PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

किन बढ्यो सुनको भाउ?



पहिलोपोस्ट

किन बढ्यो सुनको भाउ?

काठमाडौं: लकडाउन खुलेपछि निरन्तर उकालो लागेको सुनको भाउले बुधबार नयाँ रेकर्ड कायम गरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ लाख नाघेको छ। नयाँ रेकर्ड कायम गर्दै आज सुनको भाउ प्रति तोला १ लाख १ हजार ४ सय पुगेको हो। कोरोना महामारीका कारण विश्व अर्थतन्त्रमा पारेको असरका कारण सुन बजारमा लगानी गर्नेहरुको संख्या बढेकाले मूल्य बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मसन्दर बर्जाचार्यले विश्व बजारमा लगानीकर्ताको आकर्षण सुनमा बढेकाले माग बढ्न जाँदा मूल्य वृद्धि भएको बताए। विश्वका ठूला बैंकहरुमा निक्षेप जम्मा भएको अवस्थामा लगानीकर्ताहरुले सुनबजारलाई सुरक्षित क्षेत्रको रुपमा अँगाल्दै लगानी बढाएको उनले बताए।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ आकाशिने क्रम नरोकिएकाले नेपाली बजारमा पनि यसको असर पर्ने देखिन्छ। महासचिव बज्राचार्यका अनुसार केही दिनभित्रै सुनको भाउ नेपालमा १ लाख ३० हजारसम्म पुग्ने आँकलन गरिएको छ। अन्तर्राष्ट्रिय बजारमा २३ सय देखि २५ सय डलरसम्म सुनको मूल्य पुग्ने आँकलन विज्ञहरुले गरेका छन्।

गत वर्ष साउन २१ गते तोलाको ६८ हजार रुपैयाँमा कारोबार भएको भएको थियो। आज सुन एक वर्षपछि तोलामा ३३ हजार ४ सयले बढेको हो। सुनको मूल्य अत्याधिक बढेपछि किन्नेभन्दा बेच्नेको संख्या बढी रहेको व्यवसायीहरुको भनाई छ। बुधबार विश्व बजारमा प्रति आउन्स २ हजार ५५ डलरमा कारोबार भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell