PahiloPost

Jun 24, 2026 | १० असार २०८३

नेकपा किचलो : ओली-प्रचण्डबीच आज पनि छलफल



पहिलोपोस्ट

नेकपा किचलो : ओली-प्रचण्डबीच आज पनि छलफल

काठमाडौं :  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज पनि छलफल हुँदैछ।

गत साउन १३ गतेपछिको संवादहीनता तोड्दै आइतवार र सोमवार भएको छलफलमा बरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि सहभागी थिए।

आज बेलुकी ५ बजे भेट हुने कार्यतालिका रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। पार्टीको किचलो अन्त्य गर्न भन्दै वार्तामा जुटेका नेताहरुबीच कुनै सहमति जुट्न सकेको छैन।

सोमवारको छलफलमा ओलीले समस्या सचिवालय बैठकबाट सुल्झाउनुपर्ने अडान राखेका थिए भने अध्यक्ष प्रचण्डले स्थायी कमिटी बैठक सुरु गरेर नै निकास निकाल्नुपर्ने बताएका थिए। सो भेटमा सहमति जुट्न नसकेपछि आज बस्नेगरी नेताहरु उठेका थिए।

सोमवार नै ओलीले बालकोटस्थित निवासमा पुगेर छलफलमा जेरी खाएको प्रसंग सुनाएका थिए भने पूर्वमन्त्री गोकुल बास्कोटाले आजको भेटमा तितेकरेलो खुवाउन सुझाव दिएका थिए।

ओलीले सहमति हुन नसकेको बताएका थिए। सहमतिका लागि भन्दै असार १० गतेदेखि सुरु भएको स्थायी कमिटी बैठक पटक पटक स्थगित हुँदै आएको छ।

साउन १३ गते ओलीले एकलौटी ढंगले बैठक स्थगित गरेका थिए भने सोही दिन नै प्रचण्डले बैठक चलाएका थिए। नेकपाको विवाद गत डेढ महिनादेखि सतहमा नै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell