PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

पेलेरै अघि बढे प्रधानमन्त्री ओलीले ठूलो अप्ठेरो भोग्नुपर्नेछ : भीम रावल (वार्ता)



कमलराज भट्ट

पेलेरै अघि बढे प्रधानमन्त्री ओलीले ठूलो अप्ठेरो भोग्नुपर्नेछ : भीम रावल (वार्ता)
फाइल फोटो

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य डा. भीम रावल पार्टीभित्र प्रतिपक्षी नेताका रुपमा परिचित छन्। उनले सरकारमाथि निरन्तर प्रश्न उठाइरहन्छन्। अहिले नेकपाभित्र देखिएको विवादमा उनी प्रधानमन्त्री केपी शर्मा ओली समूहविरुद्ध आक्रामक देखिन्छन्।

पार्टीभित्र माधव नेपाल समूह निकट मानिने रावलसँग पार्टीभित्रको विवाद र यसको समाधानबारे पहिलोपोस्टका कमलराज भट्टले गरेको कुराकानीको सम्पादित अंश :

अहिलेको नेकपाको विवाद पदको लडाईं कि विधि पद्धतिको?

अहिलेको विवाद पदका लागि हो भन्ने कुरा गलत हो। एकीकरणपछि पार्टी र सरकार सैद्धान्तिक, वैचारिक, विधि पद्धतिबाट चलेको छैन। गत माघको दोस्रो केन्द्रीय कमिटी बैठकले पार्टी विधि विधानअनुसार अगाडि बढ्ने, बैठकहरु निर्धारित समयमा गर्ने, देश र पार्टीमा असर हुने गरी भएका कामहरुको समीक्षा गर्ने र सच्याउने निर्णय गरेको थियो। निर्णयअनुसार काम नहुँदा अहिलेको स्थिति सिर्जना भयो। पार्टीसँग मेल नखाने गतिविधि भए। विधि पद्धतिको कुरा अहम् छ। जिम्मेवारी हेरफेर गरेर काम हुन्छ भने मात्र पदको कुरा आउने हो। अहिलेको प्रश्न सैद्धान्तिक, वैचारिक, विधि, नेतृत्वको आचरण र कार्यशैलीमा हो।

विवाद समाधानका लागि तपाईहरुले माग गरेको स्थायी कमिटी पनि राम्ररी बस्न सकेको छैन। केन्द्रीय कमिटी माग भएको छ। कोरोना महामारीमा ४५० जना भएको केन्द्रीय कमिटी बोलाउन मिल्छ र?

म यसमा ओठे जवाफ दिन चाहन्न। काभ्रेमा ५ सय जनाको कार्यक्रममा मन्त्री कसरी उपस्थित भए? सडकमा सयौंको संख्यामा जुलुस कसले निकाल्यो? बालुवाटारमा ५० औं जनाको भेला किन भयो? यी कामहरु गर्न कोरोना महामारी र २५ जनाको नियम नलाग्ने, पार्टीमा केन्द्रीय कमिटीको माग हुँदा नियमको कुरा गर्ने? देश र जनतालाई अप्ठेरो परेको बेला समस्याको समाधान खोज्न नै पार्टीको आवश्यकता हुन्छ। यस्तो बेला पार्टी परिचालन भएन भने अस्तित्व बाँकी रहन्छ?

ल केन्द्रीय कमिटी संख्यामा ठूलो भयो ठीक छ। त्यसो हो भने स्थायी कमिटी किन चलेन? अन्तर्राष्ट्रिय स्तरमा भौतिक दुरी कायम गरेर, मास्क र सुरक्षा विधि अपनाएर ठूला बैठक भएका छन्। हाम्रोमा किन नहुने? प्रज्ञा प्रतिष्ठानमा सिट दुरी कायम गरेर, खुला ठाउँमा पाल टाँगेर पनि बस्न सकिन्छ। मात्र इच्छा शक्ति हुनुपर्छ। पार्टी नेतृत्वमा इच्छा शक्तिको कमी छ।

अध्यक्ष प्रचण्डले एकपक्षीय रुपमा बोलाएको स्थायी कमिटी बैठकमा तपाईले पदका लागि हाम्रो टाउको नगन्नुस् भन्नुभएको थियो, यसको अर्थ के हो?

पदका लागि टाउको नगन्नु र भीम रावलले प्रचण्डको साथ छाडे भन्ने कुरा जसले सम्प्रेषण गरे त्यो षडयन्त्रकारीको गुणी हो। मैले त्यस्तो भनेकै होइन। यो बैठक पदको लागि मात्रै हो भन्ने सन्देश बाहिर नजाओस् भनेको हो। पदको मात्रै होइन पार्टी विधिपद्धतिमा चल्नुपर्छ भनेको हो।

प्रधानमन्त्रीसँग छलफल भएपछि तपाईं लचिलो भन्दै गएको पनि भनिन्छ नि?

प्रधानमन्त्री पार्टीको अध्यक्ष हो। अध्यक्षसँग पार्टीको सदस्यको हिसाबले छलफल भइरहन्छ। जहाँसम्म म लचिलो भएको भन्ने कुरा छ, म आफ्नो अडानमा अडिग छु। पार्टी विधि र पद्धतिमा चल्नुपर्छ। जनतासँग गरेका वाचाअनुसार सरकार चल्नुपर्छ। देशहित र राष्ट्र हितमा चल्नुपर्छ।

भीम रावलले आफ्नै सरकारको खेदो खने भन्नेहरु पनि छन् नि?

त्यो दृष्टिदोष हो। म सरकार र प्रधानमन्त्रीको विरोधी होइन। किन विरोधी हुने? मैले सरकार र सरकार प्रमुखबाट पार्टी, संविधान र देश हितविपरित भएका निर्णयमा खबरदारी गरेको हो। गलत गतिविधिविरुद्ध मात्र बोलेको हो। पार्टीको सरकारले पार्टीको सिद्धान्तअनुसार काम गर्नुपर्छ। न कि मन्त्रालयलाई कम्पनीको व्यापारजस्तो बनाउन खोज्ने, विधि पद्धती मिचेर स्वेच्छाचारी हुने। यसले पार्टीलाई नै हानी गर्छ। मैले त पार्टी र सरकारलाई बलियो बनाउन खोजेको हुँ।

अबको निकास के हो?

पार्टी विधान, घोषणापत्र, राष्ट्रहित र जनहितअनुसार नेतृत्व बैठकमा गयो समस्या समाधान हुन्छ। विधि विधान नमान्ने, बैठकमा नजाने हो भने त दलीय व्यवस्था नै समाप्त हुन्छ। समस्या समाधान गर्न चाह्यो भने सजिलो छ। होइन स्वेच्छाचारी रुपमा हिँडेर पार्टी विसर्जन गर्ने दिशातिर जाने हो भने कसरी चल्छ?

तपाई बैठकले समाधान हुन्छ भन्नुहुन्छ, प्रधानमन्त्री ओली मिल्ने भन्दा पनि पेलेर जाने मुडमा देखिन्छन्, पार्टी विभाजनसम्मको कुरा सुनिन्छ?

पार्टीको विधि, पद्धति र प्रणालीअनुसार जाने हो समाधानको सम्भावना पर्याप्त देख्छु। पेल्ने कुरा सम्भव हुँदैन। त्यसरी अगाडि बढ्ने मान्छले निकै ठूलो अप्ठेरो भोग्नुपर्ने छ। कसैले चाहँदैमा पार्टी विभाजन हुन्न।

तपाईले समाधानको विन्दु बैठक भन्नुभयो। तर प्रधानमन्त्री बहुमतले पदबाट हटाउँछ भनेर बैठकबाट डराई रहनुभएको छ नि? तपाईहरुले हटाउनै खोजेको हो?

पार्टीको अध्यक्ष बैठकबाट डरायो भनेर कसरी चल्छ? बैठकमा छलफल होला। सुधारको कुरा होला। कामहरु रुपान्तरित होलान। जिम्मेवारी बाँडफाँड होला। पुनर्संरचना हुनसक्ला। छलफलले हटाउँछ भन्ने नै हुँदैन। विधि र पद्धतिअनुसार चल्न मार्ग प्रशस्त गर्छ। पहिल्यै कल्पनामा डराएर कसरी हुन्छ? त्यसकारण अहिले निकास बैठक नै हो। प्रधानमन्त्रीले सामना गरेर अघि बढ्नुपर्छ।

निकासका लागि तपाईको सुझाव के त?

हाम्रो पार्टी र सरकारसँग जनताले धेरै अपेक्षा गरेका छन्। दुबै अध्यक्ष जनतासँग गरेको वाचाअनुसार अघि बढ्नुस्। पार्टी भनेको व्यक्ति होइन। बैठक बसेर छलफल गर्नुपर्छ। सामुहिकतामा अघि बढ्नुपर्छ। बैठक बस्न दुबै अध्यक्षले पहल गर्नुस्। पार्टीको विवादबाट बाहिर निस्केर कोरोना महामारीको विपदमा राष्ट्रलाई एउटा दिशा दिनुस्। बैठक नै अहिलेको सबै समाधान हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell