
राजापुर : बर्दियामा एक थान जरायोको सिङसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। बर्दियाको गुलरिया नगरपालिका-७ बस्ने ३१ वर्षीय बाबुराम लोधलाई बुधवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी योगेन्द्रकुमार खड्काले जानकारी दिए।
लोधलाई भे १ प २८८४ नम्बरको मोटरसाइकलमा जरायोको सिङ लैजाँदै गरेको अवस्थामा सीमा प्रहरीचौकी मथुराबाट खटिएको प्रहरी टोलीले गुलरिया नगरपालिका-९ बाट पक्राउ गरिएको हो। बरामद गरिएको जरायोको सिङ, मोटरसाइकलसहित लोधलाई आवश्यक कारबाहीका लागि जिल्ला बन कार्यालय गुलरिया पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।