PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

लयमा फर्कँदै खेलकुद: स्वास्थ्य सुरक्षामा ध्यान दिँदै टेबल टेनिसको अभ्यास सुरु



पहिलोपोस्ट

लयमा फर्कँदै खेलकुद: स्वास्थ्य सुरक्षामा ध्यान दिँदै टेबल टेनिसको अभ्यास सुरु

काठमाडौं: सरकारले लकडाउन खुकुलो बनाएसँगै अहिले खेलकुद गतिविधिहरु पनि फाट्टफुट्ट सुरु हुन थालेका छन्।

ब्याडमिन्टन, कराँते, बक्सिङ लगायतका खेलका अभ्यासहरु सुरक्षा विधि अपनाउँदै चलिरहेका छन् भने क्रिकेटका खेलाडीहरु पनि ब्यक्तिगत अभ्यासका लागि कीर्तिपुर मैदान जान थालेको धेरै भइसक्यो। यता फुटबलमा पनि विश्वकप छनोट अन्तर्गतका खेलहरु नजिकिँदै गर्दा खेलाडीलाई एन्फाले क्वारेन्टाइनमा बोलाइसकेको छ।

यस्तोमा टेबल टेनिस संघले पनि बुधवारबाट खेलाडीहरुको अभ्यास सुरु गराएको छ। करिब चार महिना लामो लकडाउनका कारण घरेलु अभ्यासमा खुम्चिएका टेबल टेनिस खेलाडी बुधबारबाट अभ्यासमा फर्किएका छन्। कोरोना महामारीका कारण गत चैत ११ गतेबाट जारी भएको लकडाउनका कारण सम्पूर्ण खेलकुद गतिविधिहरु ठप्प भएका थिए।

नेपाल टेबल टेनिस संघले खेलाडीलाई समूह समूहमा विभाजन गरी अभ्यास थालेको संघका अध्यक्ष चतुरानन्द राजवैद्यले बताए। अहिले १६ जना खेलाडीहरुका लागि अभ्यास सुरु गरिएको उनको भनाइ छ।

बुधबारबाट सुचारु भएको अभ्यासमा पहिलो दिन थोरै मात्र खेलाडी अभ्यासमा देखिएका थिए। यद्यपि उपस्थित खेलाडी मख्ख देखिन्थे। फिटनेस र अभ्यासको आवश्यकता ठानेका खेलाडी, संघले गरेको निर्णयमा खुसी त छँदै छन् संघले चालेको कदममा उत्साहित पनि थिए। टेबल टेनिस खेलाडी सोनु थापा मगरले अभ्यासमा फर्कन पाउँदा खुसी लागेको बताइन्।

महामारीले नराम्रोसँग असर पारेको खेलकुदमा सावधानी अपनाउँदै खेलाडीलाई प्रशिक्षण सुरु गरिएको टेबल टेनिस संघका मुख्य प्रशिक्षक सञ्जीव ढुंगेलले जानकारी दिए। राष्ट्रिय खेलकुद परिषदले उपलब्ध गराएका आवश्यक स्वास्थ्य सामग्रीको सहयोगमा खेलाडीहरुको ज्वरो नाप्ने, स्यानिटाइजर प्रयोग गरेर अहिले केही सीमित खेलाडीहरुका लागि अभ्यास सुरु भएको उनको भनाइ छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell