PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कोभिड-१९ को महामारीबीच कसरी मनाउने पर्व? निम्तो नदिने बरु घरघरमा प्रसाद पुर्‍याउने!



विधुर ढकाल

कोभिड-१९ को महामारीबीच कसरी मनाउने पर्व? निम्तो नदिने बरु घरघरमा प्रसाद पुर्‍याउने!

काठमाडौं :  गत बुधवार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर देवकोटाले काठमाडौंलगायत बाक्लो बस्ती भएको ठाउँमा कोभिड १९ को संक्रमण बढ्दै जान थालेको भन्दै सतर्कता नअपनाए काठमाडौंमै अस्पतालका बेड खाली नहुने चेतावनी दिए।

सरकारले लगाएको लकडाउन १२० दिनमा खुला भएपछि काठमाडौं उपत्यकामा संक्रमण बढ्दै गएको छ। अहिले काठमाडौंका तोकिएका अस्पतालहरु भरिन थालेका छन् भने संक्रमितलाई होम आइसोलेसनमा राख्न थालिएको छ।

'काठमाडौंमा संक्रमणको दर बढेको छ। व्यवसायीलाई सावधानी अपनाउनुहोला। स्वाब संकलनपछि रिपोर्ट नआएसम्म क्वारेन्टाइनमा बस्नुहोला,' उनले भने, 'काठमाडौं उपत्यकालगायत अन्य बाक्लो बस्ती भएको ठाउँमा संक्रमणको दर बढेकोले अस्पतालमा बेड उपकरण र स्वास्थ्यकर्मी अभाव हुन सक्ने भएकोले सावधानी अपनाउन अनुरोध गर्दछु।'

नेपालमा चाडपर्वको सिजन सुरु भएको छ। जाडपर्वको सिजनसँगै आफन्तहरु भेटघाट पूजा भोज भतेरसमेत बढ्दै जान्छन्। यस्तोमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चाडपर्व जात्रा तथा उत्सवहरु मनाउँदा पालना गर्नुपर्ने जनस्वास्थ्यका मापदण्डहरु तयार गरेको छ।

मन्त्रालयले तयार पारेको मापदण्डमा व्यक्तिगत तथा सामुहिक वा संस्थागत गरी विभाजन गरिएको छ।

'नेपालमा आगामी दिनहरूमा प्रमुख चाडपर्व, जात्रा तथा उत्सवहरूको समय आउँदै गरेकाले कोभिड १९ को सन्दर्भमा स्वास्थ्यका दृष्टिकोणले सुरक्षित बनाउँदै मनाउनुपर्ने बाध्यात्मक परिस्थितलाई ध्यानमा राखी मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड तयार पारेको जनाएको छ। यो मापदण्ड घरपरिवार र समुदायस्तरमा मनाइने सबै प्रकारका चाडपर्व, जात्रा र उत्सवहरूलाई ध्यानमा राखी तयार गरिएको भन्दै नेपालभर सबैमा लागू हुने उल्लेख छ।

मन्त्रालयले तयार गरेको मापदण्डमा व्यक्तिगत तहमा एसएमएस आवश्यक र अनिवार्य भनेको छ।

'सबै किसिमका चाडपर्व, जात्रा तथा उत्सव मनाउँदा एउटै घरमा बसोवास गर्ने घरपरिवारका व्यक्तिबाहेक अन्यसँग भेटघाट कम गर्ने। यदि भेटघाट गर्नेपर्ने भएमा कम्तिमा २ मिटर (६ फीट) को दूरी अनिवार्यरूपमा कायम गर्ने (एस), चाडपर्वको समयमा सकेसम्म घर बाहिरको भेटघाटमा नजाने। यदि जानै पर्ने भएमा सहभागी हुँदा मास्क (सर्जिकल वा ३ तहको कपडाको मास्क) को प्रयोग अनिवार्य रूपले गर्ने (एम), चाडपर्व, जात्रा तथा उत्सव मनाउने कार्यक्रम स्थलमा प्रवेश गर्दा अनिवार्य रूपले साबुनपानीले हात धुने वा स्यानीटाइजर प्रयोग गर्ने (एस),' मापदण्डमा उल्लेख छ।

आधरभुत मापदण्डको रुपमा २५ जनाभन्दा बढी भेला हुन नपाउनेदेखि हात नमिलाउनेसम्मलाई समावेश गरिएको छ। त्यस्तै आर्थिक कारोवार पनि विद्युतीय माध्यमबाट गर्न भनिएको छ।  

यी हुन आधारभूत मापदण्ड

१. धार्मिक स्थलमा हुने हरेक भेलामा/ कार्यक्रममा बढीमा २५ जनामात्रै भेला हुने व्यवस्था गर्ने,

२. अभिवादन गर्दा भौतिक दुरी कायम गरी टाढैबाट नमस्कार वा अभिवादन गर्ने, तर अंगालो मार्ने  वा शरीर छुने कुनै प्रकारको अभिवादन नगर्ने,

३. सतहहरू (रेलिङ, बार आदि), देवीदेवताका मूर्तिहरू र धेरै व्यक्तिहरूले प्रयोगमा ल्याउने सक्ने सामग्रीहरू नछुने,

४. अनुहारको टी क्षेत्र - आँखा, नाक र मुख सकेसम्म नछुने यदि छुनै परेमा हात धोई वा हातमा स्यानीटाइजर प्रयोग गरी मात्र छुने,

५. खोक्दा वा हाछ्यु गर्दा रुमाल वा टिस्यु पेपरले मुख छोप्ने, उक्त सम्भव नभएमा कुहिना दोब्राएर छोप्ने,

६. सार्वजनिक स्थलमा जथाभावी नथुक्ने,  

७. सम्भव भए बमोजिम पैसाको कारोबार गर्दा विद्युतीय माध्यमबाट कारोबार गर्ने,

मापदण्डमा उमेर समूहका आधारमा समुदायमा मनाइने पर्व मनाउन रोकसमेत लगाएको छ। वृद्ध ताथा बालबालिकालाई समूहमा मनाइने पर्वमा सहभागी नहुन भनिएको छ।

कस्ता व्यक्तिहरुले सामूहिक पर्वमा सहभागिता नजनाउने?

१. ज्वरो, खोकी तथा श्वासप्रश्वासको समस्या भएका व्यक्तिहरू,

२. ६० वर्षभन्दा बढी उमेरका व्यक्तिहरू,

३. १२ वर्षमुनिका बालबालिकाहरू,

४. गर्भवती तथा सुत्केरी महिलाहरू,

५. रोग प्रतिरोधी क्षमता कम भएका व्यक्तिहरू,

६. मधुमेह, क्यान्सर, मुटुरोग, उच्च रक्तचाप, मिर्गौला र कलेजोसम्बन्धी समस्या भएका,

७. दमलगायत अन्य श्वासप्रश्वास सम्बन्धी दीर्घरोग भएका व्यक्तिहरू,

८. अंग प्रत्यारोपण गरेका व्यक्तिहरू,

९. शरीरमा मेडिकल उपकरणहरू राखेका व्यक्तिहरू,

१०. हालसालै सर्जरी गरेका व्यक्तिहरू

११. तत्काल (विगत १५ दिन भित्र) सबै प्रकारका रोगको उपचारबाट निको भएका व्यक्तिहरू आदि

त्यस्तै मापदण्डमा पर्व उत्सवका कार्यक्रम आयोजना गर्नेलाई पनि व्यवस्थापनसम्बन्धी मापदण्ड समावेश गरिएको छ। आयोजकले पर्व तथा उत्सव मनाउँदा आवश्यक सरसफाइको प्रबन्ध मिलाउन भनिएको छ।

यी हुन् आयोजकले व्यवस्थापन गर्नु पर्ने मापदण्डहरु

१. भीडभाड व्यवस्थापनका लागि पर्याप्त जनस्वास्थ्यका सुरक्षासहित तालिम प्राप्त कर्मचारी वा स्वयंसेवकहरूको व्यवस्था गर्ने,

२. हात धुन साबुन पानीको पर्याप्त व्यवस्था वा स्यानीटाइजरको उपलब्धता अनिवार्य मिलाउने,

३. कार्यक्रम स्थलको सरसफाई र हरेक दिन कम्तीमा दुई पटक निसंक्रमीकरण (डिस्इन्फेक्ट्) गर्ने,

४. धेरै सम्पर्कमा आउने सतहहरू (रेलिङ, बार आदि), देवीदेवताका मूर्तिहरू आदि समयसमयमा सफा गर्ने,

५. व्यक्तिहरू बीचको सम्पर्क कम गर्नका लागि कार्यक्रमको अवधि जतिसक्दो छोटो राख्ने,

६. कार्यक्रम स्थलमा जनस्वास्थ्यका मापदण्ड र कोभिड-१९ सम्बन्धी पोस्टर पम्पलेटहरू (एसएम लगायत) पर्याप्त र अनिवार्य रूपले टाँस्ने,

७. कार्यक्रमस्थलमा भौतिक दूरी कायम भए नभएको पालना गर्न संकेत चिन्हहरू बनाई सहभागीहरूलाई पालना गर्न लगाउने,

८. प्रवेशद्वारमा थर्मल थर्मोमिटरले तापक्रम जाँच गर्ने र १००.४ भन्दा बढी तापक्रम भएका व्यक्तिलाई कार्यक्रममा सहभागी नगराउने, निजहरूलाई नजिकको स्वास्थ्य संस्थामा थप परामर्श र जाँचका लागि पठाउने,

९. स्थानीय तहमा रहेका स्थानीय प्रशासन, स्वास्थ्य तथा अन्य सरोकारवाला निकायहरू सँग समन्वय गरी स्वास्थ्य र सुरक्षाको मापदण्ड पालना हुने गरी कार्यक्रमको उचित प्रबन्ध मिलाउने,

१०. कार्यक्रम स्थलमा धुम्रपान, मद्यपान र सुर्तीजन्य पदर्थहरूको सेवन पुर्ण रूपले निषेधित गर्ने,

११. जनस्वास्थ्यका मापदण्ड पालना नगर्ने र जथाभावी थुक्ने व्यक्तिलाई स्थानीय प्रशासनले संक्रामक  रोग ऐन २०२० बमोजिम कारवाही गर्ने,

१२. फोहोर फाल्नका लागि बिर्को (ढकनी) भएका फोहारदानीको पर्याप्त व्यवस्था मिलाउने र  व्यवस्थापन गर्दा सावधानी अपनाई सुरक्षित तवरले बिसर्जन गर्ने,

१३. सकेसम्म प्रसाद तथा टीका वितरण नगर्ने, गर्नै परेमा प्याकेजमा स्वस्थ व्यक्तिले पंजा र ग्लोभ्स लगाएर प्याक गर्ने व्यवस्था मिलाउने र २ मिटरको भौतिक दुरी कायम गरी वितरण गर्ने,

१४. भीड कम गर्न स्थानीय प्रशासन र सरोकारवालाहरूसँग समन्वय गर्नसमेत मापदण्डमा उल्लेख छ।

मापदण्डमा भिडभाड कम गर्न आयोजकहरुलाई विभिन्न उपायहरुसमेत सुझाइएको छ। त्यसरी आयोजना हुने सामुहिक पर्वमा परिवारका एक जनालाई मात्र उपस्थित गराउने र प्रसाद घरघरमै पुर्‍याउने व्यस्वस्था गर्न सुझाइएको छ।

त्यस्तै नदी तथा तलाउमा नुहाउनुको सट्टा वैकल्पिक व्यस्था मिलाउनसमेत सुझाब दिइएको छ। मन्त्रालयले जारी गरेको मापदण्डमा एकाघरका परिवारका सदस्यहरु मात्रै बसी चाडपर्व मनाउन सुझाब दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell