PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

कोशी अस्पतालका तीन जना कर्मचारीसहित विराटनगरमा थपिए ११ जना संक्रमित



फूलमाया पुरी

कोशी अस्पतालका तीन जना कर्मचारीसहित विराटनगरमा थपिए ११ जना संक्रमित

विराटनगर : विराटनगर महानगरपालिकामा आज ११ जना नयाँ कोरोना भाइरसका संक्रमित थपिएका छन्। प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार आज विराटनगरमा थप ११ जनामा कोरोना पुष्टि भएको हो।

कोशी अस्पतालका अर्थोमेडिक्स वार्डका दुई जना स्टाफ नर्स र एक जना सफाइ कर्मचारीमा कोरोना संक्रमण देखिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासले बताए।

मेसु डा दासका अनुसार आज पुष्टि भएका संक्रमित सबैको १८ गते स्वाब संकलन गरिएको थियो। अस्पतालका ११ जना कर्मचारी कोरोना संक्रमित भएका छन्।

संक्रमितको संख्या थपिएसँगै आइसोलेसन वार्डको अभाव हुन थालेकाले थप चुनौती भएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणी पोखरेल बताउँछन्।

समुदायस्तरमा कोरोना संक्रमण फैलिएको भन्दै विराटनगर गत शनिवारदेखि लकडाउनमा फर्किएको छ। सोसँगै परीक्षणको दायरा पनि बढाइएको छ।

‘पीसीआर परीक्षण बढाएसँगै संक्रमितको संख्या बढ्न थालेपछि व्यवस्थापनमा चुनौती थपिएको छ’, पोखरलले भने, ‘लकडाउन त गरियो तर समुदाय सचेत भइ स्वास्थ्य सुरक्षा नअपनाउँदा जोखिम नियन्त्रण गर्न कठीन छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell