PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

वीरगंजमा डाक्टर, सैनिक, नेतासहित ४३ जनामा कोरोना संक्रमण



राधेश्याम पटेल

वीरगंजमा डाक्टर, सैनिक, नेतासहित ४३ जनामा कोरोना संक्रमण

वीरगंज: पर्साको वीरगंजमा ६ महिला र ३७ पुरुष गरी कुल ४३ कोभिड १९ का नयाँ संक्रमित थपिएका छन्। जसमध्ये दुई जना बाराका र ४१ जना पर्साको विभिन्न ठाउँमा बसोबास गर्ने रहेका छन्। पर्साका ४१ मध्ये ३९ जना वीरगंजमा बसोबास गर्नेहरु रहेका छन्। संक्रमितहरु ७ वर्षदेखि ७३ वर्ष उमेर समूहका छन्।

संक्रमित हुनेमा नारायणी अस्पतालका एक जना चिकित्सकको कन्ट्याक्ट ट्रेसिङमा परेका महोत्तरी घर भई वीरगंजमा बस्ने ३७ वर्षिय डाक्टर, चण्डी प्रसाद गण वीरगंजका विभिन्न उमेर समूहका ११ जना नेपाली सेनाका सुरक्षाकर्मी, नेपाली काँग्रेसका ५६ वर्षिय नेता, वीरगंज महानगरभित्रका एक माध्यमिक विद्यालयका ४७ वर्षिय प्रधानाध्यापक, वीरगंज–८ गहवा घर भएका नेपाल इन्भेष्टमेन्ट बैंकका २८ वर्षिय कर्मचारी, लायन्स क्लब वीरगंजका दुई जना पदाधिकारीमा पनि संक्रमण देखिएको छ।

पर्सा, पकहामैनपुर गाउँपालिका वडा नं २ बस्ने २७ वर्षिय र वीरगंज ८ गहवा बस्ने २० वर्षिय लायन्स क्लबको पदाधिकारीमा कोरोना पुष्टि भएको हो।

त्यसैगरी, वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासका एक जना ३० वर्षिय पुरुष कर्मचारीमा पनि कोरोना पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ। नारायणी अस्पतालमा डायलासिस गराउने वीरगंज ८ गहवाकी ३५ वर्षिया महिलामा पनि कोरोना संक्रमण देखिएको छ।

त्यसैगरी, गण्डक अस्पतालमा उपचाररत वीरगंज–४ विर्ताका ४० र ५० वर्षका दुई जना शंकास्पद पुरुष विरामीमा पनि कोरोना पुष्टि भएको छ। नारायणी अस्पतालका दुई जना कर्मचारीमा पनि संक्रमण देखिएको छ। त्यसैगरी, पर्सा पटेर्वा सुगौलीका ३३ वर्षिय पुरुष, बारा, प्रसानै २ का ७३ वर्षिया महिला र देवताल गाउँपालिकाका २२ वर्षिया महिलामा पनि संक्रमण देखिएको नारायणी अस्पतालले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell