काठमाडौं: भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले दुई देशको सम्बन्धलाई आधुनिक समयअनुसार सुदृढ बनाउनुपर्ने बताएका छन्।
अयोध्यामा राम मन्दिरको शिलान्याशका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको रामसँग आत्मीय सम्बन्ध माता जानकीबाट जोडिएको भन्ने अभिव्यक्तिमा प्रतिक्रिया जनाउँदै राजदूत आचार्यले सम्बन्धलाई बढ्दो सहयोगात्मक र सुदृढ बनाउन राम-जानकीले प्रेरणा दिइरहुन् भन्ने कामना गरेका छन्।
नेपाल र भारतबीच पछिल्लो समय सीमा विवादका कारण सम्बन्धमा तिक्तता आएको छ। लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको सीमा विवाद उत्कर्षमा छ। भारत यो विवाद टुंग्याउन चाहिरहेको छैन। वार्तामा बस्न पनि मानेको छैन। इपिजी प्रतिवेदन बुझ्न मोदीले समय दिएका छैनन्। नेपाली भूमिमा सडक निमार्णको काम पनि रोकेको छैन। विवादका कारण दुई देशबीच सम्वादहिनताको अवस्था रहेका राजदूत आचार्यले सांकेतिक रुपमा भारत र मोदी सरकारलाई राम जानकीले नेपालसँग सम्बन्ध सुदृढ बनाउन प्रेरणा दिउन भन्ने कामना गरेका हुन्।
राजदूत आचार्यले ट्वीटरमा लेखेका छन्, ‘राम–सीतासित जोडिएको दुई देशको निकटता गहिरो र बलियो छ। यी सम्बन्धलाई आधुनिक समयअनुरूप बढ्दो सहयोगात्मक र सुदृढ बनाउन राम-जानकीले प्रेरणा दिइरहुन्।’
सम्बोधनका क्रममा मोदीले नेपालको नाम लिँदै अयोध्यामा राम मन्दिर निर्माणको खबर सुनेर नेपाली नागरिकमा सुखद अनुभूति भइरहेको होला पनि भनेका थिए।
" नेपाल का राम से आत्मीय संबंध माता जानकी से जुडा है।"
— Nilamber Acharya (@nilacharya) August 5, 2020
- अयोध्यामा राममंदिरको शीलान्यासमा भारतका प्रधानमंत्री नरेन्द्र मोदी।
राम-सीतासित जोडिएको दुई देशको निकटता गहिरो र बलियो छ। यी संबंधलाई आधुनिक समयअनुरूप बढ्दो सहयोगात्मक र सुदृढ बनाउन राम-जानकीले प्रेरणा दिइरहुन्।
शुभ होस्।
