काठमाडौं : परराष्ट्र मन्त्रालयले लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा भएको विस्फोटबाट कुनै पनि नेपाली नागरिक प्रभावित नभएको जनाएको छ। मङ्गलबार भएको शक्तिशाली विस्फोटमा परी १३५ जना भन्दा बढीको मृत्यु भएको छ भने चार हजारभन्दा बढी घाइते छन्।
परराष्ट्रका प्रवक्ता भरतराज पौड्यालले बेरुतमा रहेका नेपाली नागरिक सकुशल रहेको बताए। कायरोस्थित नेपाली राजदूतावास बेरुतका लागि नेपालका अवैतनिक वाणिज्यदूत र गैरआवासीय नेपाली संघसँग निरन्तर सम्पर्कमा रहेको उनले जानकारी दिए। उनका अनुसार वैदेशिक रोजगारीका सिलसिलामा लेवनानमा १२ हजारको हाराहारीमा नेपाली छन्।
बेरुत घटनाप्रति परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले दु:ख व्यक्त गरेका छन्। उनले विस्फोटबाट भएको धनजनको क्षतिले आफूलाई मर्माहत तुल्याएको बताउँदै मृतकका परिवारजनका साथै लेवनान सरकार र त्यहाँका जनतामा सहानुभूति, समवेदना एवं ऐक्यबद्धता प्रकट गरेका छन्।
