PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

अन्य प्रदेशमा कोरोना संक्रमण बढ्दा कर्णालीमा तीव्र सर्तकता, प्रदेश छिर्दा अनिवार्य पीसीआर रिपोर्ट चाहिने



पी बी खड्का

अन्य प्रदेशमा कोरोना संक्रमण बढ्दा कर्णालीमा तीव्र सर्तकता, प्रदेश छिर्दा अनिवार्य पीसीआर रिपोर्ट चाहिने

सुर्खेत : देशका अन्य प्रदेश र जिल्लाहरुमा लक्षणसहितको संक्रमित फेलापरेसँगै कर्णाली प्रदेश सरकारले थप सतर्कता अपनाउन थालेको छ। प्रदेशले पछिल्लो समय पहिलो चरणको संक्रमणको केस र बिरामीहरु घट्दै गएको अवस्थामा दोस्रो चरणको भाइरस रोकथाम तथा नियन्त्रणका लागि थप योजनासहित तयारी थालेको हो।

अन्य जिल्लाहरुमा संक्रमित र मृतकको दर बढ्दै गएपछि प्रदेशमा दोस्रो चरणको भाइरस भित्रिए कर्णालीमा भयावय अवस्था हुने भन्दै नियन्त्रण गर्न पूर्वतयारी थालिएको हो। अवस्था हेरेर थप लकडाउन गर्ने या कडाइ गर्ने विषयमा समेत छलफल भइरहेको सामाजिक विकासमन्त्री दल रावलले जानकारी दिए।

प्रदेश सरकारले प्रदेशको नाकामा कडाइ गर्नुका साथै आवश्यक स्वास्थ्य पूर्वाधारको व्यवस्थापन गर्ने भएको छ। कर्णाली प्रदेश भित्रिने मुख्य नाका बबईबाट प्रवेश गर्न अनिवार्य पीसीआर रिपोर्ट चाहिने व्यवस्था गर्न लागिएको छ। पीसीआर रिपोर्टबिना कोही कसैलाई प्रदेश प्रवेशमा रोक लगाउने तयारी छ।

‘दोस्रो चरणको भाइरस अलि खतरा र कडा भएको हुँदा पनि यसको तयारी गर्नु एकदमै आवश्यक छ’, सामाजिक विकास मन्त्री दल रावलले भने, ‘अब हामीले प्रदेशको नाका सुर्खेतको बबईलगायत तीन ठाउँबाट प्रवेश गर्दा पीसीआरको रिर्पोट अनिवार्य गर्नुपर्छ भनेर छलफल गरेका छौँ।’

यस्तै, सरकारले प्रदेशका दश वटै जिल्लाहरुमा अक्सिजन प्लान्ट स्थापना गर्ने योजना बनाएको छ। प्रदेशमा ५० वटा भेन्टिलेटर थप गरी एक सय पुर्‍याइने भएको छ। हरेक स्थानीय तहमा ५० बेडको आइसोलेसन तत्काल बनाउने गरी निर्देशन गरिएको छ।

‘अघिल्लो चरणमा केही पूर्वाधारहरु तयार भए अब त्यसमा थप गर्नुपर्छ भनेर लागेका छौँ’, उनले भने, ‘प्रदेशका कतिपय अस्पतालहरुमा अहिले पनि अक्सिजन प्लान्ट छन्। भएका त भैहाले नभएका अस्पतालहरुमा जतिसक्यो छिटो अक्सिजन प्लान्ट स्थापना गर्ने गरी काम अघि बढाएका छौँ।’

कर्णालीको सबैभन्दा बढी जोखिम दैलेख, सुर्खेत र सल्यानमा समुदायस्तरमा परीक्षण भइरहेको मन्त्री रावलको भनाइ छ।

‘भारतबाट आउनेको संख्या कम भएपछि कतै संक्रमण समुदायस्तरमा पुग्यो की भनेर हामीले विशेष गरी बैंक, मालपोत जस्ता बढी नागरिकको भिडभाड हुने स्थानमा परीक्षणको दायरा विस्तार गरेका छौँ’, उनले भने, ‘त्यसो भयो भने कहीँ कतै भए भनेपनि विशेष निगरानी गरेर संक्रमण फैलिन दिदैँनौँ।’

उनले पछिल्लो समय कर्णालीमा पीसीआर परीक्षणको दायरा विस्तार गरिएको बताए।

‘हाल प्रदेशमा अटोमेटिक पीसीआर मेसिनसहित सात वटा पीसीआर मेसिनले परीक्षण गरिरहेको छ भने एउटा जडान गर्ने तयारीमा छ’, उनले भने, ‘सबै मेसिन सञ्चालनमा आए परीक्षणको दायरा बढ्छ।’

हालसम्म कर्णालीमा १ हजार ९ सय ५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भइसकेको छ। संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या एक हजार सात सय ७२ पुगेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हालसम्म संक्रमण पुष्टि भएका मध्ये ६ जनाको मृत्यु भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell