PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

राजनीतिक भागबन्डाले देशलाई थिलथिलो बनाएपछि कलम चलाएँ : राजीव उपाध्याय



पहिलोपोस्ट

राजनीतिक भागबन्डाले देशलाई थिलथिलो बनाएपछि कलम चलाएँ : राजीव उपाध्याय

काठमाडौं : पत्रकार एवं लेखक राजीव उपाध्यायको अर्थराजनीतिक पुस्तक 'कबाल्स एन्ड कार्टेल्स' सार्वजनिक भएको छ। विहीवार आयोजित कार्यक्रममा अर्थशास्त्री विश्व पौडेल, वुमेन लिडकी कार्यकारी निर्देशक हिमा विष्ट, पत्रकार किशोर नेपाल र लेखक उपाध्यायले पुस्तक लोकार्पण गरे।

पुस्तकबारे अर्थशास्त्री विश्व पौडेलले पुस्तकले नेपालमा बहुदलीय राजतन्त्र, माओवादीको सशस्त्र द्वन्द्वदेखि गणतन्त्रसम्म आइपुग्दाको परिवर्तनलाई सूक्ष्म रुपमा प्रस्तुत गरेको बताए।

विश्व बैंकमा काम गर्दा राजीव उपाध्यायले देखेको समाज एवं देश परिवर्तनमा प्रतिष्ठित व्यक्तिहरुको केकस्तो भूमिका थियो भन्ने विषयबारे पुस्तकले प्रष्ट पारेको बताए। भने,'पुस्तकले सरल र सहज ढङ्गले नेपालको अर्थराजनीति बुझाएको छ।'

देशको बिग्रँदो अर्थतन्त्र, त्यसमा विदेशीहरुको भूमिका रहेको उनको तर्क छ।

वुमेन लिडकी कार्यकारी निर्देशक हिमा विष्टले पुस्तक नेपालको राजनीतिक एवं आर्थिक परिवर्तनको दस्तावेज बन्ने बताइन्।

'नेपालमा वैदेशिक सहायताको ‘भुलभुलैया’ र त्यसको आन्तर्य बुझ्न यो पुस्तक आवश्यक छ,’ उनले भनिन्।’

कार्यक्रममा पत्रकार किशोर नेपाल मध्यस्तकर्ता रहे। उनले उपाध्यायको पुस्तक समकालीन नेपालको जीवन्त तस्वीर रहेको बताए। देशको विगतलाई रिभिजिट गर्न पनि पुस्तक उपयोगी हुने उनको तर्क छ।

लेखक उपाध्यायले अध्ययन र अनुभवको आधारमा पुस्तक तयार पारेको बताए। भने,'नेपालको पछिल्लो राजनीतिक अस्थिरता, खिचातानी आदिबारे पाठकलाई बुझाउनु मेरो उद्देश्य हो।'

पञ्चायतकालदेखि गणतन्त्रसम्म, भूकम्पदेखि अन्य महामारीको साक्षी बन्न पाउनु अनुभव जुटाउने मौका बनेको बताए। तर, परिवर्तनका लागि अहिलेको पुस्ताले उल्लेख्य केही गर्न नसकेको उनको भनाइ छ।

'त्यसैले आफूले देखेको भोगेको आधारमा देशको राजनीतिक भागबन्डा आदिले देशलाई कसरी थिलथिलो बनाएको छ भन्ने विषयमा कलम चलाएँ', लेखकले भने।

उनले राजनीतिज्ञ र बिचौलिया बीचको अनुचित सम्बन्धले देशको अवस्थामा पारेको असर बारे चित्रण पुस्तकमा गरेको जानकारी दिए। 

फाइन प्रिन्टले प्रकाशित गरेको 'कबाल्स एन्ड कार्टेल्स' २८२ पृष्ठ लामो छ। अंग्रेजी भाषामा उपलब्ध किताबको बजार मूल्य ७ सय २० रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell