वीरगंज : पर्सा प्रशासनले कारोनासँग मिल्दो जुल्दो लक्षण भएका शंकास्पद विरामीका लागि छुट्टै आइसोलेसनको व्यवस्था गर्न जिल्लाभित्र सम्पूर्ण अस्पताललाई निर्देशन दिएको छ।
जिल्ला प्रशासन कार्यालय मातहत रहेको कोभिड १९ नियन्त्रण तथा व्यवस्थापन गर्न गठित संकट व्यवस्थापन केन्द्रले वीरगंजका सबै अस्पतालले अलग्गै आइसोलेसन बनाएर विरामी भर्ना र उपचार गर्नुपर्ने निर्देशन दिएको हो।
आजदेखि वीरगंजका सबै अस्पताललाई परिपत्र गरी निर्देशन दिइने संकट व्यवस्थपन केन्द्रका प्रवक्ता एवं सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए। ‘अब उपचारको अभावका कुनै विरामीको अवस्था नबिग्रियोस र मृत्यु नहोस् भन्ने उद्देश्यले सबै अस्पतालमा सहज उपचार सेवा प्रवाह गर्न यस्तो निर्णय भएको हो,’ उनले भने, ‘अब कसैले उपचार गर्न मानेन वा निर्देशित मातपदण्डमा रहेका सेवा दिएन भने अस्पताल व्यवस्थापन पक्षलाई कारवाही गरिने छ।’
बस्नेतका अनुसार उपचार गरिरहेको अवस्थामा स्वाब संकलन गरी कोभिड १९ पोजेटिभ संक्रमण पुष्टि भएमात्र कोभिड अस्पतालमा रिफर गर्न पनि अस्पताहरुलाई निर्देशन दिइएको छ।
जिल्लामा सञ्चालित निजी अस्पतालहरुले विना पीसीआर रिपोर्ट विरामीलाई भर्ना नगरेको गुनासो आउने गरेको छ। वीरगंजका विभिन्न निजी अस्पतालले उपचारका लागि अस्पताल पुग्ने गरेका बिरामीलाई कोभिडको आशंकामा उपचार नै नगरी फर्काउँदा बिरामीको ज्यान गएका समाचार बाहिर आएका छन्।
गत साउन १४ गते मात्रै वीरगन्ज महानगरपालिका ६ का एक जना ७० वर्षिय पुरुषको मृत्यु भएको थियो। वीरगंजका नेशनल मेडिकल कलेज, भवानी हस्पिटल, इन्डोनेपाल हस्पिटल, लगायतका प्रायः सबै अस्पतालमा कोरोनाको आशंकामा अन्य रोगका बिरामीको चेकजाँच र उपचार नगर्दा अस्पताल घुमाउँदा घुमाउँदै बिरामीको ज्यान जाने गरेको छ। हाल गण्डक र वीरगंज हेल्थ केयर अस्पताल भने नारायणी अस्पताल मातहत रहने गरी कोभिड अस्पतालको रुपमा परिणत भएको छ। नारायणी अस्पताललाई भने जनरल अस्पतालको रुपमा सञ्चालनमा ल्याउने तयारी छ।
