काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञहरुसँगको छलफलमा समेत पार्टीका नेताहरुको आलोचना गरेका छन्।
बालुवाटारमा मंगलबार आयोजित विज्ञहरुसहितको भेलामा प्रधानमन्त्री ओलीले नेकपाकै नेताहरुले कोरोना भाइरस संक्रमणको जोखिमलाई गम्भिर ढंगले नलिएको भन्दै गुनासो गरेका हुन्।
उनले संकटको बेलामा गैरजिम्मेवार ढंगले प्रस्तुत भएको आरोप लगाउँदै आफ्नै पार्टीका नेताहरुको कार्यशैलीप्रति असन्तुष्टि जनाएका हुन्।
ओलीले आफ्नै पार्टीका नेताहरु मुलुकको संकटप्रति लापरवाही, जनताप्रति उदासिन हुँदै स्वार्थका पछाडि कुदेको टिप्पणीसमेत गरे।
प्रधानमन्त्री ओलीले सरकारले कोरोना भाइरसका कारण २५ जनाभन्दा बढी भेला नहुन निर्देशन दिए पनि पार्टीको केन्द्रीय कमिटी बैठक माग गरेको भन्दै आपत्ति जनाएका हुन्। उनले स्थायी कमिटी बैठक तुरुन्तै बस्नुपर्यो भन्दै माग गरेको भन्दै आक्रोश पोखे। त्यसो त प्रधानमन्त्री ओलीले नै केही अघि आफ्नो समर्थनमा युवाहरुलाई सडकमा उत्रिन निर्देशन दिएका थिए। उनकै निर्देशनअनुसार उनको पक्षमा नारावाजीसमेत भएको थियो।
'केही मानिस, केही माध्यम र केही संस्थाहरुमा अत्यन्तै गैह्र जिम्मेवार देखिन्छ। देश संकटमा भएका बेला सरकार यथार्थमा भन्दा अन्त बुझ्न गइरहन पर्दैन मेरै पार्टीमा देखिन्छ,' ओलीले भने, 'सरकारले २५ जनाभन्दा बढी भेला नहुन भनेको छ। तर मेरै पार्टीमा ४५० को केन्द्रीय कमिटी तुरुन्त चाहियो भनेको छ। कहाँ बस्ने हो? के गर्ने हो? त्यस्तो सोच केही पनि छैन। तर, बैठक चाहिँ चाहियो भन्ने कुरा त मेरै पार्टीमा छ। स्थायी कमिटी अहिले नै बस्नुपर्यो, भरे बस्नुपर्यो।'
असार १० गतेदेखि सुरु भएको नेकपा स्थायी कमिटी बैठक टुंगोमा पुग्न सकेको छैन। पटकपटक स्थगित हुँदै आएको बैठक ओलीले साउन १३ गते एकतर्फी रुपमा स्थगित गरेका थिए। सोही दिन प्रचण्डले बैठक चलाएका थिए। ओली पक्षले प्रचण्डले चलाएको बैठकलाई गुट भेला भन्दै आएको छ। स्थायी कमिटी सदस्यहरु बैठक छिट्टै बस्नुपर्ने माग राख्दै आएका छन्। त्यस्तै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्थायी कमिटी बैठक सुरु गर्नुपर्ने बताउँदै आएका छन्।
सोमवार ओलीसहित वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ साक्षी रहेको छलफलमा प्रचण्डले स्थायी कमिटी बैठक सुरु गर्नुपर्ने धारणा राखेका थिए। स्थायी कमिटी बैठकबाटै पार्टीको किचलो समाधान गर्नुपर्ने उनको भनाइ थियो। तर, प्रधानमन्त्री ओलीले सचिवालय बैठकबाटै विवाद समाधान गरेर जानुपर्ने बताएका थिए। कुरा नमिलेपछि ओली प्रचण्डबीच आज पनि छलफल हुँदैछ।
स्थायी कमिटी बैठकमा विवाद गिजोलिएको भन्दै १५२ केन्द्रीय कमिटी सदस्यहरुले बैठकका लागि लिखित माग गरेका छन्। उनीहरुले केन्द्रीय कार्यालयका सचिवमार्फत् अध्यक्षद्वयलाई हस्ताक्षरसहितको पत्र बुझाएका हुन्। स्थायी कमिटीबाट विवादको टुंगो लाग्ने छाँट नभएको भन्दै प्रचण्ड-वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष केन्द्रीय कमिटीमा जानुपर्ने पक्षमा छन्। ओली केन्द्रीय कमिटी बोलाउन आनाकानी गरिरहेका छन्।
छलफलमा उनले संकटको बेलामा केही सञ्चारमाध्यमले सरकारका जुनसुकै कदमप्रति विरोधको शैली अपनाएको आरोप लगाए। उनले सकारले जस्तो सुकै काम गर्दा पनि विरोध जनाएको भन्दै आप्पति प्रकट गरे। मिडियाप्रति उनी कहिल्यै पनि सकारात्मक सुनिएका छैनन्। आज त्योक्रम पुन: दोहोरिएको थियो।
'देश यस्तो संकटमा भएका बेला यसलाई एउटा सरकारको विरोध गर्ने माध्यमले जता पल्टाए पनि विरोध, उता पल्टाए पनि विरोध गर्ने,' आक्रोशित हुँदै उनले भने, 'कहिले क्वारेन्टाइनमा राख्यो भन्ने, किन राख्यो भन्ने, राखेन भने किन राखेन भन्ने, लकडाउन गरेन भने किन गरेन, भन्ने लकडाउन गर्यो भने किन गर्यो भन्ने, अनि मान्छे उचाल्ने मान्छे भड्काउने ।'
हाल प्रहरीलाई कोरोना संक्रमण बढिरहेको छ। त्यसबारे ओलीले भने, 'प्रहरीलाई किन संक्रमण भएको छ भन्दा उनीहरु सडकमा गएका छन्। संक्रमित मान्छेहरुसँग उनीहरु डिल गर्नुपरेको छ। अनेक कामहरुमा उनीहरु छन्। त्यस्ता कामहरुबाट उनीहरु संक्रमितहरु भइराखेका छन्। ड्युटीका क्रममा संक्रमित भइरखेका छन् । रेस्क्यु गर्न जाँदा संक्रमित भएर आएका छन्। अहिलेको मौसम पानी परेको छ, बाढी आएको छ। बाढी गएको, पहिरो गएको ठाउँमा तत्काल सरकारले थाहा पाउने वित्तिकै जोखिमका साथ रेस्कयु टिम गएको छ।'
'अरुले पनि सहयोग गरेका छन्। तर बौद्धिक जगतको टिप्पणीहरु सुन्छु कहाँ छ सरकार? काठमाडौंमा बसेर टेलिभिजनको पर्दा अगाडि क्यामरा अगाडि बसेर कहाँ छ सरकार भन्दा कता देखाउने? त्यो रेस्क्यु गएको ठाउँमा हेर्नुपर्यो सरकार छ कि छैन? त्यहाँका जनतालाई सोध्नुपर्यो सरकार छ कि छैन। सरकारले जहिले पनि तदारुकताका साथ ज्यान जोखिममा राखेर सरकारी मान्छेरु त्यहाँ खटेका छन रेस्क्यु गरेको छ। रिलिफ पुर्याएको छ।'
प्रधानमन्त्री ओलीले संक्रमणको गतिलाई रोक्दै शून्यमा पुर्याउनुपर्ने अहिलेको आवश्यकता भएको बताए। संक्रमित सबै व्यक्तिहरुलाई निको बनाएर घर पठाउँदै कोभिडको अन्त्य गर्नुपर्ने उनले बताए। ओलीले खुला सीमाना र विदेशबाट मान्छे आउने क्रम नरोकिँदासम्म संक्रमणको अवस्था भयावह नै रहने चेतावनी समेत दिए।
२० जनाभन्दा बढी विज्ञ सहभागी छलफलमा प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर सहभागी थिए।
