PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

अयोध्यामा आज हुँदै राम मन्दिरको भूमि पूजा, हिन्दुत्वको राजनीतिमा मोदीको जित



पहिलोपोस्ट

अयोध्यामा आज हुँदै राम मन्दिरको भूमि पूजा, हिन्दुत्वको राजनीतिमा मोदीको जित

लखनउ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज राम मन्दिरको भूमी पूजा गर्दैछन्। अयोध्यामा बन्न लागेको राम मन्दिर भारतको राजनीतिको केन्द्रमा रहँदै आएको छ। हिन्दुत्वको अभियानसहित मोदीको चुनावी मुद्दा बनेको राम मन्दिर निर्माणसँगै भारतीय जनता पार्टी नयाँ चरणमा प्रवेश गर्नेछ।

अयोध्यामा राम मन्दिर बनाउनका लागि भारतको सर्वोच्च न्यायालयले फैसला सुनाएको १० महिनापछि निर्माण कार्यको पहिलो प्रकृया अगाडि बढ्न लागेको हो। सन् १९८० को दशकको आखिरबाट सुरु भएको राम मन्दिर र मस्जिदको राजनीति लामो अदालती प्रकृयाबाट टुंगोमा पुगेको थियो। राम मन्दिरकै विषयलाई लिएर भारतमा जातीय हिंसा पटकपटक भड्किएको थियो भने धेरैले यसैको विषयलाई लिएर ज्यान गुमाएका छन्।

राम मन्दिर निर्माणसँगै भाजपाको राजनीतिमा हिन्दुत्वले मुलधार समात्ने अपेक्षा गरिएको छ।

सन् १९९२ मा बाबरी मस्जिद भत्काइएको थियो। बाबरी मस्जिद हुनुअघि त्यहाँ राम मन्दिर रहेको दावी हिन्दुहरुको थियो। र, बाबरी मस्जिद तथा राम मन्दिर भारतको हरेक चुनावी अभियानको एजेन्डा बन्दै आएको थियो।

न्यायालयको फैसलासँगै भारत केन्द्र सरकार र उत्तर प्रदेश सरकारले राम मन्दिर निर्माणका लागि धेरै पहिलेदेखि मेहनत गर्दै आएका छन्। योगी आदित्यनाथको सरकारले यसलाई विशेष प्राथमिकतामा राखेको थियो।

आज हुने शिलन्यासका लागि मात्रै अयोध्यामा ३ हजार ५ सय सुरक्षाकर्मी परिचालन गरिएको छ। कोरोना भाइरसको महामारीकै बीच धार्मिक राजनीति गर्दै आएको मोदी सरकारले मन्दिर निर्माणको थालनी गर्ने भएको हो। उत्तर प्रदेशको अयोध्या जिल्लासँग जोडिएका अरु जिल्लाका सीमा बन्द गरिएको छ।

प्रधानमन्त्री मोदी लखनउ हुँदै ११:३० मा राम जन्मभूमि पुग्ने बताइएको छ। भूमि पूजा १५ मिनेटको मात्र हुने बताइएको छ। १२:३० देखि १२:४५ बजेसम्म पूजा सकिने छ। यो समारोहमा १ सय ७५ जनालाई निम्त्याइएको छ। मोदीसँगै उत्तर प्रदेशका गभर्नर आनन्दिविन पटेल, मुख्यमन्त्री आदित्यनाथ, आरएसएस प्रमुख मोहन भागवत, मन्दिर ट्रस्टका अध्यक्ष नृत्य गोपाल दास यसमा सहभागी हुनेछन्।

आजै मोदीले पारिजातको विरुवा पनि रोप्ने कार्यक्रम छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell