PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

विस्फोटनपछि बेरुतबाट तीन लाख मानिस विस्थापित



रासस

विस्फोटनपछि बेरुतबाट तीन लाख मानिस विस्थापित
PHOTO : STR/AFP/GETTY IMAGES

बेरुत : लेबनानको राजधानी बेरुतमा भएको विनाशकारी विस्फोटनपछि झण्डै तीन लाख मानिस विस्थापित भएका छन्।

शक्तिशाली विस्फोटनका कारण उनीहरु घरबारविहीन भएकाले उनीहरु विस्थापित हुनु परेको अधिकारीहरुले बुधबार जनाएका छन्।

स्थानीय गभर्नर ममार्वान अब्बौडले विस्थापित हुनेहरुको विवरण सङ्कलनकै क्रममा रहेको र अझै धेरै विस्थापित भएको हुनसक्ने बताए।

लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा मङ्गलबार अबेर विनाशकारी र शक्तिशाली विष्फोट भएको थियो। विस्फोटनमा परी एक सयभन्दा बढीको मृत्यु भएको छ भने चार हजारभन्दा बढी घाइते भएका छन्।

करिब दुई हजार ७५० टन ‘एमोनियम नाइट्रेट’ नामक रासायनिक पदार्थ भण्डारण गरेको एक गोदाम घरमा भएको यस विस्फोटनको आवाज धेरै ढाटासम्म सुनिएको स्थानीय बासिन्दाले बताएका छन्।

यस गोदाममा सन् २०१४ मा एक कार्गो जहाजबाट बरामद गरिएको ‘एमोनियम नाइट्रेट’ भण्डारण गरिएको थियो।

लेबनानका प्रधानमन्त्री हासान डीयाबले यस विष्फोटलाई देशको ठूलो विपत्तिको रुपमा लिइएको बताएका छन्। उनले एक टेलिभिजनमा सम्बोधन गर्दै यस घटनामा संलग्नलाई कडा कारबाही गरिने प्रतिबद्धता पनि जनाएका छन्।

यस विस्फोटनको घटनाप्रति विश्वभरबाट सहानुभूति र समवेदना व्यक्त भइरहेको छ। कतिपय देश तथा अन्तर्राष्ट्रिय निकायले लेबनानलाई सहयोगको घोषणा पनि गरेका छन्। एएनआई



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell