लेबनानको राजधानी बेरुत हल्लाउने गरी भएको विस्फोटमा परी कम्तिमा ७८ जनाको मृत्यु र ३ हजार ७ सय मानिस घाइते भएका छन्। बेरुतको बन्दरगाह नजिकै भएको विस्फोटले शहरमा कम्प महसुस भएको थियो जसले ठूलो जनधनको क्षति पुर्याएको छ। मृत्यु हुनेको संख्या अझ बढ्ने अनुमान गरिएको छ।
शहरको बन्दरगाह क्षेत्रमा विस्फोट भएको हो। विस्फोटको कारण खुलेको छैन। तर, विस्फोटक पदार्थ शक्तिशाली थियो। सुरक्षा निकाय अनुसन्धानमा जुटिसकेको छ। तर, लेबनानका गृह मन्त्री मोहम्मद फहिमले समुन्द्री किनारामा विस्फोटकको गोदाम हुनु नै दुर्घटनाको कारण हुनसक्ने बताएका छन्।
विस्फोटमा धेरै मानिस घाइते भएकाले अस्पताल पुर्याउन र उपचारको प्रवन्ध गर्न समेत हम्मेहम्मे परेको थियो।
लेबनानका राष्ट्रपतिमिचेल आवोनले दुई साता लामो संकटकालको घोषणा हुनुपर्ने बताएका छन्। त्यसका लागि मन्त्रिपरिषदको बैठक डाकेका छन्।
२ हजार ७ सय ५० टन एमोनियम नाइट्रेट असुरक्षित तरिकाले ६ वर्षदेखि राखिदै आउनुलाई राष्ट्रपति आवोनले गलत भएको बताउँदै दोषीलाई कारवाही गरिने जानकारी गराएका छन्। उनले ट्विट गर्दै यस्तो प्रतिक्रिया दिएका हुन्।
त्यहाँ रहेको अमेरिकी दूतावासले मानिसहरुलाई मास्क लगाउन र मिलेसम्म घरभित्रै रहन भनेको छ। किनकि विष्फोटसँगै दुषीत ग्यास बाहिरिएको छ।
लेबनानका प्रधानमन्त्री हसान दिएबले मित्र राष्ट्रहरुलाई सहयोगका लागि आग्रह गरेका छन्। कोभिड १९ को संकट बेहोरिरहेको मुलुकमा भएको विस्फोटले थप संकट निम्त्याएको छ।
