PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

समुदायमा कोरोना फैलिँदा वीरगंजमा व्यापक त्रास : सरोकारवाला भन्छन्, ‘यस्तै अवस्था रहे घर-घरबाट शव उठाउनुपर्छ’



राधेश्याम पटेल

समुदायमा कोरोना फैलिँदा वीरगंजमा व्यापक त्रास : सरोकारवाला भन्छन्, ‘यस्तै अवस्था रहे घर-घरबाट शव उठाउनुपर्छ’

वीरगंज : वीरगंजमा समुदायस्तरमा फैलिएको कोरोना महामारी नियन्त्रणभन्दा बाहिर जान थालेपछि स्वास्थ्य सेवामा प्रतिकूल असर पर्न थालेको छ। घर-घरमा संक्रमित तथा शंकास्पद बिरामी थपिएका छन्।

बुधवार बिहान सार्वजनिक १३३ जनाको रिपोर्टले पर्सामा मात्रै साढे ४ सय संक्रमित छन्। जसमध्ये १०६ जनामात्र अस्पतालको आइसोलेसनमा छन्। उनीहरू गण्डक र वीरगंज हेल्थकेयर अस्पतालमा उपचाररत छन्। जसमध्ये ९ जना आइसीयूमा छन्। बाँकी करिब साढे ३ सय संक्रमित क्वारेन्टाइन र होम आइसोलेसनमै छन्।

संक्रमितहरुको समस्या बेग्लै छ भने कोभिडबाहेक अन्य रोगका बिरामीको समस्या उस्तै छ।

समुदायस्तरमै कोरोना बढ्दै जाँदा वीरगंजमा त्रास बढेको छ। सामान्य रोगका बिरामीलाई समेत अस्पतालले सहज रूपमा भर्ना र उपचार गर्न डराइरहेका छन्।

वीरगंज-१८ एक ४५ वर्षीय रामलाल कुर्मी दमका रोगी हुन्। वीरगंजका अस्पताल धाउँदा-धाउँदा उनी थाकिसके। तर, सहज भर्ना र उपचार नपाएको परिवारको गुनासो छ।

कुनै अस्पताल सिल भएका छन्। कुनैले पीसीआर रिपोर्ट मागेर मूल गेटबाटै फर्काउने गरेका छन्। सामान्य रोगका बिरामीले पनि सहज रूपमा उपचार पाउने अवस्था छैन।

‘पर्सा-बारामा निषेधाज्ञा जारी छ। कुनै सवारीसाधन चलेका छैनन्। एम्बुलेन्सले पनि बिरामी बोक्न र अस्पताल पुर्‍याउन मानिरहेका छैनन्’, वीरगंज आदर्शनगर ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका संयोजक जयप्रकाश खेतानले भने, ‘यस्तै अवस्था रहिरह्यो भने वीरगंजमा घर-घरबाट शव उठाउनुपर्छ।’

गण्डक कोभिड अस्पतालका चिकित्सक डा उदयनारायण सिंहले वीरगंजलाई नियन्त्रणमा राख्न केन्द्रीय सरकार गम्भीर बन्नुपर्ने बताए। साथै, प्रदेश सरकार तथा वीरगंज महानगरपालिकाबीच सहकार्यको आवश्यकता रहेको सिंहले बताए। उनले तत्कालै चार कुरा व्यवस्थापन गर्न सुझाव पनि दिए। 

हजार बेडको आइसोलेसन

वीरगंजमा संक्रमित राख्न एक हजार बेड क्षमताको आइसोलेसन वा सेमिआइसोलेसन व्यवस्थापन गर्नुपर्ने उनको सुझाव छ। २४ घण्टा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, तथा अन्य कर्मचारी, बिजुली, छुट्टै शौचालयलगायतको व्यवस्था पनि हुनुपर्ने सिंहको भनाइ छ। आइसोलेसन बाहिर रहेको संक्रमितलाई तत्काल सार्ने प्रबन्ध हुनुपर्ने उनको भनाइ छ।

अन्य बिरामीका लागि छुट्टै अस्पताल

उनले २४ सै घण्टा उपचार गर्नेगरी अन्य बिरामीका लागि अस्पताल तोकिनुपर्ने पनि बताए। शंकास्पद लक्षण भएका बिरामीलाई पनि उपचारका लागि अस्पताल तोक्नुपर्ने सिंहको भनाइ छ।

५० वटा एम्बुलेन्स

वीरगंजमा कोरोना संक्रमणको डरले अहिले सबै एम्बुलेन्स एकाएक गायब छन्। कोरोना महामारी नहुँदा सरकारी, गैर-सरकारी क्षेत्रका करिब सयवटा एम्बुलेन्स थिए। अहिले चालक भएन, बिग्रिएको छ जस्ता बहानामा सेवा रोकिएको छ। नारायणी अस्पताल तथा पर्सामा प्रहरी र सेनाले बनाएको एउटा सुमोको एम्बुलेन्सले मात्र सेवा दिइरहेका छन्।

डा. सिंह सुविधासहितका कम्तीमा ५० एम्बुलेन्स आवश्यक भइसकेका बताउँछन्। 

२४ सै घण्टा सेवा दिने ल्याब 

वीरगंजमा ल्याबको क्षमता सुधार गर्नुपर्ने उनको सुझाव छ। ल्याबको क्षमता र दक्ष जनशक्ति पनि थपिनुपर्ने उनको सुझाव छ। स्वास्थ्यकर्मी नै संक्रमणमा परेकाले अहिले जनशक्ति अभाव समेत भइरहेको छ। नारायणीका ९ जना डाक्टर र ३२ जना स्वास्थ्यकर्मीलाई संक्रमण भइसकेको छ। 

उचित प्रोत्साहन दिएर सबै चिकित्सकलाई सेवामा लगाउनुपर्ने सिंहको सुझाव छ। ल्याबको सेवा २४ घण्टा नै उपलब्ध हुनुपर्ने उनी सुझाउँछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell