PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

कोरोना संक्रमितहरु आफ्नै निजी सवारी साधनबाट अस्पताल पुग्दा मच्चियो भागदौड



राधेश्याम पटेल

कोरोना संक्रमितहरु आफ्नै निजी सवारी साधनबाट अस्पताल पुग्दा मच्चियो भागदौड

वीरगंज : नारायणी अस्पताल मातहत वीरगंजमा सञ्चालनमा रहेको गण्डक कोभिड अस्पतालमा मंगलवार दिनभर चिकित्सकदेखि स्वास्थ्यकर्मी सम्म भागदौड मच्चियो। कारण कोरोना संक्रमितहरु भटाभट आफ्नै निजी सवारी साधनबाट अस्पताल पुग्न थाल्नु।

दिनको सवा १ बजेका थियो। वीरगंजका एक जना डाक्टर र उनका बुवा आमा गरी तीन जना संक्रमितहरु आफ्नै कारबाट अस्पतालको परिसरमा ओर्लेपछि सुरक्षागार्डदेखि स्वास्थ्यकर्मी सबै चकित बनेका थिए।

गाडी अपरिचित थियो। गाडीबाट ओर्लेर आफूहरु कोभिड-१९ का संक्रमितहरु भएको बताएपछि गेटमा खटिने सुरक्षाकर्मीदेखि आकस्मिक कक्षका चिकित्सक स्वास्थ्यकर्मी समेत आश्चर्यमा पर्दा भागदौड मच्चिएको थियो। त्यसपछि केही बेरमा स्वास्थ्यकर्मीहरु पीपीई लगाएर कारबाट ओर्लेका संक्रमतिलाई आइसोलेसन वार्ड तर्फ लगे।

मंगलवार नै वीरगंज-१७ का एक जना अन्य भीआइपी संक्रमित पनि आफ्नै कारबाट अस्पताल पुगेको गण्डक कोभिड अस्पतालका चिकित्सक डा निरजकुमार सिंहले जानकारी गराए। त्यसैगरी, नारायणी अस्पतालका एक जना संक्रमित एम्बुलेन्स चालक पनि एम्बुलेन्स चलाएर नै सिधा गण्डक कोभिड अस्पताल पुगेका थिए।

वीरगंज-१२ मुर्लीका वडा अध्यक्ष रामदरश कुशवाहामा पनि सोमवार राति संक्रमण पुष्टि भएपछि बिहानै निजी मोटरसाइकल हाँक्दै गण्डक कोभिड अस्पताल पुगेको डा सिंहले बताए। हाल गण्डक कोभिड अस्पतालमा १४ महिलासहित ६१ संक्रमित उपचाररत रहेका छन्। जसमध्ये ५ जना आइसीयूमा छन्।

त्यसैगरी, वीरगंज हेल्थकेयर अस्पतालमा ७ महिलासहति ४८ जना संक्रमित उपचाररत छन्। हेल्थकेयरमा ४ जना आइसीयू रहेका गरी दुवै अस्पतालमा कुल ९ जना संक्रमितको अवस्था संवेदनशील रहेको हुँदा आइसीयूमा राखी अक्सिजन दिइएको डा सिंह बताउँछन्।

किन आयो कारबाट अस्पताल पुग्ने अवस्था?

वीरगंजमा कोरोना महामारी समुदायस्तरमा फैलिएपछि आवश्यक पूर्वतयारी तथा सरोकारवाला निकायबीच उचित समन्वय र व्यवस्थापन नहुँदा यस्तो समस्या शुरु भएको बताइएको छ। कुन अस्पतालमा कहाँबाट कसरी संक्रमित आइ हाल्छन्, त्यसको कुनै ग्यारेन्टी नरहेको चिकित्सकहरुले बताएका छन्।

‘वीरगंजमा जिल्ला प्रशासन कार्याल्य पर्सा, वीरगंज महानगरपालिका र स्वास्थ्य कार्यालय पर्सा बीच उपयुक्त समन्वयको कमीले संक्रमित सडकमै घुमिरहेका छन्’, कोभिड अस्पतालका चिकित्सक डा निरजकुमार सिंहले भने, ‘संक्रमितको व्यवस्थापन नहुँदा भोलि घरघरमै मानिस मर्न थालेपछिको अवस्था पनि परिकल्पा गरे हुन्छ।’

उनले वीरगंजको विभिन्न वडामा डेढ सय भन्दा बढि संक्रमित होम आइसोलेसनमा रहेको बताए। उनीहरुहरुको उचित अनुगमन हुन सकेको छैन। कसको हालखबर कस्तो छ, कसको अवस्था कस्तो छ, कसलाई एम्बुलेन्स चाहिएको छ? प्रशासनले हालसम्म कुनै व्यवस्थापन मिलाउन सकेको छैन।

घरमै कतिपय संक्रमित खोकी र निमोनियाबाट पनि ग्रसित भएको चिकित्सकहरुलाई फोन आउने गरेको छ। संक्रमितहरुलाई एक्सरे गराउने एउटा ल्याब तोकिएको छैन। गम्भीर बिरामीलाई अस्पताल पुर्‍याउने एम्बुलेन्सको टोल फ्री नम्बर सार्वजनिक गर्नु पर्ने बेलामा प्रशासन, महानगर, स्वास्थ्य कार्यालय एक अर्कालाई आरोपप्रत्यारोपमा मात्र मस्त रहेको उनको बुझाइ छ।

पर्साको वीरगंजका दुई कोभिड अस्पतालमा हाल १०६ जना संक्रमित, वीरगंजका विभिन्न सेमिआइसोलेसनमा ६५ जना संक्रमित र वीरगंजमा १६२ जना, सखुवाप्रसौनीमा २ जना, बुहदारमाई नपामा १ जना गरी कुल १६५ जना होमआइसोलेनमा रहेका छन्। तीन वटै संख्या जोड्ने हो भने २३६ जना संक्रमित हाल पर्सामा रहेका छन्।

यहाँ १३ जनाको ज्यान गएको छ भने १६९ जना निको भएर घर फर्केका छन्। बारा, रौतहट सर्लाहीका गरी ८६ जना संक्रमित वीरगंजमा उपचार गराई घर फर्केका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell