PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

चर्चा फेरि लकडाउनको : नेपालले चीनको वुहानबाट किन सकेन सिक्न?



विधुर ढकाल

चर्चा फेरि लकडाउनको : नेपालले चीनको वुहानबाट किन सकेन सिक्न?

काठमाडौं : बिना तयारी चैत १२ गते देखि सुरु भएको लकडाउन विना तयारी साउन ६ गते अन्त्य भयो। संक्रमण नियन्त्रण र रोकथामका लागि लगाइएको लकडाउन यस्तो बेला खोलियो जतिबेला संक्रमण उच्च बिन्दुमा जाँदै थियो। संक्रमण उच्च बिन्दुमा नपुग्दै नियन्त्रणमा नआउँदै खोलिएको लकडाउन फेरि लगाउने चर्चा चलिरहेको छ।

१ सय २० दिन लामो लकडाउनले संक्रमण नियन्त्रणमा हदसम्मको काम गर्‍यो तर पूर्णरुपमा नियन्त्रण र रोकथाममा भने सहयोग गर्न सकेन। संक्रमणलाई पछाडि धकेलिदियो। संक्रमण त्यतिबेला उच्च विन्दुमा देखियो जतिबेला भारतीय सीमाबाट नेपाली आउन थाले। उनीहरुको परीक्षण भएन र समूदायमा प्रवेश गर्न थाले। लकडाउन खुल्दै गयो समुदायमा पनि कोरोना प्रवेश गर्दै गयो।

लकडाउनको मोडालिटी कस्तो? कसरी व्यवस्थित गर्ने भन्ने तयारीविना नै हतारमा लकडाउन गरियो। हतारमै खोलियो पनि।

 वुहानको लकडाउनमा यस्तो थियो अभ्यास

जनवरी २३ मा नोवेल कोरोना भाइरस (एनसीओभी-२०१९) सार्स सीओभी-२; कोभिड-१९ को आउटब्रेक इपिसेन्टर चीनको हुबेइ प्रान्तको वुहानमा लकडाउनको घोषणा गरियो। लकडाउन घोषणा गरेसँगै जनवरी २४ देखि फेब्रुअरी १५ सम्म वुहान प्रवेश गर्ने र वुहानबाट बाहिरिने यात्रुहरुको संख्या अघिल्लो वर्षको तुलनामा ९१.६१ प्रतिशतले कमी आयो। चिनियाँ नयाँ वर्षको संघारमा गरिएको थियो लकडाउन। संसारभर मानव यात्राको रेकर्ड राख्ने चिनियाँ नयाँ वर्षको सिजनमा हुँदै आएको थियो। जनवरी १ देखि जनवरी २३ सम्म १ करोड ४० लाख जनाले यात्रा गरेका थिए। लकडाउनपछिको अवधिमा यो संख्या ९१.२ प्रतिशतले कमी आयो।

यात्रामा कडाइ  गरेसँगै जनवरी २४ देखि फेब्रुअरी १५ सम्म चीनका ३ सय १६ शहरमा अघिल्लो वर्षको तुलनमा ६९.७७ प्रतिशतले संक्रमितको संख्यामा कमी आयो। र, जनवरी १ देखि २३ सम्मको तुलनामा ६७.६० प्रतिशतले कमी आयो।

हुवेई प्रान्त बाहेकका क्षेत्रमा लकडाउन नभए पनि यात्रामा प्रतिबन्ध लगाइएको थियो। बुहानमा लकडाउन लागू भएसँगै ९४ लाख ८० हजार जनसंख्या रहेको शहर पूरै क्वारेन्टाइन र आइसोलेसनमा राखियो। जनवरी २९ सम्म दुई हजार २ सय ६१ कोभिड-१९ का केस रहेको वुहानमा ५६ हजार ५७२ पुग्ने अनुमान सहित रक्षात्मक तथा रोकथामका उपायहरु अपनाइयो जसले वुहानको संक्रमणलाई नियन्त्रणमा लियो। कोभिड-१९ नियन्त्रणमा आएपछि मात्र लकडाउन खोलियो। लकडाउन खोल्दै गर्दा सुरक्षाका अन्य उपायहरु स्वास्थ्य परीक्षण सामाजिक दुरीसहितको प्रावधानलाई कडाइका साथ कार्यान्वयन गरियो।

वुहानमा लगाइएको लकडाउन र देशब्यापी रुपमा लगाइएको यात्रा प्रतिवन्धले हुवेइ बाहेकका अन्य क्षेत्रमा ठूलो मात्रामा संक्रमण फैलाउनबाट जोगाएको डब्लुएचओको बुलेटिनमा प्रकाशित चिनियाँ अनुसन्धानकर्ताहरुको अनुसन्धान रिपोर्टमा उल्लेख छ। रिपोर्टमा लेखकहरुले वुहानमा अपनाइएको लकडाउन प्रक्रियाबाट विश्वले सिक्न सक्ने सुझाव समेत दिइएको छ।

दी लान्सेन्ट जर्नलमा प्रकाशित एक आर्टिकलमा भौतिक दुरी कायम राख्दै लकडाउनले उच्च  बिन्दुमा पुग्ने समयको गतिलाई कम गर्दै जाने र यसले रोकथामका लागि उपायहरु अपनाउन तथा स्वास्थ्य तयारी गर्न सहयोग पुग्ने बताएको छ। आकस्मिक रुपमा यस्ता रोकहरुलाई हटाउँदै हामी उच्च बिन्दुमा छिटै पुग्ने उल्लेख छ।

बुहानमा लगाइएको रोकले कोभिड-१९ को संक्रमण अन्य स्थानमा फैलिनबाट रोकेको छ। वुहानमा लगाइएको लकडाउन मोडल समयमै गरिएकोले चीनका अन्य भागमा फैलिनबाट जोगायो। वुहानमा संक्रमणलाई नियन्त्रणमा राख्न र वुहानबाट बाहिर संक्रमणलाई पुर्‍याउनबाट चीन सररकारले समयमै सही र प्रभावकारी कदम चालेको अमेरिकी नेसनल लाइब्रेरी अफ मेडिसिनको जर्नल नेचर पब्लिक हेल्थ इमरजेन्सी कलेक्सनमा प्रकाशित रिपोर्टमा उल्लेख छ।

रिपोर्टमा अनुसन्धानकर्ताहरुले विश्वव्यापी रुपमा कोभिड-१९ को भयावह अवस्था सिर्जना गरेको भन्दै कोभिड-१९ संक्रमण नियन्त्रणका लागि सुझाबसमेत दिएका छन्। पहिलो सुझाब व्यक्तिगत तवरबाट संक्रमणको बाटोलाई पुन:निर्माण गर्न भनेको छ। संक्रमणको बाटोलाई पहिल्याउँदै व्यक्तिगत दुरी काम गर्न भनिएको छ। त्यस्तै, दोस्रो क्षेत्रगत रुपमा संक्रमणको तथ्यांक विश्लेषण गर्दै क्षेत्रगत रुपमा योजना बनाइ कार्यान्वयन गर्न सुझाव दिएका छन्।

७६ दिन लामो लकडाउन खोल्नु अगाडि वुहानले संक्रमण नियन्त्रणका उपायहरु समेत कार्यान्वयनमा ल्यायो। बजार खुल्दै गर्दा संक्रमण नभित्रियोस् भनेर व्यक्तिमा ग्रीन क्युआर कोड कार्यान्वयन, लक्षण परीक्षण दायरालाई बढाउँदै लक्षण भएका तथा पोजेटिभ देखिएकालाई आइसोलेसन र सम्पर्कमा रहेकालाई क्वारेन्टाइनमा राखियो। अनि संक्रमणलाई नियन्त्रणमै राखियो। अहिले वुहानमा केही इम्पोर्टेड केसबाहेक संक्रमण देखिएका छैन। समुदायमा फैलिएको संक्रमणलाई ७६ दिनमा नै नियन्त्रणमा राख्न वुहान सफल भयो।

नेपालको १२० दिनको लकडाउन किन सफल भएन?

१ सय २० दिन लामो लकडाउन खुला भएसँगै नेपालमा संक्रमणको दर पनि बढेको छ। परीक्षण दर घटाउँदै जाँदा संक्रमण दर पनि कम हुँदै गएको देखिन्थ्यो। तर, लकडाउन खुलेको दुई साता हुँदै गर्दा संक्रमण दर बढ्दै गएको छ। पछिल्लो साता संक्रमण दरमा अघिल्लो साता भन्दा १२० प्रतिशत सकरात्मक परिवर्तन (१२० प्रतिशतले बढेको छ) भएको डब्लुएचओको कन्ट्री सिच्योसन ड्यासबोर्डमा उल्लेख छ।

लकडाउन खुलेपछि मात्र तीन हजार १५ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। लकडाउन खुलेको दुई सातामा १८ जनाको मृत्यु भइसकेको छ। लकडाउन खुल्नु अगाडिको २ सातामा १ हजार ८ सय २६ जनामा संक्रमण पुष्टि भएको थियो। लकडाउन खोल्नु अगाडिको सोही अवधिमा ५ जनाको मात्र मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ। लकडाउन खुल्नु अगाडि र पछाडिका चार सातालाई विश्लेषण गर्ने हो भने, लकडाउन खुलेपछिको संक्रमण पुष्टि लकडाउन खुल्नु अगाडिको सोही अवधीको संक्रमण पुष्टि भएको संख्याको १६५ प्रतिशत हो।

लकडाउन खुलेसँगै काठमाडौं उपत्यकामा संक्रमण बढ्दै गएको छ। तयारीविना लकडाउन खुल्दा संक्रमित क्षेत्रबाट संक्रमण आएकाहरुमा संक्रमण पुष्टि भएको छ। त्यस्तै कुनै ट्राभल हिस्ट्री नभएका क्षेत्रमा पनि संक्रमण पुष्टि भएको छ।

पर्सामा एक्टिभ केस शून्य तर्फ पुग्दै गर्दा एक्कासी ४०० नाघिसकेको छ। कारागारका कैदी बन्दीदेखि सैनिक प्रहरीसम्ममा संक्रमण पुष्टि भएको छ। मोरङमा संक्रमण वृद्धि हुँदै गर्दा सरकारी कर्मचारी तथा सुरक्षा निकायका अंगमा संक्रमण पुगेको छ। स्याङ्जामा प्रहरीमा कोभिड-१९ को संक्रमण पुष्टि भएपछि थुनुवालाई छाडियो। थुनुवाले नै समुदायमा संक्रमण पुर्‍याए।

लकडाउन खुलेपछि काठमाडौं उपत्यका छिरेकाहरुमा र्‍यान्डम्ली गरिएको १० हजार ८ सय १२ नमुना परीक्षणका क्रममा ४० जनामा पोजेटिभ देखियो। संक्रमण पुष्टि भएकाहरु यसबीच उपत्यका छिरेर परीक्षणको नमुना नआउँदासम्म समुदायमा घुलमिल भइसकेका थिए।

संक्रमण नियन्त्रणका उपाय तथा अन्य योजनाबिना नै लकडाउन लगाएर संक्रमण रोक्छु भन्ने सरकारले यसबीच संक्रमण नियन्त्रणका लागि मुख्य हतियार परीक्षणलाई भने ध्यान दिएन। दैनिक परीक्षण १० हजार गर्न सक्छौं भनेर मन्त्रीले भनिरहे पनि लकडाउनको अवधिमा अधिकतम औशतमा ५ हजार भन्दा बढी हुन सकेन। तर, संकलित नमुनाहरु परीक्षणको क्युमा रहिरहे।

आरडीटी परीक्षणका क्रममा एन्टीबडी नेगेटिभ आएकै भरमा घर पठाइएकामा संक्रमण पुष्टि भयो। त्यसरी पठाइएकाहरुको संक्रमणकै कारण मृत्यु भयो।

दोस्रो केस देखिएसँगै लकडाउन गरिएको नेपालमा १७ हजार केस नाघेपछि खोलियो। लकडाउनका बीच १७ हजारमा संक्रमण कसरी फैलियो? अधिकांश भारतबाट आएकाबाट। लकडाउन गरेर नेपालीलाई ५० दिनसम्म 'कोरोनाको भट्टी' भारतमै रोकियो। लुकिछिपी खुला सीमाबाट नेपाल प्रवेश गरेकाहरु समुदायमा समेत पुगे। उनीहरुको कारण संक्रमण बढ्दै गयो। यसमा दोष उनीहरुको नभई सरकारको तयारीको हो।

सार्वजनिक रुपमा विज्ञहरुले लकडाउनलाई कडाइ गर्दै परीक्षणको दायरा बढाउन भनिरहँदा स्वास्थ्य मन्त्रालयले क्वारेन्टाइनमा रहेका केही व्यक्तिमा परीक्षणलाई केन्द्रित गर्‍यो। क्वारेन्टाइनमा बसेकाहरु सबै पनि परीक्षणको दायरामा परेनन्।

क्वारेन्टाइन खाली हुँदै गए। संक्रमणको उच्च जोखिममा रहेका समूह परीक्षणविना समुदायमा प्रवेश गरे। डब्लुएचओले परीक्षणलाई जोड दिए पनि १४ दिन क्वारेन्टाइनमा राम्रोसँग व्यवस्थित गरेर राखे परीक्षण नगर्दा हुने बताएको छ। सोही आधारलाई मानेर परीक्षणविना वा आरडीटी परीक्षण गरेर समुदायमा पठाइयो।

तर, नेपालमा क्वारेन्टाइनको व्यवस्थापन कस्तो थियो? छताछुल्ल छ। अव्यवस्थित क्वारेन्टाइन नै कोभिड-१९ को संक्रमणको कारखाना बने। क्वारेन्टाइनहरु खाली हुँदै गएपछि लामो समयको लकडाउन तयारीविना खोलियो- जोर बिजोर हुँदै। स्वास्थ्य मापदण्डको कडाइलाई ध्यान दिइएन।

भारतबाट काठमाडौं आएर व्यवसायीहरु व्यवसाय चलाउन थाले। उनीहरुमै कोभिड-१९ को संक्रमण पुष्टि भयो। काठमाडौंका सडकमा खटिएका प्रहरीमा संक्रमण पुष्टि भयो। अब बल्ल सरकार तात्दै छ। मास टेस्टिङका लागि संक्रमितको सम्पर्कमा पुगेका, संक्रमण बढी भएका क्षेत्रबाट आएकाहरुलाई थ्रोट स्वाब संकलनका लागि सरकारले अपील गरेको छ। यस्तो अपील लकडाउनकै बीचमा गरेर व्यवस्थित रुपमा सर्टिफाइड भएपछि मात्र खोल्नुपर्ने थियो। त्यसमा सरकार चुक्यो।

चर्चा दोस्रो चरणको लकडाउनको?

पहिलो संक्रमण नेपालमा जनवरी २३ मा देखिएको थियो। वुहानबाट आएका विद्यार्थीमा संक्रमण पुष्टि भयो। त्यही दिन वुहानले लकडाउनको घोषणा गरेको थियो। अप्रिलमा ७६ दिन पछि वुहान सामान्य जनजीवनमा फर्कियो। त्यतिबेला नेपालमा लकडाउनको सुरुवाती चरणमा थियो।

वुहानले लकडाउन खुलाउँदै गर्दा अपनाएका उपायहरु तथा वुहानको अनुभवबाट पनि नेपालले सिक्नुपर्थ्यो, सिक्न सकेन। र, १ सय २० दिन लामो लकडाउनको प्रभावकारितामा प्रश्न उठ्न थालेको छ। फेरी लकडाउन गर्ने विषयमा छलफल सुरु भएको छ।

मंगलवार प्रधानमन्त्री केपी शर्मा ओलीले यही विषयमा विज्ञहरुसँग छलफल गरे। लकडाउन खोल्नु अगाडि पनि विज्ञहरुसँग छलफल गरेका थिए। प्रधानमन्त्री ओलीले त्यतिबेला पनि लकडाउनको मोडालिटी परिवर्तन गर्न सकिने तथा कतिपय विज्ञले लकडाउनलाई थप कडाइ गर्दै जानुपर्ने बताएका थिए। हरेक छलफलमा विज्ञहरुले परीक्षणको दायरालाई बढाउँदै लैजानुपर्ने सुझाब दिँदै आएका छन्।

सो छलफलमा परीक्षणको दायरा ब्यापक बढाएर संक्रमित क्षेत्रलाई आवश्यकता अनुसार कडाइ गर्ने वा २ हप्ता लकडाउन गर्ने वा लकडाउन प्रभावकारी नभएमा कर्फ्यु लगाउने विषयमा छलफल भएको थियो।

सुरुवाती चरणमा नै यही उपाय अपनाएर परीक्षणको दायरा बढाउनुपर्नेमा अहिले यसलाई अगाडि बढाइएको छ। वुहानमा लकडाउनसँगै संक्रमणलाई नियन्त्रणका लागि परीक्षण र आइसोलेसन, ट्रेसिङलाई तीब्र पारेको थियो। नेपालले लकडाउन लगाए पनि बाँकी पक्षलाई प्रभावकारी रुपमा सम्बोधन गर्न नसक्दा पुन: लकडाउन लगाउनुपर्ने संघारमा नेपाल पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell