बलिउड अभिनेता सुशान्तसिंह राजपुत आत्महत्या प्रकरणमा अब केन्द्रीय अन्वेषण ब्यूरो (सिबीआई)ले अनुसन्धान गर्ने भएको छ।
नरेन्द्र मोदी नेतृत्वको सरकारले सुशान्तको मुद्दा सिबीआईलाई हस्तान्तरण गरेको छ। मंगलवारमात्रै नितीश कुमार नेतृत्वको बिहार सरकारले सिबीआई जाँचका लागि केन्द्र सरकारलाई सिफारिस गरेको थियो। उक्त सिफारिसलाई स्वीकार गर्दै केन्द्र सरकारले सुशान्तको मुद्दा सिबीआईलाई जिम्मा लगाएको हो।
सिबीआईलाई अनुसन्धानको जिम्मा दिएको जानकारी सर्वोच्च अदालतमा गराइएको छ। केन्द्र सरकारका वकील तुसार मेहताले सर्वोच्च अदालतलाई सुशान्त मुद्दाको जाँच सीबीआईबाट गराउने बिहार सरकारको सिफारिस केन्द्रले अनुमोदन गरेको जानकारी गराएका हुन्।
सर्वोच्चमा आज आरोपी रिया चक्रवर्तीका वकिलले दिएको निवेदनमा बहस हुँदै थियो। रियाका वकिल श्याम दिवानले बिहारमा दर्ता भएको उजुरी मुम्बई पुलिसलाई हस्तान्तरण हुनुपर्ने माग गर्दै निवदेन दिएका थिए। सिबीआईलाई मुद्दाको जिम्मा दिएपछि अब यो निवेदनमा सुनुवाई हुने छैन।
यससँगै सुशान्तको आत्महत्या प्रकरणमा सिबीआईले सुक्ष्म जाँच गर्नेछ। लामो समयदेखि सामाजिक सञ्जालमा यो मुद्दामा सिबीआई जाँचको माग हुँदै आएको थियो।
सुशान्तको मुद्दामा मुम्बई पुलिस र बिहार पुलिसबीच टकरावको स्थिति नै सिर्जना भएको छ। सुरुदेखि मुद्दा हेरिरहेको मुम्बई पुलिसले कुनै क्लु पत्ता लगाउन नसकेको र बिहार पुलिसलाई अनुसन्धानमा असहयोग गरिरहेको स्थिति थियो। सुशान्तका पिता केके सिंहले पटना पुलिसमा प्रेमिका रिया चक्रवर्तीविरुद्ध विभिन्न आरोप लगाउँदै उजुरी दिएपछि बिहार पुलिसले मुम्बई गएर अनुसन्धान गर्ने प्रयास गरेको थियो। तर, असहयोग भएपछि दुबै पुलिस आरोप प्रत्यारोपमा उत्रिएका थिए।
