PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

‘नि:शुल्क शिक्षा कमजोर होइन, सामुदायिक विद्यालयको गुणस्तर सुधारे निजी आफै बन्द हुन्छन्’



पहिलोपोस्ट

‘नि:शुल्क शिक्षा कमजोर होइन, सामुदायिक विद्यालयको गुणस्तर सुधारे निजी आफै बन्द हुन्छन्’

काठमाडौं : काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सामुदायिक विद्यालयले चुम्बकीय गुणको विकास गरेर संस्थागत विद्यालयको भन्दा गुणस्तयरीय शिक्षा दिने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका छन्। ज्ञानोदय माध्यामिक विद्यालयमा नेपाल सरकारको सहयोगमा सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रालाई निःशुल्क स्यानिटरी प्याड वितरणको शुभारम्भ कार्यक्रमलाई सम्वोधन गर्दै उनले यस्तो बताएका हुन्।

‘निजी क्षेत्रका विद्यालयले जसरी विद्यार्थी र अभिभावकलाई आकर्षित गरिरहेको छन् अब त्यसैगरी विस्तारै सामुदायिक विद्यालयले पनि चुम्बकीय गुणको विकास गर्नुपर्छ,’ शाक्यले भने, ‘संस्थागत विद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो भनेर गुनासो गर्ने होइन त्यो भन्दा राम्रो र गुणस्तरीय शिक्षा दिएर तपाईँहरु (विद्यार्थी) को भविश्य हामी बनाई दिन्छौँ भन्ने ग्यारेण्टी सामुदायिक विद्यालयले दिन सक्नुपर्छ। त्यो भयो भने सामूदायिकमा स्वत विद्यार्थीको चाप बढ्ने छ।’

सबै सामुदायिक विद्यालयमा सरकारले निशुल्क शिक्षाको व्यवस्था गरेको स्मरण गराउँदै शाक्यले निशुल्क शिक्षाको अर्थ कमजोर शिक्षा नभएको प्रष्ट पारे। ‘हामीले खोजेको कमजोर होइन गुणस्तरीय र उत्कृष्ट शिक्षा हो। संस्थागत विद्यालयले दिने भन्दा पनि अझ उत्कृष्ट र गुणस्तरीय शिक्षा सामुदायिक विद्यालयले दिन सक्नुपर्छ,’ उनले भने, ‘सामुदायिक विद्यालयले संस्थागत विद्यालयको भन्दा गुणस्तरीय शिक्षा दिने वातावरण सिर्जना गर्ने हो भने संस्थागत विद्यालय स्वत बन्द हुन्छन्।’

संघीय, प्रदेश र स्थानीय सरकारमा रहेका जनप्रतिनिधि र अभिभावकहरुको जिम्मेवारी र दायित्व संस्थागत विद्यालयलाई बन्द गर्ने नभई संस्थागत विद्यालयसँग प्रतिस्पर्धा गर्न सक्ने सामुदायिक विद्यालय निर्माण गर्नु भएको पनि उनले बताए।

‘काठमाडौँ महानगरपालिका स्थानीय सरकार भएको नाताले भौतिक पूर्वाधार, शिक्षक–शिक्षिकालाई दिइने तालिम लगायतका लागि तयार छ,’ उनले भने, ‘हामीले सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न सक्यौँ भने संस्थागत विद्यालय स्वत कमजोर भएर जान्छन्। हामी बजारमा केही बस्तु किन्न जाँदा कसैले गुणस्तरीय बस्तु सस्तोमा दियो भने महंगोमा किन्न जाँदैनौँ, शिक्षा पनि त्यहि हो।’

उनले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुले पनि संस्थागत विद्यालयलाई निषेध होइन, मेरो विद्यालयमा अध्ययनरत विद्यार्थीको भविश्यको जिम्मा म लिनसक्छु भन्ने ध्येयका साथ पढाएर विद्यार्थी र अविभावकलाई पनि विश्वस्त बनाउनु पर्नेमा जोड दिए।

‘विद्यालय शिक्षा हाम्रो काँधमा आइसकेपछि विद्यालय सुधारका केही प्रयासहरु हामीले गरेका छौं। भित्रि सुधारको पाटो शिक्षक–शिक्षिकाकै हो,’ उनले भने, ‘शिक्षा समिति, विभाग र नगरसभाले निर्णय गरेर काठमाडौँ महानगरपालिका क्षेत्र भित्रका सम्पूर्ण सामूदायिक विद्यालयको भौतिक पूर्वाधार निर्माणको जिम्मा हामीले लिएका छौँ।’

उनले त्यसमध्ये सबै विद्यालयमा रंगरोगनको काम करीब सम्पन्न गरेको जानकारी दिए। ‘शौचालय नभएका ठाउँमा हामीले शौचालय बनाई दिन्छौँ भनेका छौँ, सङ्ख्या थप्नु पर्छ भने थप्नुहोस् भनेका छौँ,’ उनले भने, ‘भएकालाई सुधार गर्नुपर्छ भने गर्नुहोस् भनेका छौँ।’ वर्षाका बेला हिलो र घाँम लाग्दा धुलो उड्ने अबस्था नहोस् भनेर विद्यालय हाताभित्र मैदान बनाउनेलगायतका काम पनि महानगरपालिकाले गरेको जानकारी दिए। ‘हरेक विद्यालयमा वृक्षारोपन गर्नुहोस् भनेर हामीले बजेट विनियोजन गरेका छौँ,’ उनले भने, ‘ हामीले विभिन्न विद्यालयलाई प्राविधिक शिक्षाका लागि पनि बजेट विनियोजन गरेका छौँ।’

काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष ०७७/०७८ का लागि बालमैत्री चित्र तथा महावाणी लेखन, लैंगिक तथा अपाङ्गमैत्री शौचालय निर्माण, सार्वजनिक पुस्तकालय तथा वाचनालयको स्तरोन्नति, प्राविधिक शिक्षा कार्यक्रम, आविस्कार क्लब स्थापना, सिटी पुस्तकालय स्थापनालगायतका शीर्षकमा बजेट विनियोजन गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell