PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

ओलीको दूत बनेर खुमलटार पुगेका सुवास नेम्वाङलाई प्रचण्डले भने, 'पार्टी एकता विरोधी गतिविधि रोक्नुस् भन्नुहोला'



प्रकाश भण्डारी

ओलीको दूत बनेर खुमलटार पुगेका सुवास नेम्वाङलाई प्रचण्डले भने, 'पार्टी एकता विरोधी गतिविधि रोक्नुस् भन्नुहोला'

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दलका उप-नेता सुवास नेम्वाङले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन्।

बिहीवार बिहान अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको सन्देश लिएर प्रचण्डकै निवास खुमलटारमा नेम्वाङ पुगेका हुन्। पार्टी भित्रको आन्तरिक बिवाद बढदै गएपछि आफू खुमलटार पुगेको नेम्वाङले बताए।

भेटपछि दुई अध्यक्षबीच कुरा मिल्नेमा आफू आशावादी रहेको उनले बताए। 'एक एक विषयबस्तुमा भन्दा पनि समग्रमा पार्टी विवादबारे कुरा भएको हो। उहाँसँग कुरा गरेपछि म आशावादी छू,' उनले भने। दुई अध्यक्षबीचको संवादहीनता बढ्दै गएपछि फेरि पनि संवादका लागि आफूले भेटेको उनले बताए।

पार्टी विवाद मिलाउन प्रचण्ड सकारात्मक देखिएको उनको भनाई छ। नेम्वाङले फेरि पनि दुई अध्यक्षबीच चाँडै भेटघाट गर्ने विषयमा पनि छलफल भएको जानकारी दिए।

प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले एकता बिरोधी काम नगर्ने बिषयमा कुराकानी भएको दाबी गरे। प्रचण्डले सुवास नेम्वाङमार्फत ओलीलाई पार्टी एकता विरोधी काम रोक्न आग्रह गरेको सापकोटाले बताए। 'पार्टी एकता विरुद्धमा भइरहेका गतिविधि रोक्नुस् भन्नुहोला,' प्रचण्डलाई उद्धृत गर्दै सापकोटाले भने।

नेकपाभित्र ओली-प्रचण्ड समूहले आ-आफ्ना समूहमा एकअर्का विरोधी गतिविधि तीब्र बनाएको बेला नेम्वाङले प्रचण्डलाई भेटेका हुन्।  पार्टीमा देखिएको विवाद मिलाउन भन्दै असार १० गते सुरु भएको स्थायी कमिटी बैठक पार्टीभित्रको किचलोका कारण चल्न सकेको छैन। प्रचण्ड-नेपाल समूह जसरी पनि ओलीले पद छाड्नुपर्ने रणनीतिमा छ भने ओली समूह पद जोगाउने रणनीति बनाइरहेको छ।

बुधवार प्रचण्ड र वरिष्ठ नेता माधव नेपालले आफू निकट पत्रकारलाई बोलाएर बहुमतको निर्णय ओलीले मान्नुपर्ने बताएका थिए। यसअघि ओलीले कोभिड १९ संक्रमणबारे थप रणनीति बनाउन बोलाएको विज्ञहरुको बैठकमा पार्टी कमिटीका बैठक अब बस्न नसक्ने बताएका थिए। उनले आफूविरुद्ध गुटबन्दीमा लागेको भन्दै प्रचण्ड-नेपाल गैरजिम्मेवार भएको आरोप लगाएका थिए।

एक अर्काविरुद्ध अभिव्यक्ति आइरहेका बेला प्रचण्ड-ओलीबीचको संवाद भने अनिश्चित भएको छ। यसअघि नेकपाका वरिष्ठ नेता झलनाथ खनाल र प्रचण्डले बालुवाटारमा भेटेर राजनीतिक नियुक्तिप्रति आपत्ति जनाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell