PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

भारतका यी राज्य जसले नेपालको जोखिम टर्न दिएका छैनन्



पहिलोपोस्ट

भारतका यी राज्य जसले नेपालको जोखिम टर्न दिएका छैनन्

काठमाडौं : एक साता अघिमात्र महावौद्धमा व्यवसाय गर्ने व्यक्तिमा कोरोना भाइरस संक्रमण देखियो। उनी नेपाली थिएनन्। लकडाउन र सीमा बन्द भएकै अवस्थामा उनी काठमाडौं आइपुगेर व्यापार व्यवसाय चलाउन थालिसकेका थिए। भारतसँगको सीमादेखि काठमाडौंसम्म सबैतिर कडा गरेको सरकारी दावी कति कमजोर छ भन्ने दृष्टान्त दिन यो केस पर्याप्त छ।

अहिले दैनिक ५० हजारभन्दा धेरै संक्रमित रेकर्ड गर्न थालेको ६ दिन भइसक्यो छिमेकी मुलुक भारतमा। नेपालसँग खुला सीमा भएकाले त्यहाँ हुने संक्रमणको वृद्धिदरले यहाँ सोझो प्रभाव छाड्छ। भारतबाट नेपाल भित्रने नेपालीमात्र होइन, भारतीय कामदार र व्यवसायीसमेत छन् जो विभिन्न उपाय लगाएर आउनेक्रम जारी छ।

नेपालसँग सबैभन्दा लामो सीमा जोडिएका भारतीय राज्यहरु बिहार र उत्तर प्रदेश अहिले कोभिड १९ बाट अत्याधिक प्रभावित छन्। त्यसैले त्यहाँको जोखिमले नेपालमा असर पारिरहन्छ। नेपालमा पनि कतिपय ठाउँमा कोरोना समुदाय स्तरमा फैलिसकेको छ। भारतबाट आउनेक्रम घटे पनि समाप्त भइसकेको छैन। तर, क्वारेन्टाइनमा राख्ने र उनीहरुमाथि निगरानी बढाउनेक्रममा भने सुस्तता बढ्दै गएको छ। त्यसले नेपाल भयमुक्त हुने अवस्थाभन्दा धेरै पर पुगिसकेको छ।

भारतको राज्यहरुमा सबैभन्दा कम कोरोना भाइरस परीक्षण भएको राज्यमा पर्छ बिहार। नेपालसँग सबैभन्दा लामो सीमा यही राज्यसँग जोडिएको छ। नेपालको प्रदेश नम्बर दुई पूर्णत यही राज्यसँग जोडिएको छ भने प्रदेश १ र वाग्मती प्रदेशका केही क्षेत्रसँग सीमा जोडिन्छ। बिहारमा सोमवारसम्म ५७ हजार २४ जनामा कोरोना भाइरस संक्रमित रेकर्ड भएका छन्। त्यहाँ ३ सय २९ जनाको मृत्यु भइसकेको छ। र, कम परीक्षण हुनुका कारण संक्रमितको संख्या कम देखिएको हो, भारतका अन्य राज्यको तुलनामा।

नेपालसँग लामो सीमा जोडिने भारतको अर्को राज्य उत्तर प्रदेश हो जहाँ कोरोनाको कहर गहिरिँदो छ। उत्तर प्रदेशले मध्य नेपालदेखि पश्चिम नेपालसम्म जोड्छ। प्रदेश नम्बर ५ र सुदूर पश्चिमसँग जोडिएको उत्तर प्रदेशबाट संक्रमित भित्रने सम्भावना अत्याधिक छ। उत्तर प्रदेशमा संक्रमित संख्या केही दिनभित्रै एक लाख भन्दा धेरै हुने छ। सोमवारसम्म त्यहाँ ९२ हजार ९ सय २१ जना रेकर्ड भएका संक्रमित छन्। १ हजार ७ सय ३० जना संक्रमितले ज्यान समेत गुमाइसकेका छन्, त्यहाँ।

उत्तर प्रदेश र बिहार दुवै भारतका अत्याधिक जनसंख्या भएका राज्यहरु हुन्। यी दुवै राज्य भारतका अन्य राज्यको तुलनामा आर्थिक र शैक्षिक लगायतका इन्डिकेटरमा पनि कमजोर छन्। दुवै राज्यबाट धेरै संख्यामा कामदारहरु भारतका अन्य राज्यमा कामका लागि जाने गर्छन्। नेपालमा पनि सबैभन्दा धेरै यिनै दुई राज्यबाट भारतीयहरु काम तथा व्यवसायका लागि नेपाल भित्रने गर्छन्।

पूर्वी नेपालसँग जोडिएको भारतीय राज्य पश्चिम वंगाल पनि कोरोनाको चर्को चपेटामा छ। त्यहाँ ७५ हजार ५ सय १६ जना रेकर्डेड संक्रमित छन्। वंगालमा १ हजार ६ सय ७८ जनाले ज्यान गुमाइसकेका छन्। बिहार र उत्तर प्रदेशबाट जस्तो पश्चिम वंगालबाट नेपाल आउजाउ हुँदैन। तर, थोरै संख्यामा नै भए पनि ओहरदोहरले संक्रमणको जोखिमलाई पनि ज्युँदै राख्छ।

पश्चिम नेपालसँग जोडिएको उत्तराखण्डमा संक्रमित संख्या केही कम छ। त्यहाँ ७ हजार ५ सय ७९ जनामा संक्रमण देखिएको छ भने ८६ जनाले ज्यान गुमाइसकेका छन्। महाकाली नदीका कारण सीमा वारपार गर्न कठिन भए पनि ठप्प भने छैन। पूर्वी नेपालसँग जोडिएको भारतको राज्य सिक्किममा भने कोरोना संक्रमण दर अन्यत्र हेरी कम छ। त्यहाँ अहिलेसम्म ६ सय ५८ जनामा संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell