काठमाडौँः लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टलाई नियुक्ति गरेको विषयमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच विमति देखिएको छ। मंगलबार साँझ बालुवाटारमा पार्टी विवादबारे छलफल गर्न बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भट्टलाई नियुक्ति गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्टि जनाएका हुन्।
यस्तै, नियुक्तिप्रति वरिष्ठ नेता झलनाथ खनालले पनि असन्तुष्टि जनाए।
सोमबारको मन्त्रिपरिषद् बैठकले भट्टलाई सिइओ नियुक्ति गरेको थियो। नियुक्तिप्रति आलोचना भइरहेको छ।
बालुवाटारमा भएको छलफलमा प्रचण्डले प्रधानमन्त्री ओलीलाई पार्टीमा छलफल नगरी विवादित व्यक्ति नियुक्ति किन गरिएको भन्दै प्रश्न समेत गरेको स्रोतले बतायो।
‘विवादित मान्छेलाई किन नियुक्ति गर्नुभयो? हामीसँग किन कुरा गर्नुहुन्न? यस्ता नियुक्तिबारे पार्टीमा किन परामर्श हुन्न? ओलीसँग प्रचण्डले प्रश्न गरे।
स्वेच्छाचारी रुपमा प्रधानमन्त्रीले विवादित व्यक्तिलाई नियुक्ति गरेको पनि बैठकमा प्रचण्डले बताए। प्रधानमन्त्री ओलीले भने अबका नियुक्तिमा छलफल गर्ने बचन दिएको स्रोतको भनाई छ।
पार्टी विवादबारे छलफलका लागि भने बुधबार साँझ ५ बजे पुनः बैठक बस्ने सहमति दुई अध्यक्षबीच भएको छ। मंगलबार पनि प्रचण्डले ओलीलाई स्थायी समितिलाई निरन्तरता दिन माग गरेका छन्। यस विषयमा ओलीले ठोस जवाफ नदिएको स्रोत बताउँछ।
छलफलमा अध्यक्षद्वयसँगै वरिष्ठ नेता खनाल तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ पनि सहभागी थिए।
