PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

जर्ज फ्लोयडको जीवनको अन्तिम क्षण : बाँच्नका लागि याचना गरिरहे, प्रहरीले घाँटी थिचिरहे (भिडियो)



पहिलोपोस्ट

जर्ज फ्लोयडको जीवनको अन्तिम क्षण : बाँच्नका लागि याचना गरिरहे, प्रहरीले घाँटी थिचिरहे (भिडियो)

जर्ज फ्लोयडले जीवनका लागि अमेरिकी प्रहरीसँग याचना गरेको भिडियो सार्वजनिक भएको छ। प्रहरीको बडीक्याममा रेकर्ड भएको उक्त भिडियोमा उनले आफ्नो ज्यान जोगाउन गरेको आग्रह र प्रयत्न देख्न सकिन्छ।

प्रहरीले उनलाई गिरफ्तार गरेलगत्तै बन्दुक तेर्स्याउँदै गाडीबाट बाहिर निकाल्छन्। फ्लोयडले पटकपटक बन्दुक तल गर्न आग्रह गर्छन् तर मान्दैनन्। उनी प्रहरीको हात समातेर रुन्छन्। हातमा ढोग्छन् तर जबरजस्ती निकालिन्छन्। उनको हातमा हत्कडी लगाउँछन् र गाडीको पछिल्‍लो भागमा राख्छन्।

भिडियोमा अन्य प्रत्यक्षदर्शी पनि देखिन्छन्। उनीहरूले हेर्दाहेर्दै, केही मिनेटमै फ्लोयड तत्कालिन प्रहरी अधिकारी डेरेक चाउविनको घुँडामूनी शव बन्छन्। किनकि ती अधिकारीले करिव ८ मिनेट फ्लोयडको घाँटीमा घुँडाले थिच्छन्। फ्लोयडले भिडियोमा भनेका छन् – मलाई सास फेर्न गाह्रो भइरहेको छ। तर, प्रहरीहरू उनको कुरा सुन्दैनन्। बरु मारिदिन्छन्।

संलग्न चाउविनलाई दोस्रो डिग्री मर्डरको आरोप लागेको छ। उनीसँगै अन्य तीन  अधिकारियों, तू थाओ, थोमस र जे पनि गिरफ्तार भएका छन्। साथै भिडियोमा देखिएकामध्य एक अलेक्जेन्डर कुंगलाई पनि घटनामा सहयोग पुर्‍याएको आरोप लागेको छ।

यसरी प्रहरी क्रुरताको शिकार बनेका ४६ वर्षे अफ्रिकी-अमेरिकी फ्लोयडका तीन छोराछोरी छन्। कोभिड-१९ आउटब्रेकका कारण रेस्टुरेन्टको जागिर गुमाएका उनी गैरकानुनी काममा लाग्न बाध्य थिए। उनविरुद्ध नक्कली नोट प्रयोग गरेको आरोप छ। चुरोट किन्न नक्कली नोट प्रयोग गरेपछि पसलका मालिकले उनीविरुद्ध प्रहरीमा उजुरी दिएका थिए।

उनको शवको पोस्टमार्टम गरेका ‘मेडिकल एक्जामिनर’ले फ्लोयडको मृत्यु शरीरमा अक्सिजनको कमीले भएको पुष्टि गरेका छन्। मेडिकल एक्जामिनरले फ्लोयडमा कोरोना भाइरसको संक्रमण रहेको पनि पुष्टि गरे।

फ्लोयडको हत्यासँगै अफ्रिकी-अमेरिकी समूदायका मानिसविरुद्ध हुने हिंसा र विभेदविरुद्ध आन्दोलन चर्कियो। अश्वेतहरूको जीवनले पनि अर्थ राख्न भन्ने नारासहित विश्वभर आन्दोलन चर्कियो।  

एक तथ्यांकअनुसार मिनियापोलिस प्रहरीले गोरा वर्णका मानिसहरुको तुलनामा अफ्रिकी-अमेरिकी समुदायका मानिसहरुमा सात गुणा बढी बल प्रयोग गर्ने गरेको छ। २० प्रतिशत अफ्रिकी-अमेरिकी समुदायका मानिसहरु रहेको मिनियापोलिस शहरमा प्रहरीले बल प्रयोग गरेका ६० प्रतिशत घटनामा अफ्रिकी-अमेरिकी समुदायकै मानिसहरु पर्ने गरेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell