.jpg)
पछिल्ला केही दिनमा सबैभन्दा सकारात्मक खबरको खोजी गर्दा भेटिने शीर्षक बनेको छ - नेकपाका दुई अध्यक्षबीच पुन: संवाद सुरु। कोरोनाको कहर, वेथितिको चाङ, वित्तीय असन्तुलन र अराजकताका काला बादलमा कतै चाँदीको घेरा मिल्छ कि भन्ने जनअपेक्षा अलपत्र छ। मुलुकको सबैभन्दा महत्वपूर्ण विषय बनेको छ - दुई अध्यक्षबीचको मिलन। यो राजनीतिक प्रेम हो र आज गाईजात्रा। मुलत: आज गाईजात्रा निस्तेज भएको छ। कमजोर र फित्तलो पनि। किनकि आज मृतकको स्मृति हुन्छ। पुर्खालाई पुज्ने संस्कारबाट हुर्केका हामी भाग्यमानी छौं - वर्षभरी व्यङ्ग्य हुन्छ, आज चाहिँ जात्रा।
अरु बेला बोल्न नसकेका मानिसहरु गाईजात्रामा निर्वाध बोल्थे। सरकारका काम कारवाहीको आलोचना खुलेर नै गर्न पाइन्थ्यो। प्रजातन्त्र नहुँदा अभिव्यक्ति स्वतन्त्रताको दिनका रुपमा चिनिन्थ्यो आजका दिन। दिवंगत पुस्ताको स्मृतिको संस्कार र त्यसैका आडमा अभिव्यक्ति स्वतन्त्रताको अभ्यास - अनौठो किसिमको कोलाज। त्यही कोलाजमा रङ्गिन्थे सामाजिक, सांस्कृतिक र आर्थिक विश्रृङ्खलताका विषयहरु। मौन स्वरहरु एकाएक मुखारित हुन्थे। मनमा गाढिएर बसेको असन्तुष्टिहरु मुक्त हुन पाउँथे। अरु दिन बोल्न निषेध थियो। त्यसैले चर्चित कलाकारहरु पनि गाईजात्रामा निर्वाध व्यङ्ग्य गर्न उत्रन्थे। सत्ताको कटाक्ष गर्थे।
तर, अहिले हरेक दिन गाईजात्रा। कोरोना भाइरसको संक्रमणले अर्थतन्त्र डावाडोल छ। लकडाउन किन भयो र किन खुल्यो अर्थमन्त्री डाक्टर युवराज खतिवडा जानकार होलान्। अव्यवस्थाको शीर्षस्थानमा प्रधानमन्त्री केपी शर्मा ओली छन्। उनलाई केही मतलब छैन, सिवाय कुर्सी। त्यसो त उनी मुलुकको सबैभन्दा चर्चित हाँस्यव्यङ्ग्यमा खप्पिस छन्। त्यसकारण उनी धन्य छन्। उनका अभिव्यक्तिमा हरेक दिन गाईजात्राको अनुभूति हुन्छ। कुनै पनि विद्यामा उनीजति पारङ्गत कोही छैनन् भनेर प्राज्ञहरुले नै ठोकुवा गरिसकेका छन्। लकडाउनमा जनता तड्पिरहँदा पनि उनीहरु हाँसिरहन पाए। भोको पेट लखरलखर गाउँतिर लाग्दा पनि उनीहरु हाँसिरहन पाए। किनकि विरामी प्रधानमन्त्रीमा हाँस्यरस यति धेरै छ कि उनले कहिल्यै निराश बनाएनन्। हँसाइरहे, हँसाइरहे। त्यही भएर हुनुपर्छ वर्ल्ड ह्याप्पिनेस रिपोर्टमा नेपालले प्रगति गरेको गर्यै छ।
सुरुमै उल्लेख गरिसकेँ - मुलुकको सबैभन्दा सकारात्मक समाचार। दुई अध्यक्षबीचको मिलन। यो देशमा जनतालाई केही चाहिन्न, उहाँहरु मिले हुन्छ। ओली र दाहाल जबसम्म मिल्नुहुन्न तबसम्म मुलुकमा समृद्धि आउँदैन। नपत्याए ओली र दाहालका समर्थकहरुको फेसबुक र ट्विटरमा भिडन्त हेर्नुस्। नेपाली जति भाग्यमानी यो संसारमा को होलान्? एक पार्टीका दुई अध्यक्षबीच प्रेम हुन्छ, ब्रेक अप पनि। अनि फेरि प्रेम। यो निरन्तर प्रकृया जारी रहन्छ। किनकि देशमा रमिता जारी छ। र, हरेक दिन जारी छ गाईजात्रा।
देशको यस्तो हविगत एकातिर छ, अर्कोतिर प्रमुख प्रतिपक्षी दलले हसाउन कम गरेको छैन। जब मुलुकको कार्यकारीनै जोक्कर छन्, प्रमुख प्रतिपक्षी दलका सभापति शेरबहादुर के कम हुन्? उनी पनि जब बोल्छन् - जोकहरु एकाकार भएर निस्किन्छन्। उनीसँग ज्ञापनपत्र बुझाउन पुगेका हुन् या उनलाई उद्घाटनमा बोलाउने, कसैलाई बक्सिँदैनन्। ठाडै दिन्छन्। यो अद्भुत देशमा प्रधानमन्त्री र प्रतिपक्षी दलका नेतामा कुनै अन्तर छैन, देशलाई गति दिने कामबाहेक सबै गर्न जानेका छन् यी दुवैले। नेकपाका अध्यक्षहरुबीच भाले भिडन्त चलिरहँदा च्याँखे थाप्न सिपालु छन् - देउवा। त्यसैले पत्तै नदिइ रातिराति प्रधानमन्त्रीकहाँ पुगिहाल्छन्। त्यत्तिले उनीविरुद्ध मुख खोल्नेको सातो गइहाल्छ। देउवालाई चाहियो अरु के नै? सासुआमाको व्यवस्थापना सरकारले मिलाइदिएकै छ, ठेक्कापट्टा र व्यापारमा सरकारसँग सहकार्य जारी नै छँदैछ। रह्यो आउँदो महाधिवेशनको कुरो - भ्यागुताको धार्नी पुर्याउन्नन् भन्ने बुझेकै छन्। त्यसैले उनले केही गर्न पर्दैन - ऐनबखत जोकबाहेक। त्यसो त देउवाको यही शैलीले प्रधानमन्त्री ओलीलाई पनि निक्कै साथ दिएको छ। त्यसैले देउवाको पार्टी नेतृत्वमा निरन्तरताका लागि ओलीले आकाश पातल एक गरिदिनेछन्। किनकि देउवा देखाउँदै, प्रचण्डदेखि माधव नेपालसम्म तर्साउने मेलो मिलेकै छ।
आज पर्वको गाईजात्रा। रोगी देश, रोगी प्रधानमन्त्री, रोगी प्रमुख प्रतिपक्षी भएकाले हरेक दिन गाईजात्रा जारी छ। र, जारी रहने छ। किनकि हामी गाईजात्राका पारखी हौं। आउनुस् वर्षैभरि गाईजात्रा मनाइरहौं।