PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

प्रदेश १ मा मोरङ र सुनसरीपछि झापाको मेची अस्पतालबाट पनि कोभिड–१९ को उपचार सुरु



अनन्तराज न्यौपाने

प्रदेश १ मा मोरङ र सुनसरीपछि झापाको मेची अस्पतालबाट पनि कोभिड–१९ को उपचार सुरु

विराटनगर : कोरोना भाइरसले सङ्क्रमितहरूका लागि झापाको मेची अस्पतालमा पनि सोमवारदेखि उपचार सुरु गरिएको छ। 

प्रदेश नम्बर १ को सरकारको मातहतमा चलिरहेको झापाको भद्रपुरस्थित अस्पतालमा कोभिड–१९ का बिरामीका लागि उपचार सुरु गरिएको हो। यसअघि झापाका कोरोना सङ्क्रमितलाई मोरङ र सुनसरी ल्याएर उपचार गरिँदै थियो।

सङ्क्रमितको उपचारका लागि मेची अस्पतालमा २५ शय्याको आइसोलेसन बनाइएको छ। साथै प्रदेश सरकारले यस अस्पताललाई दुई वटा भेन्टिलेटर उपलब्ध गराएको छ।

जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईका अनुसार सोमवार कोरोना संक्रमण पुष्टि भएका अर्जुनधारा नगरपालिकाका ४ र बिर्तामोड नगरपालिकाका एक गरी ५ जनालाई मेची अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ। 

कोभिड–१९ बाट ग्रस्त भएकाहरूका लागि प्रदेश १ मा मोरङको विराटनगर स्थित कोशी अस्पताल अन्तर्गतको कोभिड १९ उपचार केन्द्र र गोठगाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालयमा उपचार जारी छ।

सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कोभिड अस्पतालमा पनि कोभिडका बिरामीले उपचार पाइरहेका छन्।

पूर्वमा कोरोनाले ग्रस्तहरूको सङ्ख्या बढ्दै गएपछि झापामा उपचार थालिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

झापामा अहिलेसम्म कोरोनाबाट ३ सय ७५ जना सङ्क्रमित भइसकेका छन्। जसमध्ये उपचारपछि ३ सय १२ जना घर फर्किएका छन्। यस जिल्लामा विदेशबाट आएकाबाहेक ३ जना स्थानीय र ३६ जना सुरक्षाकर्मीमा संक्रमण देखिएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell