PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

लकडाउनमा सुनको चमक : तोलामै बढ्यो २४ हजार रुपैयाँ



पहिलोपोस्ट

लकडाउनमा सुनको चमक : तोलामै बढ्यो २४ हजार रुपैयाँ

काठमाडौः बुधवार सुनको मूल्यले तोलाको एक लाख नाघ्यो। लकडाउन खुलेसँगै सुनको भाउ बढ्दै गएको देखिन्छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार सुन प्रतितोला १ लाख १ हजार ४ सय रूपैयाँ पुग्यो। एकदिन अघिको तुलनामा हेर्ने हो भने यो १ हजार ६ सय रूपैयाँले बढेको देखिन्छ। मंगलबार ९९ हजार ८ सय मा आइपुगेको थियो। यसअघि आइतवार र सोमवार प्रतितोला ९९ हजार ६ सय मा स्थिर थियो।

सरकारले गत चैत ११ गतेदेखि लकडाउन घोषणा गर्‍यो। सकारले लकडाउन गर्नुअघि अर्थात चैत १० गते सुनको मूल्य प्रतितोला ७७ हजार रुपैयाँ थियो। बुधवार १ लाख १ हजार ४ सय कायम भयो। लकडाउनदेखि आजको दिनसम्म हेर्ने हो भने सुनको प्रतितोला मूल्यमा २४ हजार ४ सय रुपैयाँले बढेको देखिन्छ।

गएको एकवर्षलाई आधार बनाएर हेर्दा सुनको मूल्य प्रतितोलामा ३३ हजार ४ सयले बृद्धि भएको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार २०७६ साउन २१ गते सुनको मूल्य प्रतितोला ६८ हजार रुपैयाँ थियो।

कोरोनाको महाव्याधिले विश्व बजारमा पारेको असरसँगै सुनचाँदी महँगिएको हो। सुन महँगिदा व्यवसायीले नयाँ खरिदकर्ता पाउन कम भइसकेको छ। सुन किनेर गहना बनाउने घट्दा व्यवसायीले बैंकबाट उठाउने परिमाण घटाइसकेका छन्। बढेको मूल्यमा गहना बेच्न चाहने भने बढेका छन्।

अन्तर्राष्ट्रिय बजारमा बुधवार बिहान सुन प्रतिऔंस २०२२.६५ डलरमा कारोबार भएको छ। मंगलवार बिहान प्रतिऔंस १९७४.४५ डलर थियो। साताको अन्तिम दिन गत शुक्रवार सुन १९७४.१५ डलर पुगेको थियो।

बुधवार चाँदी पनि निकै महँगिएको छ। अन्तर्राष्ट्रिय बजारमा मंगलवार प्रतिऔंस २४.३४ डलरमा कारोबार भएको चाँदी बुधवार बिहान २५.९७ डलरमा कारोबार भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell