PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

विराटनगरमा कोरोनाबाट थप एकको मृत्यु, मृतक व्यस्त बजारका पसले, मोरङमा मर्नेको संख्या ३ पुग्यो



अनन्तराज न्यौपाने

विराटनगरमा कोरोनाबाट थप एकको मृत्यु, मृतक व्यस्त बजारका पसले, मोरङमा मर्नेको संख्या ३ पुग्यो

विराटनगर : कोशी अस्पताल विराटनगरमा बुधवार कोभिड १९ संक्रमणबाट एक जनाको मृत्यु भएको छ।

विराटनगर महानगरपालिका ९ स्थायी ठेगाना भएका ४५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो। उनको मृत्युपछि विराटनगरमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ जना पुगेको छ। यसअघि सोमबार कोशीकै आइसोलेसनमा विराटनगर महानगरपालिका ५ का ७७ वर्षीय वृद्धको मृत्यु भएको थियो।

आज मृत्यु भएका पुरुष विराटनगरको व्यस्त र भिड हुने तरकारी बजार गुदरीका एक पसले भएको बताइएको छ। उनी कलेजोको दीर्घरोगी भएको अस्पतालले जनाएको छ।

उनलाई मंगलबार राति श्वासप्रश्वासमा समस्या भएपछि कोशी अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो।

कोभिड–१९ भएको शंका गर्दै अस्पतालले उनको बुधबार बिहान १० बजे स्वाब संकलन गरेको थियो। दिउँसो ४ बजे रिपोर्ट पोजिटिभ आएको अस्पतालका प्रवक्ता डा. लक्ष्मीनारायण यादवले बताए।

मृतकका आफन्तहरू डाक्टरको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै आक्रोशित छन्। आफन्तले अस्पतालको परिसरमा नाराबाजी गर्दा प्रहरीले नियन्त्रणमा लिएको थियो।

सामाजिक विकास मन्त्रालयका अनुसार कोभिड–१९ का कारण मोरङमा मृत्यु हुने ३ जना पुगेका छन्। यसअघि सुनवर्षी नगरपालिकाका एक पुरुषको मृत्यु भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell