PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

पार्टी देउवाको कब्जामा छ, एक्लाएक्लै गए सकिन्छौं : रामचन्द्र पौडेल



नेत्र तामाङ

पार्टी देउवाको कब्जामा छ, एक्लाएक्लै गए सकिन्छौं : रामचन्द्र पौडेल

नेपाली काँग्रेसको प्रतिपक्षीका रुपमा चिनिन्छन् वरिष्ठ नेता रामचन्द्र पौडेल। काँग्रेसमा पार्टी सभापति शेरबहादुर देउवाको गतिविधिमाथि कठोर रुपमा अभिव्यक्ति दिन्छन् पौडेल। पार्टी सभापतिको कार्यशैलीलाई उनी 'निरंकुश' भन्छन्। त्यसैले देउवा विरोधी गुटका नेताहरु पौडेलतिर निकट देखिन्छन्। नेपाली काँग्रेसको १४ औं महाधिवेशन नजिकिँदा देउवाविरोधी खेमाहरु काँग्रेसमा एकैतिर देखिन थालेका छन्। आउँदो महाधिवेशनमा पौडेललाई देउवा पक्षका सम्भावित प्रतिद्वन्द्वीका रुपमा हेरिएको छ।

त्यसो त देउवाइतर पक्षमा नेतृत्व हाँक्ने आकंक्षी धेरै छन्। १३ औं महाधिवेशनमा देउवासँग प्रतिस्पर्धा गरेका पौडेल यसपटक पनि भिड्ने मुडमा छन्। १४ औं महाधिवेशनमा 'कि पर्सन' का रुपमा देखिएका पौडेलसँग नेत्र तामाङले गरेको कुराकानीको अंश :

महाधिवेशन नजिकिँदा काँग्रेसमा किचलो बढेको छ, सतहमै देखिने गरी। किन बढ्यो विवाद?

महाधिवेशन सिद्धान्त र विचारको लडाई हो। काँग्रेसभित्रको मेरो लडाई नै विचारसहितको पार्टीको रुपमा स्थापित गर्नुपर्छ भन्ने हो। विचारको बलमा हामीले काम गर्नुपर्छ। हतियारको बलमा हैन। विचार प्रमुख हो राज्यसत्ताको।

नेकपाभित्र विसंगति देखिएको बेला त्यसलाई रोक्नु त टाढाको कुरा, काँग्रेस आफै झगडामा अल्झिरहेको किन होला?

नेकपा विचारहीन पार्टी हो। काँग्रेस विचारसहितको। तानतुन गरेर जोडघटाउ गरेर सत्ता कब्जा गर्ने कुरा घोर आपत्तिजनक छ।

कमिसन एजेन्टलाई लगानी बोर्डमा ल्याएको छ। दुर्भाग्य छ, यो राष्ट्रलाई को को मिलेर लुट्ने हुन्? यो भ्रष्ट प्रवृत्ति हो। यस्तो प्रवृत्तिविरुद्धको लडाई नै मेरो लडाई हो।

पार्टीका आदर्श र सिद्धान्तलाई लिएर जनतामा जानुपर्छ। निमुखालाई न्याय र विपन्नलाई आयको मिसनलाई लिएर जनतामा जानुपर्छ। यसरी लड्न सकेन भने कम्युनिस्टसँग काँग्रेसले गरिखाँदैन।

तपाईँकै पार्टी सभापति सरकार प्रमुखलाई रातीराती भेट्न जानुहुन्छ त

हाम्रो सभापतिजीमा केही कमजोरी र केही बाध्यताहरु होलान्। त्यसले गर्दा सत्तासित 'हबनबिङ' गर्नुपर्ने बाध्यता होला। त्यस्ता बाध्यतामा काँग्रेस रहन हुँदैन। माथि उठ्नुपर्छ।

यसको मतलब काँग्रेस कर्पोरेट बन्न खोजेको हो?

बनाउन खोजिएको छ। बनाउन नदिन हाम्रो लडाई जारी छ।

आफूसँग भएको विषयमा प्रतिस्पर्धा नगर्ने? नहुने कुरामा प्रतिस्पर्धा गर्न थालियो भने कहाँबाट जित्छ? नहुने कुरामा मिल्न थाल्यो भने कहाँबाट हुन्छ? इन्ट्रेस्ट गाँसिहालेपछि आफू कमजोर भइहालियो नि। कर्पोरेट हुनबाट मुक्त हुनुपर्छ काँग्रेस। मिडियाले पनि यसमा खबरदारी गर्नुपर्छ। च्याखे थाप्ने, पसल थाप्ने काम बन्द हुनुपर्छ।

अहिलेको काँग्रेसलाई कसरी मूल्यांकन गर्नुहुन्छ?

अहिलेको काँग्रेस भन्ने बित्तिकै शेरबहादुर देउवाको नेतृत्वको काँग्रेस भन्ने बुझिन्छ। कतिपय विकृत्ति भित्र्याउने प्रवृत्तिलाई बुझाउँछ। वास्तावमा काँग्रेस त्यो होइन। रुढीग्रस्त समाजलाई नयाँ आधुनिक र लोकतान्त्रिक बनाउन एउटा मिसन लिएर जन्मेको पार्टी हो काँग्रेस। र, त्यो विचारको नेतृत्व बीपी कोइरालाले दिनुभयो। अहिलेको नेतृत्वले विचारको कुरामा केही ख्याल गरेको छैन। खाली सौदाबाजीमात्र गरेको छ। सौदाबाजीको भरमा आफ्नो राजनीति चलाउने गरिरहेको छ।

काँग्रेस आफै अधिनायकवादी मार्गमा देखिन्छ, आलोचना त सहनै नसक्ने?

अब हेर्नुस् - चुनाव हारियो। मैले सानो असन्तुष्टि र असहमति लिखित रुपमै दर्ज गरेँ। शेरबहादुरलाई डिफेन्ड गर्ने साथीहरुको एउटै कुरा थियो - बाहिर चाहिँ भन्न नहुने। दुनियाँले थाहा पाउने गरी भन्न नहुने। भनेको कुरा ठीक हो कि बेठीक बहस गर्दैनन्। कार्यसमिति भरी यसरी भन्न नहुने, छर्लंङ्ग भन्न नहुने, फ्याङलङ्ग पार्दिन नहुने मात्रै सुनियो।

यो देशका कम्युनिस्ट बारम्बर गल्ती गर्छन्। बारम्बर आत्मआलोचना गर्छन्। फेरि गल्ती दोहोरिन्छन्। यस्तै, काँग्रेस गल्ती ढाकछोप गर्दै जान्छ। गल्ती गर्दै जान्छ। त्यसलाई गल्ती गर्दैजान्छ। फेरि गल्ती दोहोरिन्छ। यस्तो भएन।

महाधिवेशन नजिकिँदा तपाईँको रणनीति के हुन्छ अब?

देशभरीका कार्यकर्तालाई मेरो विचार बुझाउने र सम्झाउने कार्य गरिरहेको छु। यो बाटोबाट नेपाल जानुपर्छ भन्ने कुरा साथीहरुलाई पटकपटक सम्झाउने कोसिस गरेको छु।

यसमा जति सफल हुन्छु - हाम्रो मिसन जितहारको कुरामा निर्भर रहन्छ। विचार मिल्ने साथीहरुसँग भनिरहेको छु। राजनीतिको लडाई विचारको लडाई हो। तर्कको लडाई हो। ठूला लडाईमा जसको राम्रो हतियार हुन्थ्यो, त्यसले लडाई जित्थ्यो। युद्ध जित्थ्यो।

अहिलेको लडाई तर्कको लडाई हो। तर्कको लडाईमा हामीसँग जुन तर्क छ। यो हामी जोसँग चुनाव लड्दै छौं। तिनलाई हामीले प्रयोगमा ल्याएनौ। बोल्नुस् साथीहरु मुख खोलेर बोल्नुस् भनेर मैले बेलाबेला भन्ने गरेको छु।

तर्कभन्दा त धन ठूलो भएर आयो त काँग्रेसमा?

बीपीले भन्नुहुन्थ्यो - सत्यको मुख बन्द गरियो भने असत्यको थुतुनो चम्कन थाल्छ। विचारको पक्षलाई सशक्त रुपमा प्रस्तुत गर्न नसक्दा यस्ता प्रवृत्तिले मौका पाउँछन्। विचार सशक्त बनाए यस्ता प्रवृत्ति हराउँदै जान्छन्। कार्यकर्ताले कुरा बुझ्दै जान्छन्। सानो लोभमा फस्न छाड्छन्।

भर्खरै एक जना कार्यकर्तालाई निर्देशन दिनुभयो कि गुण्डागर्दी गर्ने मान्छे पार्टीमा नआउन भनेर? यसको अर्थ काँग्रेसमा त्यस्तै पृष्ठभूमिबाट क्रियाशील सदस्य आउने जोखिम हो?

धेरै त त्यस्ता मान्छे छँदै छैनन्। तर, त्यस्ता मान्छे नेतृत्वमा नपुगुन्। तिनको डोमिनेसन पार्टीभित्र नहोस् भनेर हो।

तर, विसंगति त माथिमाथि उक्लेको छ त पार्टीमा?

लड्नुपर्छ विसंगतिविरुद्ध।

सरकारले कोभिड १९ रोकथाममा कुशलता देखाउन सकेन। काम उस्तै छ भनेर सडकमा विरोध भइरहेको छ। तर प्रतिपक्ष भने मौन देखिन्छ?

राज्यसत्ता लापरबाहीसँग चलिरहेको छ। म अत्यन्त असन्तुष्ट छु। पार्टीको फोरमबाट जति विरोध हुनुपर्ने हो, त्यो भएन। सडकबाट जुलुस लिएर जाउँ भनेकै हुँ। यसमा असन्तुष्टि विष्फोट हुन्छन् भने यसमा मेरो सम्मान हुन्छ।

इनफ इज इनफको अभियान र ई: को लगातारको आन्दोलनले सरकार आरडीटी रोक्न बाध्य भएजस्तो देखियो नि?

उनले गरेका छन्। यो नौलो होइन। मैले सरकारलाई लिखितै रुपमा मेरै नेतृत्वमा पार्टीको तर्फबाट कमीकमजोरीबारे ज्ञापनपत्र दिएकै हो। यिनै मुद्दामा इनफ इज इनफ अनसन बसेका हुन्।

तर, काँग्रेसका नेताहरुलाई महाधिवेशन लागेको छ। एकएक जना गरी ई लाई भेट्न पुगिरहेको देखिन्छ। उनको अनशनमा च्याँखे थाप्न गएजस्तो भएन?

अन्याय अत्याचार नसहने प्रवृत्तिले म त्यहाँ पुगेको। देखाउनका लागि गएको होइन। देखाउन जानेको कुरा फरक होला। म विश्वासले गएको हुँ। म एक कदम अगाडि बढेर समस्याको मुल जड भन्नु नै भ्रष्टाचार हो। भ्रष्ट प्रवृत्ति कुशासन हो। अझ प्रस्ट भएर आउनुस् मेरो तागत तपाईँहरुमा मिसाउँछु भनेको छु।

सभापतिले विभागहरु अन्धाधुन्ध गठन हुँदा पनि खासै चालचुल देखिएन नि काँग्रेसभित्र?

पार्टीलाई हुकुमी पाराले नचलाउँ। हचुवा पाराले नचलाउँ। संस्थाहरु निर्जिव भइसके। नेचुरल प्रोसेसलाई रोक्ने काम नेतृत्वबाट भएको छ, निहीत स्वार्थका कारण। नत्र यी संस्थाहरु आज यसरी भुत्ते हुन्थे? अस्थिपन्जरमात्र रहन्थे? कसले गरायो? विधि विधानलाई मिचेर आफ्नो अनुकूलमात्र गर्न खोज्ने? आफू अनुकूल भएमात्र अधिवेशन गराउने नभए चुनावै नगराउने? यो त सिस्टम मर्‍यो नि। विधि विधान मर्‍यो नि।

हाम्रा साथीहरु अझै बोल्न कन्जुस्याई गर्नुहुन्छ। बोल्न कन्जुस्याई नगर्नुस् भन्छु म। सही सत्य कुरालाई अगाडि ल्याउनुस् भन्छु। सत्य अगाडि नआए असत्यले ढाक्छ। म्याद थप्या छ, छलफल छैन। कार्ययोजना छैन। यो भन्दा ठूलो लापरवाही के हो? भ्रातृ संस्थाको अवमूल्यन भएको छ।

प्रतिकार किन हुँदैन पार्टीभित्र?

पार्टी हेर्नुस् कब्जाभित्र छ। एकथरी साथीहरु विवेकलाई एकातिर थन्क्याएर नेतृत्वको समर्थनमात्र गर्न बाध्य छन्। अर्कोतिर हामी बोलिरहेका छौं। बोल्दा पनि जसरी बोल्नुपर्थ्यो त्यसरी बोल्न सकिरहेका छैनौं। मित्रहरुलाई म सुधारेर लानुपर्ने कुरा मैदानमा राखौं भनिरहेछु।

अलमलमा देखिनुहुन्छ तपाईँहरु पनि?

विस्तारै अगाडि बढ्दैछौं। प्रयत्नहरु भइरहेका छन्। संगठित भएर अगाडि बढ्दैछ।

सरकारको विसंगतिविरुद्ध लड्नुपर्ने काँग्रेसभित्र भित्रै लडिरहनु परेको छ?

सरकारले जुन कुशासन चलाइरहेको छ। हाम्रो सुशासन बनाउने कि नबनाउने? हामी नसुध्रेर अर्कालाई परिवर्तन गर्छु भनेर सकिँदैन। परिवर्तन बाहिर गर्न आफूभित्र परिवर्तन हुन जरुरी छ। १४ औं महाधिवेशनलाई मैले यसैलाई उठाउन खोजिरहेको छु।

महाधिवेशनमा यसपटक तपाईँ कसरी होमिने? अघिल्लोमा जस्तै? एकाएक सुशीलजीको डेथ भो। मैले अचानक सम्हाल्नुपर्ने भयो। मैले आफ्ना कुरा त भनिरहेको थिए। एकैचोटि अधिवेशनको जिम्मेवारी मेरो टाउकोमा पर्‍यो। अधिवेशन सम्पन्न गर्ने। मैले साथीहरुलाई विचार दिएर बुझाउनै पाइनँ। साथीहरुलाई सम्हाल्नै पाइनँ। अहिले समय पाएको छु। म सम्हाल्ने कोसिस गर्छु।

कसरी अगाडि बढ्नुहुन्छ त अब?

किसुनजीलाई चुनाव लडाउन खोज्दा एकपटक भनेको थिएँ। 'मेरो पक्षमा जनमत छ' भन्नुभयो। मैले भने तपाईँको पक्षमा जनमत त किन नहुनु। तपाईँको पक्षमा जनमत भए पनि जनमत प्रभावित पार्ने तत्वहरु छन् भनेँ, काठमाडौं १ मा। उहाँले महसुस गर्नुभएको थियो। चुनाव नलड्ने पनि भन्नुभएको थियो। उहाँलाई चुनाव लडाइयो। षड्यन्त्र त भयो नि।

बीपीले भन्नुभएजस्तै ग्रान्ड डिजाइनका खलपात्रहरु त छन् नि। गिरिजाबाबुले पनि यो शब्दको प्रयोग गर्नुभयो। पार्टीमा यस्तो प्रवृत्ति आइरहेको छ। यसले जनमतलाई अन्ततिर मोड्ने कोसिस गरिरहेको छ। यसलाई पन्छाउँदै अगाडि बढ्नुपर्छ।

यो बीचमा हामीले सभापतिका तीन जना आकंक्षीसँग भेट्यौं। उपसभापति निधि, पूर्व उपसभापति सिंह र महामन्त्री कोइरालासँग। तीनै जनामा आकंक्षा देखियो त सभापतिका लागि!

साथीहरुसँग छलफल भइरहेको छ। आफूलाई लागेको बमोजिम एक्लाएक्लै गएर परिवर्तन सम्भव छैन। हामी नेतामात्र हुन खोजेका हौं कि? पदमात्र चाहेको हौं कि प्रवृत्तिमा परिवर्तन चाहेको हौं? परिवर्तन चाहेको हो भने एक ठाउँमा हुनुपर्‍यो नि त। होइन भने ढोङमात्र रहेछ भन्छन्।

महात्वकांक्ष त बढेको छ नि? उमेरको पनि हिसाब गर्नुहुन्छ उहाँहरु?

मेरो उमेरलाई भोट दिनुस् भन्दिनँ। म यसलाई अनडेमोक्रेटिक मान्छु। मेरो विचारलाई भोट दिनुस् भन्ने कुरालाई म डेमोक्रेटिक मान्छु। यो विचारलाई स्थापित गर्न सक्यौं भने हाम्रो पार्टी जीवित रहन्छ। सकिएन भने पार्टीको भविष्य छैन भनेर हामी टकटकिए हुन्छ।

युवा पुस्ता त पूरै टाढियो त कांग्रेसबाट?

अलिकति फिल गरेको छु मैले पनि। बीपीबाट यतासम्म आकर्षण घट्दैछ। म निरन्तर किन बोल्दैछु? बीपीले बोल्नुभएको गणेशमानले भन्नुभएको समाजवाद नयाँ सन्दर्भमा कसरी मिट हुन्छ? बीपीले भन्नुभयो - हरेक परिवार बिहान बेलुका दूध र भात खान पाउने। रोग लाग्दा उपचार गर्न पाउने। हरेक गाउँमा आधुनिक सुविधा पुर्‍याउने। बीपीकै विचारलाई उचाईमा लाने हो। निमुखालाई त न्याय चाहियो।

आजको सन्दर्भलाई कसरी ल्याउने? विदेशबाट गाउँ फर्केकालाई गाउँमै बस्ने वातावरण बनाउँ। सबैले न्याय पाउन् भन्ने कुरा नै समाजवादको मुलमन्त्र हो।

काँग्रेसको किचलो देखेर त्यो पुस्तामा त निराशा छाइसकेको छ

म त्यति निराश भइसकेको छैन। काँग्रेसलाई विचारको धरातलमा उभ्याउन सकिन्छ। यो वा त्यो समाउनैपर्छ। बीचको बाटो हुने छैन। लर्‍याङमर्‍याङको बाटो हुने छैन।

बागी भन्दै गोविन्दराज जोशीलाई पनि कारबाही गरियो। तपाईंमाथि पनि आलोचना हुन थालिसकेको छ नि?

वागीलाई कारबाही गर्नु ठीक हो। त्यससैले सामान्य कुरामा राग नमच्चाउँ। 'जो चोर उसैको ठूलो स्वर' त गर्न भएन नि। म त्यस्ता कुरामा ज्यादा ध्यान दिन्नँ।

कारबाही सही हो त यही बेला?

टाइममा गर्नुपर्ने कारबाही रोकेर राखे। छलछाम गर्न खोजिएको छ। त्यसैले मैले अनुशासन समितिको विवेकमाथि प्रश्न उठाएको छु। बार्गेनिङ गर्न खोजिएको छ।

यसको मतलब तपाईँको सभापति पदको दाबीलाई निस्तेज पार्न खोजिएको हो?

यो सबै किसिमका प्रपञ्चहरु यहाँभित्र छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell