काठमाडौं : साउन ८ गते राति काठमाडौंको बाफलमा २२ वर्षीय युवतीमाथि एसिड प्रहार गरेको घटना योजनाबद्ध रुपमा भएको पुष्टि भइसकेको छ। प्रहरीले अभियुक्तको साविति बयान, घटनामा प्रयोग भएको एसिडको बोतल, सीसी क्यामरा फुटेज तथा केही प्राविधिक पक्षलाई आधार बनाएर घटनामा संलग्न दुई जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।
प्रहरीले रौतहट लक्ष्मीपुर घर भई हाल डल्लु बस्ने ४७ वर्षीय मोहम्मद आलम र भारत घर भई डल्लु बस्दै आएका २२ वर्षीय मुन्ना भनिने फैयाज आलमलाई सोही दिन राति ११ बजे डल्लुबाट पक्राउ गरेको थियो। पक्राउ परेका आलम गार्मेन्ट व्यवसायी हुन्। अर्का अभियुक्त भने आलमकै कारखानामा काम गर्दै आएका थिए।
युवतीले आफ्नो प्रस्तावहरु अस्वीकार गरेपछि बदला लिन एसिड प्रहार गरेको स्वीकार गरिसकेको प्रहरीले जानकारी दिएको छ। पीडित र पीडक दुवै चिनजानका व्यक्ति हुन्। पछिल्लो समयमा आफ्ना कुरा अस्वीकार गर्दा, बदला भावले एसिड प्रहार हुने गरेको प्रहरीको तथ्याङ्कले देखाएको छ।
सोमवार संसदको कानून, न्याय तथा मानव अधिकार समितिमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले धेरै एसिड प्रहार बदला लिनेको लागि हुने गरेको जानकारी दिएका छन्। पछिल्लो १७ वटा एसिड आक्रमणमध्ये ८ वटा बदला लिनको लागि नै भएको प्रहरी अनुसन्धानमा देखिएको महानिरीक्षक क्षेत्रीले बताए।
त्यस्तै, प्रेम सम्बन्धका कारण पनि एसिड आक्रमण भएको देखिन्छ। ५ वटा घटनामा एसिड प्रहारको कारण प्रेम बनेको छ। रुपको कारण वा अनुहार विगार्ने वा कुरुप बनाउने अभिप्रायले पनि एसिड फ्याँकिएको देखिन्छ। १७ वटा घटनामध्ये वटा अनुहार विगार्नको लागि भएको देखिएको छ।
जग्गा विवादमा २, सम्पतिको आशमा १ वटा एसिड घटना भएको महानिरीक्षक थापाले जानकारी दिए। १७ वटा घटना मध्ये प्रदेश २ मा सबैभन्दा धेरै ६ वटा घटना भएको प्रहरीको तथ्याङ्कले देखाएको छ। एसिड प्रहार भएका घटनामा चिनेजानेका र परिवारभित्रका मानिसकै संलग्नता भएको देखिएको छ।
