PahiloPost

Jun 23, 2025 | ९ असार २०८२

भेला नगर्न प्रशासनको निर्देशन, नटेर्ने ७७३ जना कारवाहीमा



रासस

भेला नगर्न प्रशासनको निर्देशन, नटेर्ने ७७३ जना कारवाहीमा

चितवन : जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै जिल्लाभित्र कुनै पनि भेला तथा बैठक सञ्चालन नगर्न निर्देशन दिएको छ।

जिल्लाका केही सहकारीले साधारणसभा, विद्यालयले अभिभावक भेला तथा अन्य सङ्घसंस्थाले भेला तथा बैठक सञ्चालन गरेको जानकारी आएको भन्दै प्रशासनले यस्तो निर्देशन दिएको हो। भेला तथा बैठक सञ्चालन गर्दा कोरोना भाइरस सङ्क्रमणको जोखिम उच्च हुने भएकाले त्यस्ता प्रकारको कुनै पनि गतिविधि नगर्न/नगराउन प्रशासनले अनुरोध गरेको छ।

प्रशासनको निर्देशन अवज्ञा गरी यस्ता कार्यलाई सञ्चालन गरेको पाइएमा सङ्क्रामक रोग ऐन, २०२० अनुसार कारवाही गरिने जनाएको छ । सूचनामा जिल्लाका सातवटै स्थानीय तह, शिक्षा विकास तथा समन्वय एकाइ, गैरसरकारी संस्था महासङ्घ चितवन र जिल्ला सहकारी सङ्घलाई आवश्यक समन्वय र सहजीकरण गर्न आग्रह पनि गरिएको छ ।

७७३ जनालाई कारवाही
जिल्लाका विभिन्न स्थानमा सरकारले गरेको कोरोना नियन्त्रण अभियानमा असहयोग गर्ने ७७३ जना कारवाहीमा परेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार आइतवार र सोमवार गरी उनीहरुलाई नियन्त्रणमा लिई जरिवाना गरिएको हो।

जिल्लाका विभिन्न स्थानमा न्यूनतम सामाजिक भौतिक दूरी कायम नगरी सवारी साधन सञ्चालन गर्ने, सार्वजनिक कार्यमा सामाजिक भौतिक दूरी कायम नगर्ने र मास्क प्रयोग नगरी सार्वजनिक स्थानमा हिँड्डुल गरेका उनीहरुलाई कारवाही गरिएको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए। उनीहरुलाई सङ्क्रमण रोग ऐन, २०२० बमोजिम कारवाही गरिएको उनले बताए। जनही रु १०० र रु ५०० का दरले जरिवाना गरी उनीहरुलाई छाडिएको छ। कारवाहीबाट रु ८३ हजार ५०० सङ्कलन भएको थापाले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell