरी व्यवस्थापन गर्ने।’

'हटस्पट वीरगंज'

पर्साको अस्पतालमा रहेका भन्दा तीन गुणा बढी संख्यामा संक्रमितहरु अस्पतालमा बाहिर तानावपूर्ण जीवन बाचिरहेको देखिएको छ।

स्वास्थ्य कार्यालय पर्साको तथ्यांकका अनुसार पर्सामा हाल सम्म ४५७ पुरुष र ११६ महिला गरी ५७३ जना संक्रमित भेटिएकोमा १३२ पुरुष र ३२ महिला गरी कुल १६९ जना डिस्चार्ज भइसकेका छन्।

हाल पर्सामा गण्डकमा ४२ पुरुष,१४ महिला संक्रमित गरी ५६ जना,वीरगंज हेल्थकेयरमा २६ पुरुष,२ महिला गरी कुल २८ जना गरी ८४ जनाले व्यवस्थित रुपमा उपचार पाइरहेका छन्। ती सबैमा कोरोनाको प्रत्यक्ष लक्षण छ।

८४ जना मध्ये चार जनाको गण्डकमा र एक जना हेल्थकेयरको आईसियुमा उपचार भइरहेको छन् । ५ जना मध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ भने बाँकी ३ जनाको अवस्था सुधारोन्मुख रहेको बताइएको छ।

त्यसैगरी,सेमिआईसोलेशन भनिएको त्रिजुद्धमा  ४ महिलासहित १५ जना,,वीरगंज कारागारमा एक महिलासहित १२ जना, सिद्धार्थ माविमा २ महिलासहित २४ जना, बगही प्राथमिक स्वास्थय केन्द्रमा  एक महिलासहित ४ जना, विजय ज्योति होटलमा ३ पुरुष, सखुवा प्रसौनीमा २ महिलासहित ६ जना, पटेर्वा सुगौलीमा एक महिलासहित ४ जना गरी कुल ६१ जना सेमिआईसोलेशनमा रहेका छन्।

साथै वीरगंज महानगरको विभिन्न वडामा १४२ जना, सुखुवा प्रसौनी गाउँ पालिकामा २ जना, बहुदरमाई नगरपालिकामा एकजना र छिपहरमाईमा एक जना गरी कुल १४६ जना होम आईसोलेशनमा रहेको स्वास्थ्य कार्यालय पर्साका जनस्वासथ्य निरीक्षक जयमोद ठाकुरले बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell