बिहार सरकारले बलिउड अभिनेता सुशान्तसिंह राजपुत आत्महत्या प्रकरणमा केन्द्रीय अन्वेषण ब्यूरो (सिबीआई) जाँच गर्न सिफारिस गरेको छ।
सुशान्तका पिता केके सिंहले मंगलवार भेटेरै सिबीआई जाँचको माग गरेपछि बिहारका मुख्यमन्त्री नितीश कुमारले केन्द्र सरकारलाई सिफारिस पत्र पठाएका हुन्।
सुशान्तको मुद्दामा सिबीआई जाँचका लागि मुम्बईसहित देशभरबाट माग उठिरहेको छ। मुम्बई प्रहरीको अनुसन्धानमाथि भने प्रश्न उठिरहेको छ।
सुशान्तका पिताले पटना प्रहरीमा प्रेमिका रिया चक्रवर्तीविरुद्ध माया जाल फसाएर पैसा हडपेको र मर्न बाध्य पारेको आरोप लगाउँदै उजुरी दिएका छन्।
उजुरीपछि अनुसन्धानमा जुटेको बिहार पुलिसले मुम्बईमा सहयोग पाएन्। मुम्बई प्रहरी अधिकारीले सहयोग गरेनन्। अनुसन्धानका लागि मुम्बई पुगेका सिनियर एसपीलाई पुगेकै दिन मध्यरातमा जबरजस्ती क्वारेन्टाइनमा राखियो।
यस्तो अहसयोगका बीच दुबै राज्यका पुलिसबीच आरोपप्रत्यारोप चलिरहेको छ। राजनीतिक तहमा पनि तिक्तता बढ्दै गएको छ।
डीआईजी पठाउँदै बिहार पुलिस
सिनियर एसपीलाई जबरजस्ती क्वारेन्टाइनमा राखिएपछि बिहार पुलिसले अनुसन्धानका लागि अब डीआईजी तहमा प्रहरी टोली मुम्बई पठाउने भएको छ।
बिहार पुलिसका डिजीपी गुप्तेश्वर पाण्डेले मुम्बई पुलिसको रवैयाप्रति असन्तुष्टि जनाउँदै छानविनको लागि डीआईजी तहमा अधिकारीहरु मुम्बई पठाउने तयारीमा छन्। डीआईजीद्वय मनु महाराज र विकास वैभवको नेतृत्वमा स्थल मार्गबाट प्रहरी टोली आफ्नै गाडीमा मुम्बई जानेछ।
डिजीपी पाण्डेले सरकारले मुद्दा सिबीआईलाई दिए आफूहरु हस्तान्तरण गर्न तयार रहेको पनि बताएका छन्।
